यसकारण विश्वभरिका युवतीहरू 'एग फ्रिजिङ' गरिरहेका छन्

    • Author, केट बौइ
    • Role, ग्लोबल हेल्थ, बीबीसी वर्ल्ड सर्भिस

"मैले आफ्नो एग फ्रिजिङ गराउनुअघि डेट जाँदा आफूले भोग्नु परिरहेको दबावलाई याद नै गरेकी रहेनछु, र त्यो त्यसपछि अन्त्य भयो," २५ वर्षको उमेरमा आफ्नो शरीरबाट डिम्ब निकालेर वर्षौँसम्म पनि नष्ट नहुने गरी चिस्याएर राख्ने प्रविधि 'एग फ्रिजिङ' अपनाएकी लिबी विल्सन सुनाउँछिन्।

आफ्नो प्रजनन क्षमता जोगाएर राखिरहेका २० को दशक उमेर पुगेका 'जेन जी' महिलाहरूको बढ्दो सङ्ख्यामध्ये उनी पनि एक हुन्। प्रणय सम्बन्धको अनिश्चितता र आफ्नो जीवन पूर्ण रूपमा स्वतन्त्र भएर बाँच्दा प्रजनन उमेरको समयसीमाको चिन्ताबाट मुक्त हुन महिलाहरूले यो प्रविधिको सहारा लिइरहेका बताइन्छ।

महिलाको उमेर बढेसँगै डिम्बको गुणस्तर र मात्रा दुवै कम हुँदै जाने बताइन्छ। जसका कारण उनीहरूमा गर्भ रहन कठिन हुन सक्छ।

सन् २००० को आरम्भदेखि गैरचिकित्सकीय प्रयोजनका लागि 'एग फ्रिज' गरेर राख्ने उपाय लोकप्रिय बन्यो। त्यस बेला ३० को दशकको उमेरका महिलाहरू डिम्ब सुरक्षित गरेर राख्नेमा सबैभन्दा धेरै थिए। तर अहिले यसो गर्नेमा कम उमेरका महिलाहरूको सङ्ख्या बढिरहेको छ।

यो प्रक्रियाको सेवा विश्वव्यापी रूपमा उपलब्ध छ। तर देश अनुसार नियममा फरक पर्न सक्छ। चीनमा एकल महिलाले गैरचिकित्सकीय प्रयोजनका लागि 'डिम्ब फ्रिज' गर्न पाउँदैनन्। अस्ट्रिया र हङ्गेरीमा पनि स्वास्थ्यसम्बन्धी कारण बाहेक 'एग फ्रिजिङ' गर्न बन्देज छ।

यूकेमा 'एग फ्रिजिङ' गर्ने १८ वर्षदेखि २४ वर्षबीचको उमेर समूहका महिलाको सङ्ख्या चार वर्षमा ४६ प्रतिशतले बढेको 'ह्युमन फर्टिलाइजेशन एन्ड एम्ब्रिओलोजी अथोरिटी' को पछिल्लो तथ्याङ्कले देखाएको छ।

तर यसको सफलताको दर भने दाबी गरिएकोभन्दा निकै कम छ। चिकित्सकहरूले 'फ्रोजन एग' अर्थात् सुरक्षित राखिएको डिम्बबाट बच्चा हुने सम्भावना निकै कम रहेको बताएका छन्।

'डेटिङको दुनियाँमा भद्रगोल'

हाल २५ वर्षकी नास्त्या स्वान विगत आठ वर्षदेखि अमेरिकामा बस्दै आएकी छन्। उनले गत वर्ष मात्रै आफ्नो 'एग फ्रिज' गराएकी थिइन्।

उनी आफू युवा नै भए पनि "निकै लामो समयदेखि प्रेम सम्बन्धमा नरहेको" विषय प्रति सचेत छिन्। उनलाई आमा बन्न रहर पनि छ।

"म आफूले जीवन बिताउने व्यक्तिबारे निकै चनाखो छु। तर डेटिङको दुनियाँमा यो भद्रगोल छ," उनी भन्छिन्।

रुसी मूलकी नास्त्याले यो कुरा पहिलो पटक आफ्ना बुवालाई सुनाउँदा उनी हाँसेका थिए। उनले नास्त्यालाई भने, "तिमी सानै छौ। अहिले आफ्नो जीवन जिऊ न।"

अन्ततः उनको परिवारले यो कुरामा साथ दियो।

महिलाहरूको ज्ञानको तहमा आमूल परिवर्तन आएसँगै यस्ता प्रतिक्रियाले उनीहरू हच्किन सक्ने भारतीय प्रजनन सेवा फर्टिलिटी दोस्तकी संस्थापक गीताञ्जली बनर्जी बताउँछिन्।

