तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा नाबालिगको डिम्ब कारोबार : 'फिल्मी शैलीको अपराधको झझल्को'
- Author, फणीन्द्र दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
नेपालको राजधानी काठमाण्डूमा बस्ने कुन्साङ आफ्नी १७ वर्षकी बहिनी डोल्माको मोबाइल फोन र उनको सामाजिक सञ्जालको खाता कहिलेकाहीँ नियाल्ने गर्थिन्।
डोल्माको स्न्याप च्याट खाता र इन्स्टाग्रामका केही सन्देशले २१ वर्षकी उनको ध्यान तान्यो।
"मैले मेरो बहिनी र उसको सबैभन्दा मिल्ने साथी (ज्यासमिन) ले…. अर्की युवतीसँग च्याटमा कुराकानी गरिरहेको पाएँ। उनीहरूले 'एग डोनेसन (डिम्ब दान)', क्लिनिक भ्रमण जस्ता विषयमा कुराकानी गरिरहेका थिए। ती युवती, बिचौलिया थिइन् र उनी मेरी बहिनीकी मिल्ने साथीकी साथी थिइन्," कुन्साङले थपिन्।
त्यसपछि इन्टरनेटमा उनले केही अनुसन्धान गरिन्। अनि कुन्साङलाई लाग्यो, उनकी बहिनी र बहिनीकी साथी बिचौलियामार्फत नाबालिगलाई डिम्ब विक्री गर्न लोभ्याउने एउटा आईभीएफ क्लिनिकको सिकार भएका हुनसक्छन्।
सन्तान जन्माउन सङ्घर्ष गरिरहेका कतिपय दम्पतीहरूले अरूले दान दिएको वीर्य या डिम्बको सहारामा आइभीएफ विधिमार्फत सन्तान प्राप्तिको प्रयास गर्ने गर्छन्।
पैसा पाउने लोभमा आफ्नो डिम्ब विक्री गरेकी डोल्माकी अर्की साथीको नाम ज्यासमिन हो। उनका बुवा नोर्बु ३९ वर्षका भए। यो घटना थाहा पाएपछि दुवै परिवारले बिचौलिया भएको शङ्का लागेकी युवतीलाई बोलाएर सोधपुछ गरेका थिए। त्यसपछि उनीहरूले यो मुद्दा प्रहरीमा लैजाने निर्णय गरे।
"मेरो छोरी र उसकी साथी दुवै १७ वर्षका हुन् तर उनीहरूलाई २२ वर्षको भन्दै क्लिनिकमा लगियो। उनीहरूलाई नक्कली नाम दिइयो। क्लिनिकमा डाक्टरले उनीहरूलाई प्रश्न गर्ने हामीसँग कुनै कानुनी आधार नभएको बताए," नोर्बु भन्छन्।
"त्यसपछि हामी प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा गयौँ। यो उहाँहरूको लागि पनि नयाँ खालको केस थियो। उहाँहरू पनि छक्क पर्नुभयो। हामीलाई थाहा छैन, न्याय पाउनका लागि हामीले कहिलेसम्म कुर्नुपर्छ," उनले थपे।
नाबालिग पीडित र फर्जी विवरण
यो घटना तत्कालै स्थानीय सञ्चारमाध्यमहरूमा चर्चाको विषय बन्न पुग्यो। नाबालिगबाट डिम्ब झिकिएको खुलासाले आक्रोश निम्त्यायो र तत्काल आईभीएफ नियमनको आवश्यकता पनि औँल्यायो।
यसले विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएका वा अनुमतिको पर्खाइमा रहेका ५० भन्दा धेरै आईभिएफ क्लिनिकहरूको कमजोर निगरानी र व्यवस्थापनका कानुनी छिद्रहरू पनि सतहमा ल्याइदिएको छ।
अधिकारीहरूले कैयौँ यस्ता क्लिनिक सञ्चालन अनुमति पत्र समेत नलिईकन चलिरहेको बीबीसीलाई बताएका छन्।
