युक्रेन-रुस युद्ध: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?

    • Author, पल किर्बी
    • Role, बीबीसी न्यूज

भ्लादिमिर पुटिनले चार करोड ४० लाख नागरिकको प्रजातन्त्रमाथि युद्ध सुरु गरेर युरोपको शान्ति भङ्ग गरे।

उनले युद्धको औचित्य पुष्टि गर्न भने: आधुनिक र पश्चिमा राष्ट्रहरूप्रति झुकाव राख्ने युक्रेन रुसका निम्ति खतरा हो जसका कारण आफ्नो देशले "सुरक्षित, विकसित र अस्तित्व नरहेको" महसुस गर्न सकेन।

तर केही साता लामो बमबारी, हजारौँको मृत्यु र लाखौँ शरणार्थीहरू पलायन भएपछि प्रश्न खडा भएको छ: उनको युद्धको उद्देश्य के हो र त्यसबाट उम्कने बाटो कुन हो?

पुटिन के चाहन्छन्?

उनले सहजै र तुरुन्तै जितिने आकलनसहित जुन उद्देश्यले रुसी युद्ध सुरु गरेका थिए त्यो धुमिल बन्दै गएको देखिन्छ। "विशेष सैन्य अभियान" भनिएको यस कार्य आक्रमण हो या युद्ध भन्ने कुरामा पुटिन स्वयं प्रस्ट छैनन्।

तर के स्पष्ट छ भने उनले यस अवस्थालाई रुसी इतिहासमा निर्णायक क्षणका रूपमा हेर्छन्।

"रुसको भविष्य र संसारमा यसको भविष्यको स्थान खतरामा छ," विदेशी गुप्तचर प्रमुख सर्गेई नारिस्किनले भनेका छन्।

पुटिनको प्रारम्भिक उद्देश्य युक्रेनलाई कब्जा गर्नु र त्यहाँको सरकारलाई हटाउनु थियो। यस सरकारको नेटोमा आबद्ध हुने इच्छाको पनि अन्त्य गर्नु थियो।

उनले रुसी जनतालाई आफ्नो लक्ष्य "युक्रेनलाई निःशस्त्रीकरण गर्ने र त्यहाँ नाजीवादको अन्त्य गर्ने" भएको बताएका थिए। त्यसले युक्रेनको सरकारबाट आठ वर्षसम्म धम्की र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउने बताएका थिए।

"युक्रेनी भूभाग कब्जा गर्ने योजना छैन। हामी बल प्रयोग गरेर कसैमाथि केही लाद्ने उद्देश्य राख्दैनौँ," उनले भनेका थिए।

रुसले बलपूर्वक क्रूर ढङ्गमा कब्जा गरेका दर्जनौँ सहरहरूमा प्रतिकार गर्न एकजुट भएका युक्रेनीहरूमध्ये कोही पनि नाजी थिएनन् र त्यहाँ कुनै नरसंहार भएको थिएन।

रुसद्वारा बमबारी जारी छ। यद्यपि शान्तिवार्ताका पछिल्ला विवरणहरूका अनुसार रुसको उद्देश्य अब युक्रेनी सरकारलाई हटाउनु होइन। त्यसको साटो युक्रेन तटस्थ बस्नुपर्ने बताएको छ।

पुटिन किन तटस्थ युक्रेन चाहन्छन् ?

सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि युक्रेनले स्वतन्त्रता प्राप्त गर्‍यो। त्यसपछि युक्रेन बिस्तारै युरोपेली सङ्घ र नेटोसहित पश्चिमा राष्ट्रहरूतर्फ मोडियो।

रुसका राष्ट्रपतिले सोभियत सङ्घको विघटनलाई "ऐतिहासिक रुसको पतन"को रूपमा हेर्दै त्यसलाई उल्टाउने लक्ष्य राखेका छन्।

उनले रुसी र युक्रेनीहरू एकै मानिस भएको दाबी गरेका छन्।

"युक्रेनमा वास्तविक राज्यको हैसियतले कहिल्यै कुनै परम्परा थिएन," उनले युक्रेनको इतिहासलाई अस्वीकार गरेका छन्।