"हामीले पाएको प्रतिक्रिया चाहिँ, 'हे भगवान्, परिवारले मेरो करिअर नै बुझ्दैन… उनीहरूले एग फ्रिजिङ कसरी बुझ्लान्?' भन्नआउँछन्," उनी भन्छिन्।

उनीकहाँ आउने कतिपयले मागी विवाह भएको अवस्थामा आफ्ना भावी पति र उनको परिवारले यो विषयलाई कसरी लिन्छन् भन्नेबारे पनि चिन्ता गर्ने गरेका छन्। प्रजनन उपचारबारे भारतमा परम्परागत बुझाइ समेत रहेको बताइन्छ।

पीसीओएस देखिनु पनि एउटा कारण

अस्ट्रेलियाकी लिबीलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) छ। यो एक प्रकारको होर्मोन डिस्अर्डरसँग सम्बन्धित समस्या हो र यसबाट विश्वभरिमा १० जनामध्ये एकजना महिला प्रभावित भइरहेका हुन्छन्।

"त्यो पक्कै पनि मेरो एग फ्रिज गर्ने निर्णयका लागि प्रेरणाको कारण थियो," उनी भन्छिन्।

ठूलो सङ्ख्याका महिलाहरूले क्यान्सरको उपचार जस्ता चिकित्सकीय कारण एग फ्रिज गरिरहेको युनिभर्सिटी कलेज लन्डनकी अध्यापिका डा जेनेप गुर्टिन बताउँछिन्।

एग फ्रिजिङ गर्ने महिलाहरूको बढ्दो सङ्ख्याले उमेर बढ्दै जाँदा पाठेघरको काम गराइमा आउने ह्रासबारे महिलाहरूको जानकारी वृद्धि भएको पनि देखाउने उनी बताउँछिन्।

महिलाहरूको एन्टीमुलेरियन होर्मोन जाँच जस्ता प्रजननसँग सम्बन्धित प्रविधिमा पनि पहुँच बढ्दै गएको छ। यस्तो रगत जाँचले गर्भाशयमा रहेका डिम्बहरूको सङ्ख्या सङ्केत गर्न सक्छ र यो विश्वभरि नै चिकित्सकीय सिफारिस बिना प्रयोग गर्न पाइन्छ।

तर कतिपय सेवाग्राहीले त्यसलाई प्रजनन स्वास्थ्यको प्रमाणपत्र जसरी पनि लिने गरेको फर्टिलिटी दोस्तकी बनर्जी बताउँछिन्।

यस्तो परीक्षणले डिम्बको गुणस्तर मापन गर्दैन र प्राकृतिक रूपमा गर्भाधारण कति सहज हुनसक्छ भन्ने पनि देखाउँदैन। अध्ययनहरूले कतिपय परीक्षणले वास्तविक नतिजा नदेखाएको पनि छन्।

अवकासपछिलाई बचत गर्दै

एग फ्रिजिङको एउटा कारण उपचारको खर्च पनि हुनसक्छ। ठाउँ र समस्या अनुसार यसको खर्च पनि फरकफरक छ। तर एग फ्रिज गर्ने प्रक्रियाका लागि मात्रै केही हजार अमेरिकी डलर खर्च गरे पुग्छ।भण्डारण शुल्कका लागि अतिरिक्त खर्च लाग्छ।

अस्ट्रेलियाको हकमा ११ हजार अस्ट्रेलियन डलर डिम्ब निकाल्ने प्रक्रियामा खर्च हुन्छ भने करिब ५० डलर फ्रिजिङका लागि मासिक खर्च लाग्छ। यद्यपि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि यो रकम ठूलो भएको लिबी बताउँछिन्।

उनले आफ्नो अवकासपछिका लागि बचाएको रकम निकालेर यसमा खर्च गरेकी छन्। तर पनि उनी आफ्नो निर्णयमा खुशी छिन्। "त्यसले बच्चा हुने र बच्चा नै नहुनेसम्मको फरक पार्न सक्छ," उनी सुनाउँछिन्।

अन्य कतिपय महिलाले यो प्रक्रिया आफूहरूले ठानेभन्दा धेरै जटिल रहेको बताएका छन्। आर्जेन्टिनाकी मोरा मोनाकोले आफ्नी साथीको सिफारिसमा २६ वर्षको उमेरमा एग फ्रिज गराइन्।

"मेरो डाक्टरले, 'तिमीले त गज्जब गर्दै छौ; तिमी भर्खर २६ वर्षकी भयौ। यो सबैभन्दा उपयुक्त उमेर हो' भने" उनी सुनाउँछिन्। "तर मेरो हकमा त्यस्तो भएन।"

मोराको गर्भाशयमा त्यसबेलै निकै कम मात्रै निकाल्न मिल्ने डिम्ब सञ्चित भेटिए। जसले उनलाई "स्तब्ध बनायो।"

'फ्रोजन एग'ले कसरी काम गर्छ?