नेपालका स्वास्थ्य मन्त्रीले बीबीसीलाई सरकारले नाबालिगको डिम्ब खरिदविक्रीको घटनालाई गम्भीरतापूर्वक लिएको र सन्तान जन्माउन सघाउने फर्टिलिटि क्लिनिकहरूले कानुनी र नैतिक मापदण्ड पालना गरेको सुनिश्चित गर्न कदम चालिने बीबीसीलाई बताएका थिए।
मध्य जुलाईमा नेपाली अधिकारीहरूले आईभीएफ क्लिनिकहरूको सेवाबारे छानबिन थालेका बताएका थिए।
घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुबेर खापुङले 'बिचौलियाले प्रत्येक डिम्बका लागि ४५ हजार रुपियाँ पाएको र त्यसको सानो अंश ती दुई किशोरीहरूलाई दिएको' बताए।
"१८ वर्ष नपुगेका नाबालिग किशोरीहरूलाई उनीहरूको संरक्षक वा अभिभावकको मन्जुरीबेगर प्रलोभनमा पारेर डिम्ब दिन लगाइएको पाइएको छ," खापुङले भने।
उनले थपे, "यी नाबालिगहरू डिम्ब निकालिनुअघि पीडादायी प्रक्रियाबाट गुज्रिएको पनि पाइयो। उनीहरूलाई लगातार १० दिनसम्म सुई दिइएको थियो। त्यसपछि डिम्ब परिपक्व भएको भन्ने लागेपछि शल्यक्रियाबाट त्यसलाई निकालिएको थियो। शल्यक्रिया गर्दा कहिले काहीँ जटिल समस्या पनि देखिनसक्छ तर त्यसमा समेत अभिभावकको स्वीकृति लिएको पाइएन।"
प्रहरी अधिकारीहरूले अस्पतालका अभिलेखहरू फर्जी बनाइएका र डिम्ब दान दिनेहरूका नाम र उमेर झुट्टा राखिएको उल्लेख गरेका छन्।
उनीहरूका अनुसार विगतमा पैसा लिएर डिम्ब बेचेका कतिपय बिचौलिया बनेर अरूलाई क्लिनिकमा लिएर आएका छन्। वरिष्ठ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सम्पूर्ण प्रक्रिया पीडादायी र अनैतिक देखिएको बताए।
उनले भने, "नाबालिगहरूलाई यस्तो चुनौतीपूर्ण अवस्थामा धकेल्नु निक्कै घिनलाग्दो काम हो," बोगटीले भने।
यो विषयमा तीन चिकित्सकसहित पाँच जनालाई जुलाई महिनामा पक्राउ गरिएको र उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको बताइएको छ।
यसबारेको अनुसन्धान अझै पनि चलिरहेको र आफूहरूले यो मुद्दालाई अदालतमा लैजाने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले यसै साता बीबीसीलाई बताए।
कानुनको अभाव
कानुनी रूपमा नेपालमा अहिले डिम्ब वा वीर्य दानका लागि कुनै निश्चित उमेर तोकिएको छैन। त्यही भएर प्रहरीले यो घटनालाई बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गत कारबाही अघि बढाउन चाहेका छन्।
उक्त कानुनमा बालबालिका विरुद्ध शारीरिक चोट पटक पुर्याउने वा औषधि वा अन्य कुनै परीक्षणका लागि बालबालिकाको प्रयोग गर्नेलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नेपालमा ५० भन्दा बढी 'फर्टिलिटी क्लिनिकहरू' सञ्चालनमा छन् र अनुगमन कमजोर हुँदा कैयौँ अनुमतिपत्रविना सञ्चालन भइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२० को जनस्वास्थ्य नियमावलीले आईभीएफलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको विशिष्ट सेवाका रूपमा राखेको छ। त्यस्ता सेवा प्रदायकहरूले नियमित इजाजतपत्र नवीकरण गर्नुपर्छ र न्यूनतम पूर्वाधारहरू पुरा गर्नुपर्छ। कतिपयले कार्यान्वयन पक्ष फितलो रहेको बताएका छन्।