सन् २०१३ मा उनले युक्रेनका रुस समर्थक नेता भिक्टर यानुकोभिचलाई युरोपेली सङ्घसँग सम्झौता नगर्न दबाव दिए। फलस्वरूप सन् २०१४ को फेब्रुअरीमा युक्रेनलाई सङ्घको अधिकारबाट हटाउने प्रदर्शन प्रेरित भयो।

सन् २०१४ मा रुसले युक्रेनको दक्षिणमा रहेको क्राइमिया कब्जा गर्‍यो र युक्रेनी फौजविरुद्ध आठ वर्षदेखि युद्धरत पृथकतावादीहरूलाई सहयोग गर्‍यो जसमा १४,००० ले ज्यान गुमाएका थिए।

दुई देशबीच युद्धविराम भएको थियो।

सन् २०१५ मा गरिएको मिन्स्क शान्ति सम्झौता कहिल्यै लागु भएन। आक्रमणपूर्व राष्ट्रपति पुटिनले शान्ति सम्झौतालाई च्यातिदिए र रुस समर्थित दुई भूमि लुह्यान्स्क र डोनेट्स्ककालाई युक्रेनबाट अलग्गै दुई स्वतन्त्र साना मुलुकको मान्यता दिए।

उनले सेना पठाउँदा नेटोलाई "राष्ट्रको रूपमा हाम्रो ऐतिहासिक भविष्य"लाई खतरामा पारेको आरोप लगाए। कुनै आधारबिना नेटोका सदस्य राष्ट्रहरूले क्राइमियामा युद्ध सुरु गर्न चाहेको दाबी गरे।

यो युद्ध अन्त्यका लागि कुनै उपाय छ?

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइल पोडोल्याकका अनुसार रुसी सेना यथास्थितिमा फसेका कारण आगामी दिनमा युद्धविराम हुने सम्भावना छ।

वार्ताका लागि भएको प्रगतिबारे दुवै पक्ष सकारात्मक रहेको र रुसका राष्ट्रपतिले आफ्ना मागहरू लचिलो बनाएको पोडोल्याकले बताएका छन्।

युद्धको सुरुवातमा पुटिनले युक्रेनले क्राइमियालाई रुसको भागको मान्यता दिनुपर्ने र पृथकतावादीद्वारा सञ्चालित पूर्वीय भागको स्वतन्त्रतालाई मान्यता दिनु पर्ने बताएका थिए।

नेटो र ईयूमा सामेल नहुने निश्चित गर्न युक्रेनले आफ्नो संविधान नै बदल्नु पर्ने हुन सक्थ्यो।

क्राइमियाको भविष्यको स्थिति र रुस समर्थित राज्यहरू लुहान्स्क र डोनेट्स्कको समस्या अझै पनि समाधान हुन सकेको छैन।

तर दुई पक्षहरू भविष्यमा यी मुद्दालाई सम्बोधन गर्ने सहमति भएको खण्डमा ती क्षेत्रहरूले सम्झौता तोड्न सक्दैनन्।

अहिले रुसले युक्रेनको नेतृत्वलाई हटाउन नसक्ने र बेलारुसमा जस्तै कठपुतली सरकारले प्रतिस्थापन गर्न सक्दैन भनेर स्वीकारेको देखिन्छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको सुरुवातमा भनेका थिए: "दुस्मनले मलाई प्रहारको पहिलो लक्ष्य बनाएको छ। त्यसपछि मेरो परिवार उनीहरूको लक्ष्य हो।"

"मलाई लाग्छ पुटिनले अझै सीमित सूची स्वीकार गर्नुपर्ने हुन्छ," विश्लेषक तातियाना स्टानोवाया भन्छिन्।

किनकि रुसले जुन दुई ईयू सदस्य राष्ट्रहरू अस्ट्रिया र स्वीडेनमा जस्तै,आफ्नै सेना र नौसेनासहित "तटस्थ, असैनिकीकृत" युक्रेनको परिकल्पना गरेको छ।

अस्ट्रिया तटस्थ छ तर स्वीडेन छैन। वास्तवमा स्वीडेन असंलग्न राष्ट्र हो र नेटोको सैन्य अभ्यासहरूमा सहभागी हुन्छ।

रुसले असल निष्ठासहित वार्ता गरिरहेको छ भन्ने कुरामा सबैलाई विश्वास छैन।

फ्रान्सका विदेशमन्त्रीले मस्कोले सुरुमा युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्। उनले कोही "आफ्नो टाउकोमा बन्दुक तेर्साएको अवस्थामा" वार्ता गर्न नसक्ने बताएका हुन्।

युक्रेनी मागहरू के हुन्?

