तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वीरगन्ज सहर साम्प्रदायिक तनावको बाछिटाले किन चाँडै 'भिज्छ'
- Author, चन्द्रकिशोर, पत्रकार तथा विश्लेषक
- Role, बीबीसी न्यूज नेपालीका लागि
धनुषा जिल्लाको एउटा गाउँमा भएको घटनाको तरङ्गले छिमेकी जिल्ला पर्साको वीरगन्ज दुई दिन अशान्त बन्न पुग्यो। उक्त सीमान्त औद्योगिक तथा व्यापारिक सहरमा यो साताको सुरुमा साम्प्रदायिक तनाव बल्झियो।
अहिले वीरगन्ज बिस्तारै पुरानो लयमा फर्किने क्रममा छ। झट्ट हेर्दा त्यहाँ केही भएकै थिएन कि झैँ लाग्न पनि सक्छ। यो उक्त सहरको विशेषता पनि हो। शान्ति, सामञ्जस्य र संवाद यहाँको मूल प्रवृत्ति हो। बहुङ्ख्यक बासिन्दा मेलमिलाप र पारस्परिक सद्भावका पक्षमा रहन्छन्।
अन्यत्र जस्तै यहाँ पनि द्वन्द्व खोज्न, तनाव चर्काउन र उत्तेजनामा रमाउन खोज्ने एउटा सानो समूह छ। तर बहुसङ्ख्यक बासिन्दा सामुदायिक सद्भावका पक्षमा भएकाले वीरगन्ज छोटो अवधिमै सामान्य अवस्थामा फर्किन पुग्छ।
अल्पसङ्ख्यामा भए पनि अशान्ति रुचाउने पक्षका कारण वीरगन्जको मुख्य धारा प्रभावित हुन पुग्नु चिन्ताको विषय बन्न पुगेको छ। यसपालि वीरगन्जमा स्थानीय प्रशासनले तनाव र सम्भावित हिंसा नियन्त्रण गर्न कर्फ्यू लगाउँदै र लम्ब्याउँदै पनि गर्यो। तर निरन्तर बहुपक्षीय संवाद गरेर तत्काल दैनिक जीवन सहज बनाउने प्रयास सार्थक भयो।
दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न स्थानीय राजनीतिक दलहरू र नागरिक समाजसहित विभिन्न पक्षसँग सर्वपक्षीय समन्वयका लागि स्थानीय प्रशासनले अथक प्रयास गर्यो। स्थानीय राजनीतिकर्मी र निवर्तमान जनप्रतिनिधिहरूले समेत संवाद र शान्ति स्थापनाका लागि सार्वजनिक अपील गरे।
निर्वाचनको मुखमा थपिएको चिन्ता
वीरगन्जको घटनाक्रमले सङ्घीय सरकार समेत निर्वाचनका लागि बन्दै गरेको अनुकूल वातावरणमा व्यवधान पुग्ने त होइन भनेर चिन्तित देखियो।
गृहमन्त्रीले मधेश प्रदेशको स्थानीय प्रशासनमार्फत् सूक्ष्म जानकारी लिए अनि नागरिक समाज तथा मधेशी, मुस्लिम, थारूसहितका आयोगहरूसँग संवाद र समन्वय पनि गरे। यसले गर्दा तनाव चुलिन र रक्तपात हुन पाएन। फलतः सबैले अहिले शान्तिको सास फेर्न पाएका छन्।
वीरगन्ज किन बन्दै छ साम्प्रदायिक तनावका लागि उर्वर भूमि
वीरगन्जमा के अब फेरि धार्मिक वा साम्प्रदायिक तनाव नबल्झेला? वीरगन्ज किन "प्रतिक्रिया"को सहरको रूपमा उदाइरहेको छ? मुलुकभित्र वा बाहिरका कुनै भूगोलमा हुने साम्प्रदायिक द्वन्द्वको बाछिटाले मधेश प्रदेशकै अन्य ठाउँभन्दा पहिला वीरगन्ज किन भिज्न पुग्छ?