काठमाण्डूस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर श्री प्रसाद अधिकारी भन्छन्, "हाम्रोमा कुन मापदण्ड अपनाएर वीर्य वा डिम्ब लिने वा दिने भन्ने कानुनी व्यवस्था छैन। त्यसैका कारणले भद्रगोल निम्त्याएको हो।"
उनले स्वास्थ्य परीक्षण गरेपछि वयस्कहरूले मात्रै वीर्य वा डिम्ब दान दिन सक्ने कानुनी व्यवस्था गरिनुपर्ने उल्लेख गरे।
नेपालका एक जना अग्रणी प्रसूति रोग विशेषज्ञ डाक्टर भोला रिजालले यस क्षेत्रलाई कानुनी ढङ्गले नै व्यवस्थित बनाउनुपर्ने पक्षमा पैरवी गर्दै आएका छन्।
"हामीले लामो समयदेखि नेपाल सरकारसँग निर्देशिका ल्याउनुपर्यो भनेर माग गरिरहेका छौँ," उनले भने।
"हामीले निर्णय लिँदा निःसन्तान भएका कारणले समस्यामा परेका र उपचार लिन आउने दूर दराजका मानिसहरूलाई सर्वोपरि राखेर मापदण्डहरू बनाउनुपर्छ।"
नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त घटनाले स्वास्थ्य क्षेत्रको सुशासनसँग सम्बन्धित गम्भीर प्रश्नहरू उब्जाएको बताएका छन्।
"हामीले यो घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौँ र समेट्न बाँकी रहेका सवालहरूलाई सम्बोधन गर्ने गरी चाँडै नै नयाँ मापदण्ड ल्याउने छौँ," उनले अघिल्लो महिना बीबीसीलाई भनेका थिए।
उनका अनुसार नेपाली कानुनमा महिलाहरूको विवाहका लागि तोकिएको २० वर्षको न्यूनतम उमेरलाई समेत ध्यान दिएर सरकारले डिम्बदान सम्बन्धी उमेरको सीमा निर्धारण गर्ने सोच बनाएको छ।
यो बीचमा स्वास्थ्य मन्त्रालयले पछिल्लो घटनासँग जोडिएका क्लिनिकबारे अनुसन्धान गर्न एउटा समिति बनाएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भने,"उक्त समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ र सरकारले चाँडै आईभीएफ व्यवस्थापनबारे नीतिगत निर्णय लिनेछ।"
अन्य देशहरूमा कस्तो व्यवस्था छ?
धेरै देशहरूले डिम्ब र वीर्यदानबारे कडा नियमहरू कार्यान्वयनमा ल्याएका छन्।
भारतको एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (रेगुलेशन) एक्ट २०२१ ले २३ देखि ३५ वर्ष उमेरका महिलाले डिम्ब दान गर्न सक्ने र २१ देखि ५५ वर्ष उमेर भएका पुरुषले वीर्य दान गर्नसक्ने व्यवस्था गरेको छ।
डिम्ब दान एक पटक मात्रै गर्न सकिने उल्लेख गर्दै उक्त कानुनमा बिचौलियाको प्रयोग गरेर दाता जुटाउनुलाई आपराधिक गतिविधिको रूपमा उल्लेख गरिएको छ।
त्यस्तो कसुरमा ८ वर्षसम्म जेल सजाय र २० लाख भारतीय रुपैयाँसम्म जरिवाना तोकिएको छ।
यूकेमा ३६ वर्षभन्दा कम उमेरका महिलाले डिम्बदान गर्नसक्ने र ४६ वर्षभन्दा कम उमेरकाले वीर्यदान गर्नसक्ने व्यवस्था छ।
त्यहाँ कुनै व्यक्ति वा लाइसेन्सधारीले ग्यामेट (प्रजनन कोष) वा भ्रुणको बदलामा पैसा वा कुनै लाभ लिनुलाई आपराधिक कसुर भनिएको छ।