युक्रेनको मागहरू स्पष्ट भएको बताउँदै राष्ट्रपतिका सल्लाहकारले भने: "युद्धविराम र युक्रेनबाट रुसी सेनाको फिर्ती गर्नु पर्ने माग हो।"

"साथै सुरक्षाको कानुनी प्रत्याभूति जसमा सहयोगी राष्ट्रहरूले युक्रेनमाथि हुने आक्रमणहरू रोक्नु पर्ने र द्वन्द्वमा युक्रेनको पक्षमा सक्रिय रूपमा सहभागी जनाउनु पर्ने" उनले बताए।

रुसी सेनाहरूलाई युद्ध पूर्वताकाको अवस्थामा फर्काउने सुनिश्चितता युक्रेनको मात्र माग हुने छैन।

यो पश्चिमा राष्ट्रहरूका लागि "रेड लाइन" हुनेछ जसले रुसको अन्य "नसुल्झिएको द्वन्द्व"लाई स्वीकार नगर्ने बताउँछन् अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं संयुक्त राष्ट्रसङ्घका पूर्व मध्यस्थता विज्ञ मार्क वेलर।

युक्रेनले पनि रुसको आक्रमण पछि आफ्नो अडानलाई केही लचिलो बनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरूले अब नेटोले आफूहरूलाई सदस्यका रूपमा स्वीकार नगर्ने थाहा पाएको बताउँदै भने, "यो सत्य हो र यसलाई मान्यता दिइनुपर्छ।"

"हामी दस्ताबेजहरूमा काम गरिरहेका छौँ जसमा राष्ट्रपतिहरूले थप छलफल गर्न र हस्ताक्षर गर्न सक्नेछन्। स्वाभाविक हिसाबमा यो चाँडै आउँदै छ किनकि यो युद्ध रोक्ने एक मात्र उपाय हो," पोडोल्याकले अमेरिकी प्रसारण संस्था पीबीएससँग भने।

के नेटो र रुसबीच सम्झौता हुन्छ?

रुसी राष्ट्रपतिले पश्चिम र त्यहाँको ३० सदस्य राष्ट्रको रक्षात्मक सैन्य गठबन्धनप्रतिको घृणालाई दोबर बनाएका छन्।

उनले युक्रेनसँग शान्ति सम्झौताबारे सोचिरहेका होलान् तर उनलाई लाग्छ पश्चिमा राष्ट्रहरूको एउटै उद्देश्य छ: रुसी समाजलाई विभाजित गर्ने र अन्ततः नष्ट पार्ने।

युद्ध सुरु हुनुभन्दा अगाडि उनले नेटोलाई समयलाई सन् १९९७ मा फर्काउन र पूर्वतर्फको विस्तारलाई उल्टाउन, सोही वर्षदेखि गठबन्धनमा सहभागी भएका सदस्य राष्ट्रहरूबाट आफ्ना सेना र सैन्य पूर्वाधार हटाउन र "रुसको सिमानामा रहेका हतियारहरूको आक्रमण" रोक्न माग गरे। यस सन्दर्भमा मध्य युरोप, पूर्वी युरोप र बाल्टिक क्षेत्र पर्छन्।

राष्ट्रपति पुटिनको नजरमा पश्चिमा देशहरूले सन् १९९० मा नेटोलाई पूर्वमा विस्तार नगर्ने वाचा गरे तर कार्य ठीक विपरीत भयो।

यो सोभियत सङ्घको विघटन हुनुभन्दा अघिको कुरा हो।

तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभलाई गरिएको वाचाले एकीकृत जर्मनीको सन्दर्भमा पूर्वी जर्मनीलाई मात्र उल्लेख गर्‍यो।

पछि गोर्बाचोभले "नेटो विस्तारको विषयमा कहिल्यै छलफल नभएको" बताए।

आफ्ना लक्ष्य प्राप्तिका लागि युरोपेली सहरहरूलाई बरबाद गर्ने पुटिनको तत्परता देखेपछि पश्चिमा देशहरूका नेता अब भ्रममा छैनन्।

