तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गगन थापा चुनिए सभापति, निर्वाचन आयोग जाँदै
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी सभापतिमा गगन थापालाई निर्विरोध चयन गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टापछि भृकुटीमण्डपको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
अब पार्टीको अद्यावधिक दस्तावेजसहित बिहीवार नै निर्वाचन आयोग जाने तयारी गरिएको नेता मधु आचार्यले बीबीसीलाई बताए।
नयाँ नेतृत्व चयनबारे कांग्रेसको संस्थापन पक्षले आधिकारिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।
यसअघि बुधवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरिएको जनाएको थियो।
तर कारबाहीमा परेका विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यसको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्।
को के भए?
नेताहरूका अनुसार निर्वाचन समितिले मध्यरातमा नयाँ नेतृत्वको नतिजा प्रकाशित गरेको हो।
विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध सभापति चयन गरेको आचार्यले बताए।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री बनेका छन्।
महिलातर्फ सहमहामन्त्रीमा डिला सङ्ग्रौला, खसआर्यतर्फ उदयशमसेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र दलिततर्फ प्रकाश रसाइली चयन भएका छन्।
आदिवासीतर्फ सहमहामन्त्रीमा बहादुरसिंह लामा, थारूतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बूढा चयन भएका छन्।
आयोग जाने तयारी
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै निर्वाचन आयोग जाने तयारीमा आफूहरू जुटेको नेता आचार्यले बताए।
"हामीले आयोगलाई विशेष महाधिवेशनबारे पहिल्यै पत्राचार गरिसकेका थियौँ। अद्यावधिक दस्तावेजसहित हामी फेरि आउँछौँ भन्ने आयोगलाई पूर्वजानकारी गराइएअनुसार आज जान्छौँ। आज 'फर्स्ट आवर'मै [कार्यालय खुल्नासाथ] हामी जान्छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
नेताहरूका अनुसार विशेष महाधिवेशनबारे केही दिनअगाडि नै निर्वाचन आयोगलाई उनीहरूले जानकारी गराइसकेका थिए।
त्यसरी अगाडि बढ्दा आउन सक्ने कानुनी अड्चनबारे महामन्त्रीहरूले कानुनविद्हरूसँग परामर्श पनि गरेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्।
उनीहरूले पार्टीको विधानबमोजिम विशेष महाधिवेशन आयोजना गरिएकोले त्यसले वैधता नपाउने आधार नरहेको तर्क गर्दै आएका छन्।
"विशेष महाधिवेशन भनेको पार्टीको सर्वोच्च निकाय हो। सर्वोच्च निकायले गर्ने निर्णय नै पार्टीको आधिकारिक निर्णय हुन्छ," आचार्यले भने।
तर संस्थापन पक्षले पदाधिकारीहरूको जेठसम्म कार्यकाल रहेकै अवस्थामा नयाँ नेतृत्व चयन गर्न नमिल्ने बताउँदै आएका छन्।
'कानुन र नियमावलीविपरीत'
संस्थापन पक्षले नेतात्रय थापा, शर्मा र मन्सुरमाथि गरेको कारबाही पार्टीको नियमावली र राजनीतिक दलसम्बन्धी कानुनविपरीत रहेको नेता आचार्यले दाबी गरे।
"हाम्रो पार्टीकै नियमावली र राजनीतिक दलसम्बन्धी ऐनमा पनि सफाइको मौका नदिई कारबाही गर्न नमिल्ने व्यवस्था छ। त्यसैले यो कारबारही देशकै कानुन र सम्बन्धित पार्टीकै नियमावलीविपरीत छ," उनले भने।
सभापति चयन भएका थापासहितका नेताहरूले आयोगले आफूहरूलाई नै मान्यता दिनेमा आश्वस्त रहेको भन्ने आशयको अभिव्यक्ति दिइरहेका छन्।
संस्थापन पक्षधर नेताहरूले काठमाण्डूको भृकृटीमण्डपमा "विशेष महाधिवेशन नभई भेला भएको" बताइरहेका छन्।
कतिपय जानकारहरूका अनुसार मुलुक आमचुनावका लागि अगाडि बढिसकेको अवस्थामा नेपाली कांग्रेसबारे निर्वाचन आयोगले अब लिने निर्णय अर्थपूर्ण हुने छ।
आमनिर्वाचनअन्तर्गत मतदान हुन अब ४९ दिन मात्र बाँकी छ। आउँदो फागुन २१ गते मतदान हुने तय भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।