ह्युमन फर्टिलाइजेशन एन्ड एम्ब्रिओलजी अथोरिटी (एचएफईए)को नियम अनुसार यस्तो गतिविधिमा दोषी ठहर भएकालाई जेल सजाय, जरिवाना वा दुवै हुनसक्छ।
तर यूकेमा डिम्ब दान गर्ने महिलाहरूलाई यात्रा र आवास खर्चका लागि एउटा प्रक्रियाका लागि १३ सय अमेरिकी डलर भन्दा बढी भुक्तानी गरिनुपर्ने व्यवस्था छ।
अमेरिकामा डिम्बदान गर्नेहरू कानुनी रूपमा वयस्क हुनुपर्ने प्रावधान छ। २१ वर्षदेखि ३४ वर्ष उमेर भएकाहरूलाई सबैभन्दा उपयुक्त भनिएको छ। त्यसप्रकारको उमेर भएकाले डिम्ब दान गर्दा अभिभावकको उमेर बढी हुँदा उत्पन्न हुनसक्ने खालका स्वास्थ्य जोखिम सन्तानका लागि कम हुने भनिएको छ।
दाताको स्वास्थ्य अवस्था राम्रो हुनुपर्ने र कुनै पनि वंशाणुगत रोगबाट मुक्त हुनुपर्ने भनिएको छ। अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिनले प्रमाणित प्रजनन क्षमता वाञ्छनीय भनेपनि त्यसलाई अनिवार्य गरेको छैन।
मानसिक र शारीरिक तनाव
नोर्बुले बीबीसीसँग कुरा गर्दै यस्ता घटना नदोहोरिने सुनिश्चित गर्नका लागि आफूहरूले लडिरहेको बताए।
"यस्तो नसोचेको परिस्थिति हामीले भोग्नुपरिहाल्यो। तर हामी कलिला किशोरीहरू सुरक्षित रहुन् भन्ने चाहन्छौँ। दलालहरूले अरू किशोरीहरूलाई फसाउन नसकुन् भनेर हामी प्रहरीकोमा आएका हौँ," उनले थपे।
नोर्बुले परिवारको गोपनीयता भङ्ग भएको खण्डमा सामाजिक रूपमा भोग्नुपर्ने दुर्व्यवहारलाई लिएर आफूहरू चिन्तित रहेको बीबीसीलाई बताए।
"अहिले मेरो परिवारले धेरै किसिमको तनावको सामना गरिरहेको छ। मेरी श्रीमतीले यो घटनापछि उच्च रक्तचापको औषधि पुनः सुरु गर्नुपर्यो," उनले बीबीसीसँग भने।
"मेरी छोरी पनि मानसिक तनावमा छिन्। चिकित्सकहरूले उनले धेरै सोचिरहेको हुनसक्ने बताएका छन् र यसले डिप्रेसन समेत निम्त्याउन सक्छ। हामीले पुरै स्वास्थ्य जाँचको रिपोर्ट पाउन बाँकी नै छ।"
नोर्बु आईभीएफ उपचार केन्द्रहरूमा हुने गरेका अनियमित गतिविधिहरू रोक्न सरकारले कडा कानुन ल्याएको आफूले हेर्न चाहेको बताए।
"मैले हालै अस्पतालमा एक जना डाक्टरलाई यदि १६ देखि १७ वर्षका किशोरीहरूको डिम्ब निकालिन्छ भने नेपालमा कुनै पनि बालिकाहरू सुरक्षित छैनन् भनेर भनेँ। (र) यदि नाबालिगहरूको प्रयोग भइरहेको छ, मलाई लाग्छ २० देखि ३५ वर्षका महिलाहरू अझ ठुलो सङ्ख्यामा संलग्न गराइएका छन्। ती क्लिनिकहरूले अति धेरै पैसा कमाइरहेका छन्।"
कुन्साङ पनि चिन्तित छन्।
"नाबालिगहरूलाई त्यसरी प्रयोग गर्नु अनैतिक अभ्यास र घृणित अपराध हो। मलाई यो त फिल्ममा देखाइने खालको अपराध हो जस्तो लाग्छ। दोषीलाई जेलमा हालिनुपर्छ।"
परिचय गोप्य राख्नका लागि पीडित र उनीहरूका परिवारका सदस्यको नाम परिवर्तन गरिएको छ।
थप रिपोर्टिङ: बीबीसी ग्लोबल जर्नलिजम्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।