'कारबाही'पछि गगन थापा भन्छन्, 'पार्टी फुटेको छैन, यही हो पार्टी'

नेपाली कांग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ।

पार्टीको संस्थापनपक्षको बहुमत रहेको समितिले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि अनुशासनको कारबाही गरेको जानकारी सहमहामन्त्री बद्री पाण्डे र केन्द्रीय सदस्य दीपक गिरीले बीबीसी न्यूज नेपालीलाई दिएका छन्।

संस्थापनपक्षले कारबाही गरेको निर्णय सार्वजनिक भएपछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै थापाले पार्टी विभाजित नभएको दाबी गरे।

"यो पार्टी फुटेको छैन। यही हो पार्टी," उनले विशेष महाधिवेशन नै मूल पार्टी भएको तर्क गर्दै भने। विशेष महाधिवेशनको निर्णयलाई संविधान र निर्वाचन आयोगले मान्यता दिने दाबी गर्दै थापाले कार्यकर्तालाई पार्टीको झण्डा र चुनावचिह्न रूखबारे चिन्ता नलिन आग्रह गरे।

गगन थापाले अरू के भने

उनले बुधवार बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटमा आफूहरूले विशेष महाधिवेशनबाटै अन्तरिम नेतृत्व चयन गरेर जान सुझाव दिएको तर त्यसको सुनुवाइ नभएको बताए।

"मैले आज बिहान (देउवाको) घरमा गएर पनि भनेको छु विशेष महाधिवेशनको हलबाट अन्तरिम नेतृत्व छानौँ। जसलाई छाने पनि हुन्छ। पूर्णबहादुर खड्कालाई बनाउने हो कि डा शेखर कोइरालालाई बनाउने हो कि जसलाई बनाए पनि हुन्छ भनेको छु। केवल यति टेक्ने ठाउँ दिनूस् कि फागुन २१ गते देश र जनताको अगाडि जाँदै गर्दा नेपाली कांग्रेसले भदौ २३ अगाडिको धेरै कुरा बिसाएर नयाँ भएर आएको छ भन्न पाउने मौका दिनूस् भनेको हुँ," थापाले बताए।

आमचुनावमा पार्टीले आफ्नो प्रधानमन्त्री उम्मेदवार जो भए पनि तोकेर जाऔँ भन्ने माग आफूहरूको रहेको उनले बताए।

"नेपाली कांग्रेस पार्टीले चुनावमा जाँदै गर्दा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जान पाऔँ भनेका हौँ।"

विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो

थापा र शर्माको अग्रसरतामा काठमाण्डूमा आयोजित पार्टीको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने प्रक्रियाअघि बढाइसकेको छ।

विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्रीको रूपमा अघि सारिने मङ्गलवार बताएका थिए।

पार्टीको केन्द्रीय कार्यसमितिले पार्टीको नियमित महाधिवेशन पुसमा हुन नसकेपछि संसदीय निर्वाचनपछि आगामी वैशाखमा गर्ने निर्णय गरेको थियो। तर महामन्त्रीद्वय विशेष महाधिवेशनकै पक्षमा उभिए।

किन भयो कारबाही

दुई पक्षबीच सहमति गर्ने प्रयास विफल भएपछि पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बसेको हो।

केन्द्रीय सदस्य दीपक गिरीले संस्थापनपक्ष दुई महामन्त्रीका मागहरूप्रति लचक हुँदाहुँदै पनि कुरा नमिलेको बताए।

"अन्तिममा उहाँहरूको आठबुँदे माग आएको थियो। त्यसमा पनि लचक भएकै हो।...तर उहाँहरू पहिलादेखि नै अर्कै मनस्थितिमा हुनुहुन्थ्यो कि जस्तो देखिएको छ।"

"यो सबै रहस्यमय देखियो। निर्वाचनको कुरा अगाडि बढेको भनेपछि बाध्य भएर कारबाही गरिएको हो," गिरीले भने।

दुई पक्षबीच केही दिनदेखि भएको वार्ताबाट परिणाम ननिस्किएपछि बुधवार बिहान दुई महामन्त्री र पार्टी सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

र पार्टी एकता कायम राख्नका लागि वार्तामार्फत् सहमति जुटाउने प्रयास भइरहेको भन्दै आयोजकहरूले दुई दिनका लागि डाकिएको विशेष महाधिवेशन लम्ब्याएका थिए।

विशेष महाधिवेशन पक्षधरको प्रतिक्रिया

संस्थापन भनिएको पक्षले कारबाहीको घोषणा गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले त्यसबारे प्रतिक्रिया दिएका छन्।

"हामीले संवाद गरेर सहमति जुटाउने प्रयास गरेका हौँ। तर संस्थापनपक्षबाटै त्यो खालको परिस्थिति [कारबाहीको निर्णय] भयो। हामीले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ," विशेष महाधिवेशनमा सक्रिय रहेका नेता प्रदीप पौडेलले बीबीसीलाई भने।

अब बुधवार साँझ पार्टी नेतृत्वको निर्वाचन प्रक्रिया अघि बढ्ने पौडेलले बताए।

केमा कुरा मिल्न सकेन भनेर बीबीसीले सोधेको प्रश्नमा वार्तामा लगातार सहभागी हुँदै आएका पौडेलले भने, "हामीले आफ्ना कुरा स्पष्ट ढङ्गमा प्रस्तुत गरेका थियौँ। खास गरी निर्वाचनमुखी निर्णय हुनुपर्छ, निर्वाचन जित्ने गरी रणनीति अख्तियार गर्नुपर्छ... त्योसँग जोडिएका कतिपय विषयलाई स्पष्ट ढङ्गमा राख्यौँ।"

आफ्नो पक्षले कुनै व्यक्तिविशेषको नाम नतोकी वैकल्पिक नेतृत्व उद्घोष गरेर चुनावमा जानुपर्छ भनेको दाबी गर्दै पौडेलले भने, "विशेष गरी नेतृत्वको सवालमा कुरा मिल्न सकेन। हामीले अधिकतम प्रयास गर्दा पनि सफलता हात लागेन"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।