तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: मृतकहरूको पहिचान गर्न पीडादायी पर्खाइ
- Author, सारा रेन्सफोर्ड
- Role, पूर्वी युरोप संवाददाता, खार्किभ क्षेत्र
मधुरो बत्ती बलेको शव गृहको 'कोरिडोर' हुँदै ओले पोदोरोझनीले भवन पछाडिको बगैँचामा रहेको 'कन्टेनर'मा पुर्याए।
'कन्टेनर'को ढोका खोल्नासाथ शवबाट निस्कने दुर्गन्ध फैलिन्छ।
सेतो झोलाहरूमा चाङ लगाएर राखिएका अवशेष इज्युम सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला हत्या गरिएका सर्वसाधारणहरूको हो। ती मध्ये कैयौँको मृत्यु भएको पनि महिनौँ भइसक्यो।
शव राखिएको प्रत्येक झोलामा सामान्य विवरणसहित कालो कलमले अङ्क कोरिएको छ।
इज्युम सहरलाई युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएको हप्तौँ बितिसक्दा समेत १४६ जनाको अवशेषको पहिचान खुल्न सकेको छैन।
खार्किभ क्षेत्रमा रुसी आक्रमण र प्रमुख शव गृहमा निकै धेरै पहिचान खुल्न नसकेका शवहरू राखिएका कारण यहाँ यी शवहरू राखिएको हो।
''यहाँ भएका शवको सङ्ख्या निकै धेरै छ,'' खार्किभ ब्यूरो अफ फरेन्सिक एक्सपर्टीजका एक जना प्याथलजिस्ट ओलेले भने।
'डीएनए परीक्षण गर्दासम्म यी शव यहीँ राखिने छ।''
अहिले यहाँ 'जेनरेटर' जडान गरिएको भए पनि युक्रेनका ऊर्जा पूर्वाधारहरूमा रुसले आक्रमण गरेका कारण हुने नियमित विद्युत् कटौतीका कारण 'कन्टेनर'लाई चिसो बनाउन चुनौतीपूर्ण रहेको उनले बताए।
लामो खोज
इज्युमबाट पूर्व तर्फ केही घण्टा पर यात्रा गर्दा रुसी आक्रमणका कारण भएको व्यापक क्षति देखिन्छ।
एउटा अग्लो भवनको बीचमा ठूलो दुलो परेको छ। आसपासका घरहरू भत्किएका छन्।
यस्तो अवस्थामा त्यहाँ बसेकाहरू आफ्ना मृत आफन्तहरूको खोजीमा छन् तर अन्त्येष्टिका लागि उनीहरूले शव फेला पार्न सकेका छैनन्।
कार्यालय ध्वस्त भएका कारण इज्युमका प्रहरीले एउटा कलेजमा 'इन्सिडेन्ट रुम' तयार पारेका छन् जहाँ उनीहरूले डीएनए नमुनाका साथै क्रूर व्यवहारका प्रमाणहरू सङ्कलन गरिरहेका छन्।
उनीहरूले एक एक गर्दै मानिसहरूलाई त्यहाँ बोलाउँछन् र गालाको भित्री भागबाट नमुना सङ्कलन गर्छन्। यी नमुनाहरूलाई फरेन्सिक प्रयोगशालामा पठाइन्छ र शव गृहमा रहेका शवहरूको डीएनएसँग मिलाएर हेरिन्छ।
डीएनएको नमुना दिनका लागि तेत्याना ताबाकिना 'इन्सिडेन्ट रुममा' पुगेकी छन्।
उनकी बहिनी इरीना र भतिजा येभ्हेने गत मार्चमा भएको रुसी हवाई आक्रमणमा मारिएका थिए। फ्ल्याटहरू भएको भवनको भुइँतल्लालाई सुरक्षित ठानेर त्यहाँ उनीहरूले आश्रय लिइरहेका थिए।
पाखुरामा भएको ट्याटुले गर्दा तेत्याना भतिजा येभ्हेनेको पहिचान गर्न सफल भइन्। तर उनले हालसम्म आफ्नी बहिनीको शव फेला पार्न सकेकी छैनन्।