जब डिम्ब सञ्चित गरेर राखेको व्यक्तिले बच्चा जन्माउने चाहना राख्छ चिसोमा राखिएका डिम्बलाई प्रजनन उपचार केन्द्रहरूमा आईभीएफ जसरी नै पुनः न्यानो बनाइन्छ। तर यसको सबै चरणले शतप्रतिशत परिणाम दिने पूर्ण सुनिश्चित नहुने अध्यापिका गर्टिन बताउँछिन्।

यसको सफलता धेरै कुरामा निर्भर रहन्छ। उमेर, स्वास्थ्यअवस्था, कति डिम्ब सफलतापूर्वक सञ्चय भएका छन् र पछि तिनलाई न्यानो बनाउने क्रमसम्म कति काम गर्ने बाँकी रहन्छन् र यसका अतिरिक्त पुरुषको शुक्रकिटको गुणस्तर जस्ता कुरा यसको सफलताका लागि महत्त्वपूर्ण रहन्छन्।

हालसम्मका गणनामा यसको सफलतादर फरकफरक छ। अर्कोतर्फ आफ्नो डिम्ब सञ्चित गरेका अधिकांश महिलाले पछि त्यसको प्रयोग नै गरेका छैनन्।

ह्युमन फर्टिलाइजेशन एम्ब्रिओलोजी अथोरिटीको सन् २०१६को तथ्याङ्क अनुसार त्यस वर्ष फ्रिज गरिएका डिम्बमध्ये १८ प्रतिशतबाट मात्रै बच्चा जन्मिएका थिए।

एचएफइएले त्यस्तो सफलतादरको तथ्याङ्क सङ्कलन गर्न छाडेको छ किनभने डिम्ब फ्रिज गराउँदा उक्त व्यक्तिको उमेर र प्रजनन प्रकृया गरिँदाको उमेरबीचको सम्बन्धलाई उनीहरूले विश्वसनीय रूपमा स्थापित गर्न सकेनन्। जस्को अर्थ उनीहरूले प्रस्तुत गर्ने सफलताको दरसम्बन्धी तथ्याङ्क अति-अनुमानित हुन जाने भयो।

उक्त संस्थाका अनुसार यसबाट बच्चा जन्माउने प्रकृयाको सफलताको दर आइभिएफ प्रकृयाको दाँजोमा केही कम देखिएको छ।

तर डा गुर्टिन भन्छिन्," सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको एग फ्रिजिङ् गर्ने महिलाहरूसँग यो प्रकृयाको सफलताका बारेमा आवश्यक जानकारी हुनुपर्छ र तिनीहरूलाई एग फ्रिजिङ्मा कहिल्यै ग्यारेन्टी भन्ने हुँदैन भन्ने पनि थाहा हुनुपर्छ र तिनीहरूलाई यसका सम्भावित जोखिम र साइड इफेक्टहरूका बारेमा पनि थाहा हुनुपर्छ।"

त्यस्ता 'साइड इफेक्ट' हरूमा मुड,मनस्थिति, तलमाथि हुने, पेट फुल्ने, होर्मोन इन्जेक्शनका कारण टाउको दुख्ने, डिम्ब निकालेका कारण पेट दुःख्ने र दुर्लभ तथा गम्भीर घटनामा ओभेरिएन हाइपरस्टिमुलेशन सिन्ड्रोम भनिने अवस्था पनि बन्न सक्छ जस्ले चर्को दुखाइ, तीब्रगतिमा तौल घट्ने र रगत जम्ने जस्ता समस्या ल्याउन सक्छन्।

बीबीसीसँग आफ्नो अवस्थाबारे कुराकानी गरेका तीनैजना महिलाहरूले आफ्नो बारेमा टिकटकमा पनि कुरा राखेका छन् र त्यसमा लाखौँ 'भ्यूज'हरू भएका छन्।

मोरा भन्छिन्," आफ्नो अनुभव र कथा अरू समक्ष प्रस्तुत गरेकामा धन्यवाद दिँदै मलाई हजारौँ सन्देशहरू आएका छन् र तिनमा अब उनीहरूले पनि यस विषयमा आफ्ना डाक्टरसँग कुरा गर्ने बताइका पनि छन्।"

तर डा गुर्टिन भन्छिन्, सानो उमेरका महिलाहरूले यो विषयमा सम्भवतः कुनै चिन्ता नै लिनुपर्दैन। उनी भन्छन्," मेरो भनाइमा २४ वर्षभन्दा कम उमेरका महिलाले एग फ्रिजिङका विषयमा सोच्नै पर्दैन। तपाईँसँग त्यसका लागि पर्याप्त समय उपलब्ध छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।