यो महानगरले यस्ता घटना हुनै नदिन किन पूर्वतयारी गर्न सकेको छैन? तनाव व्यवस्थापन केवल स्थानीय प्रशासनको काम हो कि स्थानीय समाजले पनि यसप्रति आन्तरिक प्रयत्न गर्नुपर्छ?
वीरगन्ज र वीरगन्जवासीसमक्ष यस्ता अनेकौँ ट्डकारा प्रश्नहरू छन्।
वीरगन्जमा किन यस्ता घटनाहरू दोहोरिन्छन् भनेर बुझ्न कुनै सामाजिक अध्ययन भएको देखिँदैन। तर विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दा उजागर हुने तथ्यले त्यहाँ उत्पन्न हुने घटनाक्रमहरू आकस्मिक चाहिँ हुँदैनन् भन्ने बुझिन्छ।
वीरगन्जमा विभिन्न समुदायको बसोबास छ र घना बस्तीहरू छन्। त्यहाँको सहअस्तित्वलाई घनिष्ठ नै मान्नुपर्छ। सामान्य अवस्थामा त्यो त्यहाँको तागत हो।
यद्यपि अफवाह, जुलुस, धार्मिक उत्सव वा ससाना विवादलाई पनि साम्प्रदायिक चस्माले हेर्ने प्रवृत्ति बढ्दै गएको छ। कतिपयले यो सहर विभाजन र ध्रुवीकरणको राजनीतिका लागि उर्वर भूमि हुन सक्ने मानेका छन्।
कुनै बेला ढिलासुस्ती गर्ने र कहिले अधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनको मनोवृत्तिले गर्दा कुनै कोणबाट सामाजिक अविश्वासको खाडल खन्न मौका भेट्छ। अनि उत्तेजित मानिसहरू 'समूह'को शक्तिमा निर्भर हुन थाल्छन्। यसरी तनावको मनोविज्ञान अङ्कुरित हुन पुग्छ।
डिजिटल मञ्चबाट थपिएका चुनौती
अफवाह, मिथ्या प्रचार र अपरिपक्व सूचनाले साम्प्रदायिक तनाव फैलाउन आगोमा घ्यू थपे जस्तो काम गर्छन्। इन्टरनेटमा सर्वसाधारण मानिसहरूको सहज पहुँच भएको यो युगमा सामाजिक सञ्जालका विभिन्न मञ्चले भ्रम र उत्तेजना फैलाउन सघाउँछन्। सत्य कुरा पछि थाहा हुन्छ तर उत्तेजक सामग्रीहरू डढेलो जसरी पहिला नै फैलिन्छन्। कतिपय सन्दर्भमा नियोजित रूपमा फैलाइन्छ पनि।
विषयको संवेदनशीलता नबुझ्दा 'लाइभ'ले द्वन्द्व थप चर्काउने इन्धन थपिदिन्छ। मानिसहरू सामाजिक सञ्जालमा प्रेषित भिडिओबाट छोटोछोटा 'रील' बनाएर आफूलाई अनुकूल हुने गरी अझै फैलाउँछन्।
कतिपय अवस्थामा 'लाइभ' प्रसारित भिडिओबाट झडप, तोडफोड र आगजनीका घटनामा के भएको थियो, कोको संलग्न थिए, घृणा फैलाउन कसले के भन्यो त्यो खोजबिन गरेर स्थानीय प्रशासनले प्रमाण जुटाउन पनि सक्छ।
फेसबुक, यूट्यूब, ह्वाट्स्याप ग्रूप र टिकटकजस्ता मञ्चमा अफवाह द्रुत गतिमा फैलिन्छ। अपमानजनक भाषा सामान्यीकृत हुन पुग्छ। यो स्थितिमा विभाजन र ध्रुवीकरण गर्न खोज्ने पक्षले आफ्नो सक्रियता बढाउन थाल्छ।