''विस्फोटनमा इरीनाको शरीर क्षतविक्षत भएको छ। मैले उसको शरीरको एउटा टुक्रासमेत फेला पार्न सकेको छैन,'' मधुरो आवाजमा उनले भनिन्।
''अन्त्येष्टि गर्नका लागि म उसको शरीरको सानो टुक्रा मात्र भए पनि फेला पार्न कुरी रहेको छु।''
कठिनाइ
तर युद्धका कारण शव पहिचानको प्रक्रिया सुस्त हुन पुगेको छ।
खार्किभ क्षेत्र रुसले नियन्त्रणमा लिँदा फरेन्सिक विज्ञहरू भागेर सुरक्षित स्थानहरूतर्फ पुगेका थिए।
''हामीले नयाँ व्यक्तिहरूलाई तालिम दिइरहेका छौँ। तर अहिले हाम्रो विभागमा जम्मा आठ जना कर्मचारी छन् र कामको चाप व्यापक छ,'' भिक्टोरिया आयोनोभाले भनिन्।
प्रयोगशालाकी विशेषज्ञ उनले शव अनि मृत आफन्तको खोजी गरिरहेकाहरूको जेनेटीक (आनुवंशिक) प्रोफाइल तयार पारिरहेकी छन्।
''विद्युत् आपूर्ति रोकिँदा हामीले समस्या खेपिरहेका छौँ। उच्चतम गुणस्तरको परिणाम दिने उपकरणहरू अचानक बन्द हुन्छ र हामीले फेरि सुरुबाट काम थाल्नुपर्छ,'' भिक्टोरियाले भनिन्। ''हामीसँग जेनरेटर छ। तर दिनै भर बत्ती नभएको अवस्था पनि हामीले बेहोरेका छौँ।''
कैयौँ मानिसहरू आक्रमणमा नराम्रोसँग जलेका कारण वैज्ञानिकहरूको कार्य थप जटिल बनेको छ।
''धेरै जलेको अवस्थामा शवमा जेनेटिक (आनुवंशिक) नमुना लगभग भेटिँदैन,'' ओले पोदोरोझीनीले भने। ''हामीले हड्डीको टुक्रा पठाउँछौँ। तर कतिपय अवस्थामा विशेषज्ञहरूले त्यसबाट जेनेटिक नमुना निकाल्न सक्दैनन् र थप कुराहरू माग्छन्। त्यसैले यति सुस्त गतिमा काम भइरहेको छ।''
अधिकारीहरूले खार्किभ क्षेत्रमा हालसम्म करिब ९०० शव फेला पारेका छन्। र नमुना दिनका लागि सबैका परिवार सदस्य हाल युक्रेनमा छैनन्।
अभियोजनकर्ताको कार्यालयले शरणार्थीहरूले कसरी युक्रेन बाहिरबाटै नमुना परीक्षणका लागि पठाउन सक्छन् भनेर त्यसो गर्ने विधि सहितको जानकारी प्रकाशन गरेको छ। तर यसको फाइदा उठाउनेको सङ्ख्या न्यून छ।
जङ्गलमा रहेका चिहान
इज्युममा पहिचान खुल्न नसकेका अधिकांश शवहरू सहर छेउको सल्ला घारीमा गाडिएको अवस्थामा फेला पारिएको थियो।
इज्युममा रुसी सेना रहेका बेला स्वयंसेवकहरूले ती शव त्यहाँ लगेका थिए।
सेप्टेम्बरमा युक्रेनले आफ्नो पकड स्थापित गरेपछि ती शवहरू उत्खनन गरेर खार्किभ ल्याइएको थियो। प्रहरीका अनुसार केहीको प्राकृतिक कारण नै मृत्यु भएको भए पनि अधिकांशको गोलाबारी वा विस्फोटनको क्रममा मृत्यु भएको थियो।
१७ वटा शवमा यातना दिइएको स्पष्ट सङ्केत पाइएको पनि प्रहरीको भनाइ छ। त्यस्ता शवमा घाँटी अनि हात बाँधिएको सङ्केत पाइएको बताइएको छ।
उक्त क्षेत्रमा ८९९ वटा शव उत्खनन गरिएको छ।
