तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई साता नबित्दै किन टुट्यो रवि र कुलमानबीचको सहकार्यको निर्णय
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
पार्टी एकतासम्म पुग्नेगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ।
दुवै पक्षले त्यसको पुष्टि गरेका छन्।
पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्वपाका प्रवक्ता मनिष झाले बीबीसीलाई बताए।
"उक्त सम्झौतालाई पार्टीको सचिवालय वा केन्द्रीय समितिले अनुमोदन गरिसकेको पनि थिएन," उनले भने, "त्यो नहुँदासम्म त्यो प्रक्रियामै रहेको मानिन्छ, त्यसले साङ्गठनिक अस्तित्व पाइसकेको हुँदैन।"
घिसिङले भने रास्वपाले एकतर्फी रूपमा त्यस्तो घोषणा गरेको बताएका छन्।
"हामीले घोषणा गरेका थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्याऔँ, अघि बढाऔँ भन्नेमै थियौँ," शनिवार नै उनेपाको अध्यक्ष चुनिएका घिसिङले अबेर आयोजित पत्रकार सम्मेलनमा भने, "त्यसपछि हामी यसरी जुटेका छौँ।"
आआफ्नै तर्क
रास्वपाका प्रवक्ता झाले कुलमान घिसिङका पक्षबाट पार्टीको पदाधिकारीसहितका पदहरू धेरै माग गरिएकाले यस्तो स्थिति आएको सङ्केत गरे।
"हामीले सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउने भनेको आगामी चुनावका लागि मात्र होइन, परिवर्तनका लागि हो। तर केहीका लागि निर्वाचन र सम्भावित रूपमा हासिल हुने पदहरू तथा शक्ति बाँडफाँड प्राथमिकतामा पर्दै गर्दा त्यो एउटा (कारण) भयो," उनले भने।
"त्यस्तै धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयतालगायतका लोकतान्त्रिक मूल्यमान्यताहरूमा हामी कायमै छौँ तर यसका अभ्यासका प्रारूपहरूमा परिमार्जन चाहन्छौँ। त्यो दोस्रो कुरा भयो।"
"तेस्रोचाहिँ समानुपातिक सूचीमा उहाँहरूका तर्फबाट जेजस्ता नामहरू आए, प्रत्यक्षमा पनि सोही किसिमको अभ्यास गर्दा हामीलाई अगाडि गएर बदनामी हुन सक्ने जोखिम पनि भयो। निकटका र आफन्तहरूलाई सांसद बनाउनेतर्फ लाग्यौँ भने पहिलेभन्दा पनि खराब स्थिति हुने भयो।"
घिसिङले भने आफूमाथि लागेको भागबण्डाको आरोप अस्वीकार गरे।
"हामीले देशको परिस्थिति, जेन जी युवाहरूको भावना र जनआकाङ्क्षा अनुसार नयाँ भनिने शक्तिहरू एक हुनु पर्छ भनेर लचकताका साथ रास्वपासँग एकताको सहमति गरेका थियौँ," उनले भने।
"यो बाह्र दिनमा पटकपटक सहमति कार्यान्वयनको छलफलमा जुट्यौँ। कतिपय अलिखित सहमति पनि थिए र ती धेरै ठूला माग पनि थिएनन्। बाहिर जुन किसिमले पदको मोलमोलाइ गर्यौँ भनेर आएको छ, त्यो सरासर गलत हो।"
"समावेशीता र सङ्घीयतासहित संविधानले देखाएका आधारभूत विषयलाई सम्बोधन गर्न पूरक सम्झौता गरौँ भनेको थिएँ। एक चरणमा उहाँहरू सहमत हुनुभएको थियो तर पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन। हाम्रा साथीहरूले उठाएका विषय र तलसम्म सहज रूपमा चुनावी प्रक्रियामा कसरी जाने भन्ने विषयमा उहाँहरूले धेरै लामो समय लिनुभयो। त्यसले गर्दा उनेपाले ठूलो क्षति बेहोर्नु परेको छ र अन्तिममा (उहाँहरूले) एकतर्फी रूपमा सहमति भङग भएको घोषणा गर्नुभयो।"
'लामिछानेको एकल निर्णय होइन'
रास्वपा प्रवक्ता झाले घिसिङ पक्षसँग एकता प्रक्रिया रोक्ने निर्णय सभापति लामिछानेको एकल निर्णय नभएको दाबी गरे।
"रवि, कुलमान र बालेन तीनै जना हुनुहुन्थ्यो। उहाँहरूबीच शनिवार चारपाँच घण्टाजति अन्तिम छलफल भयो," उनले भने, "राम्रै तरिकाले कुराकानी टुङ्गियो।"
घिसिङले शनिवारको छलफलमा आफूले रास्वपाको साधारण सदस्य मात्रै भएर बस्ने प्रस्ताव राखेको जिकिर गरे।
"आज अन्तिम चरणमा सहमतिको प्रस्ताव गरेको थिएँ। म रास्वपाको साधारण सदस्य भएर बस्छु तर हाम्रा केन्द्रीय समितिका साथीहरूलाई केही ठाउँ दिउँ भनेको थिएँ।"
रास्वपासँगको एकता प्रक्रिया भङ्ग भएलगत्तै घिसिङले शनिवार उज्यालो नेपाल पार्टीको सदस्यता लिएका हुन्।
"पार्टीको केन्द्रीय समितिको बैठकले मलाई अध्यक्षमा चयन गरेको छ," पत्रकार सम्मेलनमा घिसिङले भने, "देशव्यापी रूपमा यो पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँछु।"
रास्वपासँगको सम्झौतासँगै चुनावी सरकारमा मन्त्री भइरहन मिल्ने कि नमिल्ने भन्ने नैतिक प्रश्नको सामना गरेका घिसिङ यसैसाता सरकारबाट बाहिरिएका हुन्। रास्वपाको उपसभापति बन्ने घोषणा भएपछि उनीमाथि राजीनामा दिन दबाव बढेको थियो।
नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङले सरकारमै रहँदा आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए।
पुस १४ को त्यो सम्झौता
लामिछाने र घिसिङ पक्षबीच गत पुस १४ गते राजनीतिक सहकार्य गर्ने निर्णय भएको थियो। उक्त सम्झौतामा घिसिङ रास्वपाको उपसभापति रहने उल्लेख थियो।
त्यसअगावै रास्वपासँग सहकार्यको निर्णय गरिसकेका काठ्माण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह [बालेन] उक्त सम्झौताको साक्षी बसेका थिए।
रवि र कुलमानबीच शनिवार विकसित घटनाक्रमबारे बालेन भने सहमत देखिएका प्रवक्ता झाले बताए।
"उहाँ त हाम्रो प्रधानमन्त्रीको उम्मेदवार नै हो। त्यो त यथावत नै छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।