वीरगन्ज आर्थिक केन्द्र भएकाले अनुरोध गरेर वा दबाव दिएर स्रोत उठाउन सहज हुने ठानेर पनि सम्भवतः त्यस्ता गतिविधिहरूले मौलाउने अवसर पाउँछन्। यद्यपि साम्प्रदायिक तनावले सबैभन्दा बढी क्षति आर्थिक क्षेत्रले नै बेहोर्नुपर्छ।
स्थायी संवादतन्त्रको आवश्यकता
वीरगन्जमा स्थायी संवादतन्त्रको अभाव देखिन्छ। सङ्कटका समय आपसमा नागरिकहरू संवाद गर्नुको साटो या त मौन बस्छन् या आआफ्नै खेमामा साँघुरिन पुग्छन्। यहाँ इतिहासको स्मृति, पहिचानको राजनीति, आर्थिक असुरक्षा र प्रशासनिक ढिलासुस्तीले एकअर्कालाई लगातार पोषित गरिरहेका छन्।
आस्था र विवेकमा के सम्बन्ध छ? धार्मिक आस्था र साम्प्रदायिक कट्टरतामा के भिन्नता छ? केही मान्यता, केही गतिविधि, केही अनुष्ठानलाई यी सबै आस्थासँग जोडेर विश्लेषण गर्ने कि नगर्ने? यी प्रश्नबारे सबै समुदायमा छलफल नभएसम्म समुदायविशेषका प्रतिनिधि बनेर आफूलाई चिन्ने र चिनाउने अभ्यासले निरन्तरता पाउँछ। समझदार मानिसहरू डराएपछि अतिवादीहरू तीव्र गतिमा अगाडि आउन खोज्छन्।
वीरगन्जमा देखा पर्ने तनाव कुनै एक समुदायको स्वाभाविक प्रवृत्ति होइन, बरु राजनीतिक, सामाजिक र संस्थागत प्रक्रियाहरूको परिणाम हो। यसको रोकथामका लागि सञ्चारमाध्यम र शिक्षामा आलोचनात्मक चेतनाको विकास हुन आवश्यक छ। पारस्परिक विश्वास भङ्ग हुन थालेपछि समाज विभाजित अनुभव गर्न बाध्य हुन्छ। मधेशमा धार्मिक वा साम्प्रदायिक तनाव नियन्त्रण गर्ने होइन, विस्थापन गर्नुपर्छ – विकास, सम्मान र समावेशी शासनद्वारा। सबै समस्या समाधान नभएको अवस्थामा सानो उत्तेजनाले पनि भावनात्मक प्रतिक्रिया र अप्रत्याशित ध्रुवीकरणलाई जन्म दिन्छ।
वीरगन्जको तनाव आकस्मिक होइन
धार्मिक र साम्प्रदायिक तनाव अचानक उत्पन्न हुँदैन। यो शनैःशनैः समाजको चेतनामा पाक्छ, भाषामा रूपान्तरित हुन्छ, राजनीतिक अस्त्र बन्छ र अन्ततः अस्थायी सामाजिक विभाजनका रूपमा प्रकट हुन्छ। अन्यत्रका घटनाहरूबाट पाठ सिक्न र सजग हुनका लागि नभई उत्तेजना फैलाउन प्रयोग गर्न थालिन्छ। विभिन्न कोणबाट समुदायमा असुरक्षाको भाष्य फैलाइन्छ। त्यसो हुँदा तर्क छायामा पर्छ र भय निर्णयको आधार बनिदिन्छ।
भाषा विषाक्त हुन पुग्दा पारस्परिक संवाद निस्तेज भइदिन्छ अनि आक्रोश र अभद्रता उचित लाग्न थाल्छ। संस्थागत मौनबारे मिडियाले प्रश्न नगर्दा, व्यवासायिक सङ्गठनहरूले प्रतिक्रिया नजनाउँदा र प्रशासनले चयनात्मक न्याय गर्दा उग्र तत्त्वहरूले खेल्ने ठाउँ पाउँछन्।