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपतिले "आफ्नो विश्व दृष्टिकोण अनुसार युरोप कब्जा चाहने" बताउँछन् र अमेरिकी राष्ट्रपति जो बाइडलले त पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन्।

स्कोल्ज र फ्रान्सका इम्यानुएल म्याक्रोन दुवैले युरोप यति बेला एक ऐतिहासिक मोडमा रहेको बताएका छन्।

युद्धअघि रुसले अमेरिकी भूभागभन्दा बाहिर रहेका सम्पूर्ण अमेरिकी परमाणु अस्त्रहरूमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो।

अमेरिकाले छोटो र मध्यम दूरीका क्षेप्यास्त्र सीमित गर्न र अन्तर महादेशीय क्षेप्यास्त्रसम्बन्धी नयाँ सन्धिबारे छलफल गर्ने प्रस्ताव अघि सारेको थियो। तत्कालका लागि त्यस्तो हुने सम्भावना न्यून छ।

विश्लेषक तातियाना स्टानोवायालाई घटनाक्रम बढ्दै जाने र शीतयुद्धकालीन टकराब हुने डर छ।

"मलाई लाग्छ हामीले पश्चिमको लागि नयाँ अल्टिमेटमको बनाउनु पर्छ जुन हामीले सोचेको भन्दा बढी आक्रामक हुनेछ।"

रुसको आगामी कदम के?

राष्ट्रपति पुटिन युक्रेनमा आक्रमणविरुद्ध पश्चिमी प्रतिक्रियाहरू देखेर छक्क परेका छन्।

नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा कहिल्यै पनि पाइला टेक्दैनन् भन्ने उनलाई थाहा थियो तर रुसविरुद्ध जारी र नाटकीय रूपमा बढ्दो प्रतिबन्धहरू सायदै उनले कल्पना गरेका थिए।

युरोपेली सङ्घ, अमेरिका, यूके र क्यानडाले त्यस देशको अर्थतन्त्रलाई विभिन्न तरिकाले लक्षित गरेका छन्:

  • रुसको केन्द्रीय ब्याङ्कको सम्पत्ति रोक्का गरिएको छ र त्यहाँका मुख्य ब्याङ्कहरू अन्तर्राष्ट्रिय भुक्तानी पठाउने सञ्जाल स्वीफ्ट अलग गरिएका छन्
  • अमेरिकाले रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएको छ। युरोपेली सङ्घले एक वर्ष भित्र दुईतिहाइले ग्यास आयात घटाउने लक्ष्य राखेको छ र बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको प्रयोग हटाउने लक्ष्य राखेको छ
  • जर्मनीले रुसको महत्त्वपूर्ण ग्यास पाइपलाइनको अनुमोदनमा रोक लगाएको छ जसमा रुस र युरोपेली कम्पनीहरूको ठूलो लगानी रहेको छ
  • रुसी एयरलाइन्सलाई ईयू, यूके र क्यानडाको हवाई क्षेत्रमा प्रतिबन्ध लगाइएको छ र
  • राष्ट्रपति पुटिन, विदेश मन्त्री सर्गेई लाभ्रोभ र अन्य थुप्रै कुलिनहरूमाथि व्यक्तिगत प्रतिबन्ध लगाइएको छ।

युक्रेनसँगको कुनै पनि शान्ति सम्झौताले यी प्रतिबन्धहरूको अन्त्य गर्दैन र यसबारे पुटिन प्रस्ट छन्।

हालसालै उनी युद्धविरोधी रुसीहरूविरुद्ध सक्रिय बनेका छन्। जसमध्ये लगभग १५,००० प्रदर्शनकारीहरू हिरासतमा परेका छन्। यसबारे लगभग सबै स्वतन्त्र सञ्चारमाध्यमहरूलाई मौन बनाइएको छ।

अहिले रुसमा कुनै पनि अर्थपूर्ण राजनीतिक प्रतिपक्ष बाँकी छैनन्। केही त्यहाँबाट भागिसके। विपक्षी नेता एलेक्सी नाभाल्नी हिरासतमा छन्।