''यो सब निकै कष्टकर छ। हामीले यति धेरै लास कहिल्यै देखेका थिएनौँ। हामीले औसतमा प्रत्येक दिन १० वटा लास फेला पारिरहेका छौँ र यो क्रम अझै सकिएको छैन,'' खार्किभ क्षेत्रमा हुने प्रहरी अनुसन्धानका प्रमुख सेर्हीबोल्भिनोभले भने।
प्रहरीले यसै सात 'क्लस्टर' बम ले गर्दा ज्यान गुमाएका एक व्यक्तिको शव फेला पारेको छ। उक्त शव उनकी श्रीमतीले आँगनमा गाडेकी थिइन्।
"यहाँ जे भयो, रुसले गरेका अपराधहरू हाम्रो दिमागबाट कहिल्यै मेटिने छैनन् र हामी ती प्रत्येकको अनुसन्धान गर्नेछौँ," उनी भन्छन्।
''ईश्वरले हामीलाई क्षमा दिन सिकाएका छन्। तर म यी हत्याराहरूलाई कहिल्यै माफ गर्ने छैन,'' मृत छोराको अन्त्येष्टिमा ओलेना इहनातेन्कोले भनिन्।
इज्युममा ४५१ वटा शवहरू फेला परेका छन् जसमा सात जना बालबालिका छन्।
अव्यवस्थित रूपमा गाडिएका अधिकांश शवहरूमा अङ्क मात्रै राखिएको छ।
त्यस्तै एउटा शवमा लेखिएको छ: लेनिन एभिन्यू, ३५/५, वृद्ध
एक जना कविको अन्त्येष्टि
३१९ नम्बर लेखेर गाडिएको एउटा शवको पहिचान हाल खुलेको छ। डीएनए परीक्षणले उनी बाल साहित्यकार तथा कवि भोलोदीमीर भाकुलेन्को रहेको तथ्य स्थापित गरेको छ।
मृत्यु भएको नौ महिनापछि परिवार सदस्यहरूले उनको अन्त्येष्टि गरेका छन्।
मार्च महिनामा रुसी फौजले उनलाई पक्राउ गरेर सोधपुछ गरी छाडेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार दुई जना सैनिकले उनलाई फेरि कतै लगेका थिए।
सल्लाको घारीमा उनको हाड फेला परेको थियो। चिहानमा दुई वटा गोली पनि पाइएको थियो।
''ईश्वरले हामीलाई क्षमा गर्न सिकाउँछन्। तर म यी हत्याराहरूलाई कहिल्यै माफ गर्ने छैन,'' फ्रेममा राखिएको आफ्नो एक मात्रै छोराको तस्बिर छातीमा टाँसेर ओलेना इहनातेन्कोले भनिन्।
"म यो आशा र विश्वासमा बाँच्नेछु कि अनुसन्धानले दोषी पत्ता लाउने छ र हत्याराहरूलाई सजाय हुनेछ। म त्यो सपनाको लागि बाँच्नेछु।"
लामो पर्खाइ
डीएनए परीक्षण गरेर हालसम्म इज्युममा पाँच वटा मात्रै शवको पहिचान हुन सकेको छ। केही शव यस्तो अवस्थामा छन् कि तिनको कहिल्यै सनाखत हुन नसक्ने फरेन्सिक टोली स्वीकार्छन्।
तेत्याना ताबाकीना जस्ता आफन्तहरूको लागि यो एक पीडादायी पर्खाइ हो।
एक जना छिमेकीले उनकी बहिनी र भतिजा मारिएको आक्रमणमा परेका आफ्नो परिवारका सात जना सदस्यको अन्त्येष्टि गरेको ताबाकीनाले बताइन्।
''अन्त्येष्टिको भोलिपल्ट आफ्नो मनमा रहेको बोझ हल्का भएको र निदाउन सकेको उनले मलाइ बताए,'' ताबाकीनाले भनिन्।
"म केवल त्यो क्षण पार गर्न चाहन्छु। त्यसपछि सायद यो उनीहरूका लागि सहज हुनेछ। वा मेरा लागि।"
प्रोड्युसर: टोनी ब्राउन, म्याट गोडार्ड र हाना कोर्नस