केही भारतीय सञ्चारमाध्यमको प्रस्तुति, छरछिमेकका मुलुकमा हुने धार्मिक वा साम्प्रदायिक हिंसा, तथाकथित धर्मप्रचारक र प्रवचकहरूले गर्ने निषेध एवं विद्वेषको खेतीतिर मानिसहरू अस्वाभाविक रूपमा आकर्षित हुन थालेका छन्। धार्मिक पहिचान झल्किने सङ्घसंस्था खोल्ने क्रम बढेको छ र अरूको प्रभाव विस्तारका लागि अतिवादी कार्य गर्ने र कथ्य राख्ने प्रवृत्ति मौलाएको छ। धार्मिक पहिचानका आधारमा पत्रकारका सङ्गठनहरू खुलेका छन्। यस्तै क्रम रहे अन्य पेसागत संस्थाहरू पनि यसै गरी खुल्न सक्ने सम्भावना टार्न सकिँदैन।
एउटा समुदायले अर्को समुदायको निश्चित बाटो वा टोललाई चिह्नित गरेको देखिन्छ। धार्मिक प्रदर्शनहरू निकाल्दै ती स्थानमा पुग्दा आफू विजयी भएको ठान्ने मनोविज्ञानले सुरक्षा चुनौती खडा गर्ने गरेको छ। वीरगन्जमा धार्मिक जुलुस, अनुष्ठान, परिक्रमा वा सामूहिक प्रदर्शन आयोजना गर्ने परम्परा पुरानै हो। तर पहिलापहिला एउटा समुदायले अर्को पक्षलाई सम्मान, स्वीकार र सहयोग गरेको देखिन्थ्यो।
केही वर्षयता अरूका प्रार्थनागृह वा पवित्रस्थलकै सामुन्ने उत्तेजक भेला गर्ने, अराजक नाराबाजी गर्ने, चर्को आवाज आउने गरी 'डीजे' बजाउने, विभिन्न गतिविधि गर्ने प्रवृत्ति बढ्दै जाँदा अर्को पक्षले आफ्नो तर्फबाट हुने प्रतिक्रिया उचित भएको तर्क गर्छ।
उच्छृङ्खल गतिविधि गर्नेहरूमाथि कारबाही भइहाल्यो भने पनि त्यसलाई धार्मिक समुदायलक्षित दमनका रूपमा अर्थ्याउनेहरू कम छैनन्। बरु विवेकसङ्गत कुरा गर्नेहरूको कमी देखिन्छ।
अर्को समुदायका सार्वजनिक अनुष्ठानमा सघाउन खोज्नेहरूलाई शङ्काको दृष्टिले हेर्न र अपमानित गर्न थालिएपछि सामाजिक र साम्प्रदायिक सद्भाव बढाउने अवसरहरू सङ्कुचित हुन थाल्छन्। हिजोआज धार्मिक पर्व, प्रदर्शन वा मेला र भेलाहरूले प्रेम, सद्भाव बढाउने अवसरभन्दा सुरक्षा संवेदनशीलता चर्काउने अवस्था सिर्जना गर्न थालेका छन्। यो देखेर वीरगन्जमै जन्मेहुर्केका पाका मानिसहरू छक्क पर्छन्। "यो त हाम्रो पुरानो वीरगन्ज रहेन। यहाँ के हुँदै छ, के गरिँदै छ बुझ्नै गाह्रो!" हिजोआज धेरैको भनाइ यस्तो हुन्छ।
विरोधाभासपूर्ण जटिलताले वीरगन्जको ऐतिहासिक छविलाई धूमिल पार्दै लगेको छ। सिद्धान्तको राजनीति हराउँदै गएको परिप्रेक्ष्यमा धार्मिक भावनाको जगमा राजनीतिको खेती गर्नेहरू मुखर हुन थालेका छन्। त्यसका लागि प्रतिस्पर्धा बढ्दा एकले अर्कालाई उछिन्न अतिवादी नाराहरू चर्काउन थालेका छन्। आफ्नो आधार विस्तार गर्न र पुराना वैयक्तिक पृष्ठभूमि लुकाउन अगुवा बन्न चाहने केही व्यक्तिहरूले उग्रतालाई रणनीति बनाएको पाइन्छ।
सद्भाव र शान्ति कायम गर्ने उपाय
सामाजिक समरसता निकै लामो अभ्यासको प्रतिफल हो। यो निर्माण गर्न निकै वर्ष र धेरै पुस्ताको प्रयत्न चाहिन्छ।
तर अविश्वास र दूरी निमेषभरमै निम्तिन सक्छ हुन्छ। उर्दूमा निकै प्रसिद्ध मुजफ्फर रज्मीको भनाइजस्तै ससाना गल्ती र हतारको निर्णयबाट आउने दुष्परिणाम अनेकौँ पुस्ताले भोग्नुपर्ने हुन सक्छ। धार्मिक र साम्प्रदायिक द्वन्द्वको डढेलो सल्किएपछि त्यसले कहाँ के खरानी बनाउँछ भन्ने ठेगान हुँदैन।
प्रदेश सरकारले आफ्नो इच्छाशक्ति प्रकट गरी घटनाको सत्यतथ्य पत्ता लगाउने, सद्भाव बढाउने, प्रशासनिक तदारुकता प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिनुपर्छ। तनावका बेला फगत विज्ञप्ति निकालेर उत्तरदायित्व पूरा हुँदैन।
प्रदेशभित्र कहीँकतै द्वन्द्व सल्किएको छ भने तुरुन्त प्रदेशसभा सदस्यहरूको टोली पठाउन, पीडित पक्षलाई न्याय हुन्छ भनेर विश्वस्त पार्न र स्थानीय तहमा संवाद स्थापित गर्न विलम्ब गर्नु हुँदैन। किनभने राजनीतिक अन्तरक्रियाको कमीले गर्दा शून्यताको मौका छोपेर अवाञ्छित तत्त्वहरू सल्बलाउन सक्छन्।
सञ्चारमाध्यम पनि एक ठाउँको तनाव अर्को ठाउँमा नसरोस् भन्नेमा सजग हुनुपर्छ। विभिन्न पेसागत संस्थाहरू सामाजिक शान्ति, सद्भाव र्याली वा सामुदायिक संवादका लागि परिस्थिति बिग्रिनुअघि नै सक्रिय हुनुपर्छ।
यस्तै परिस्थिति रहिरहे वीरगन्जमा दोहोरिने गरेको घटनाक्रम अन्य सहरमा नसर्ला भन्न सकिँदैन। मधेशको सघन बसोबास, जनसाङ्ख्यिक संरचना र भारतसँगको खुला सीमाले गैरनागरिकहरूको सम्भाव्य बसाइँसराइ र छिमेकपारि व्याप्त मनोविज्ञान र शैली सोझै नक्कल गर्न खोज्दा अहिलेको अवस्था उत्पन्न भएको हो।
समाजका असल मान्छेहरू उचित कुरा बोल्न डराउन वा हच्किन थाल्छन् तब गलत तत्त्वहरूले टाउको उठाउन र आफू बलियो भएको देखाउने अवसर पाउँछन्। त्यसैले प्रशासनले दोषीमाथि कारबाही हुन्छ भन्ने व्यवहारबाटै स्थापित गर्नुपर्छ। कानुन भङ्ग गर्ने जोकोही पनि दण्डित हुन्छ भन्ने स्पष्ट सन्देश जानुपर्छ।
यो आलेखमा व्यक्त सबै विचार लेखकका निजी हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।