तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के आत्मसमर्पण गरिसकेपछि रुसी सैनिकहरूको हत्या गरिएको हो?
पूर्वी युक्रेनमा लडाइँ भइरहेको क्षेत्रबाट बाहिर आएको एउटा भिडिओमा सैनिकहरूको एउटा समूहले आत्मसमर्पण गरेको र त्यो उनीहरूको मृत्युमा पुगेर अन्त्य भएको देखाइएको छ।
रुसले उक्त फुटेजमा प्रतिक्रिया जनाउँदै युक्रेनले रुसी युद्ध बन्दीहरूको हत्या गरेको र त्यो युद्ध अपराध भएको बताएको छ।
ती आरोपबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
बीबीसीले रुसले गरेको दाबीलाई स्थापित गर्न सकेको छैन तर हामीले त्यो भिडिओ फुटेजको अध्ययन गरेर के भएको हुनसक्छ भन्ने पत्ता लगाउने प्रयास जारी राखेका छौँ।
उक्त घटना लुहान्स्क क्षेत्रको माकिइब्का गाउँमा १२ नोभेम्बर शनिवार वा त्यो भन्दा अघि भएको थियो।
- चेतावनी: यो समाचारमा राखिएका कतिपय तस्बिरहरूले तपाईँलाई विचलित बनाउन सक्छन्
भिडिओमा के देखिन्छ
शनिवार अबेर र आइतवार युक्रेन समर्थक साइटहरूमा प्रकाशित ड्रोन फुटेजमा कैयौँ सैनिकहरूको शव खेतमा ढलेको अवस्थामा देखिन्छ।
घटनास्थलको भिडिओको केही अंश माकिइब्का क्षेत्रमा गरेको सैनिक कारबाहीबारे युक्रेनी रक्षा मन्त्रालयले अनलाइनमा राखेको भिडिओमा पनि देख्न सकिन्छ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले मोर्टार हमला भएको दाबी गरेका छन्।
तर यसलाई रुस समर्थक सञ्चारमाध्यमहरूले चुनौती दिएका छन्।
उनीहरूको भनाइमा युक्रेनको ८०औँ हवाई कारबाही सम्बन्धी सैनिक ब्रिग्रेडका सदस्यहरूले ती सैनिकहरूलाई गोली हानेर मारेका हुन्।
नोभेम्बर १७ मा थप भिडिओ फुटेजहरू प्रकाशमा आएका थिए जुन घटनास्थलमा नै उपस्थित कसैले खिचेको देखिन्छ।
त्यसमा युक्रेनी भाषामा झुप्रोमा लुकिरहेका जो कोहीलाई बाहिर आउन भनिएको सुनिन्छ।
उनीहरू एक-एक गर्दै बाहिर आउँछन् र जमिनमा घोप्टो पर्छन्।
भिडिओमा सुनिएको आवाजमा सबै जना बाहिर आएकी आएनन् भनेर प्रश्न गरेको पाइन्छ।
बन्धक बनाउनेहरूले भिडिओमा युक्रेनी भाषामा बोलिरहेको सुन्न सकिन्छ भने कब्जामा परेका व्यक्तिहरूको पोसाक युक्रेनी नभई रुसी जस्तो देख्न सकिन्छ।
रुसको रक्षा मन्त्रालय र सञ्चारमाध्यमहरूले ती बन्दीहरू रुसी भएको बताएका छन्।
उक्त भिडिओमा त्यसपछि एउटा पुरुष धमिलो रङ्गको पोसाक लगाएर भित्र पसेको देख्न सकिन्छ।
हतियार बोकेको उक्त पुरुषले अघि बढ्दै जाँदा गोली चलाउँदै हिँडेको जस्तो देखिन्छ।
हामीले उक्त भिडिओ हेरेर सो व्यक्ति रुसी वा युक्रेनी हो भन्न सक्दैनौँ। उसले ठ्याक्कै केमा गोली चलाइरहेको थियो भन्ने निश्चित गर्न पनि सकिँदैन।
गोली चलेको आवाज चर्को बन्दै गर्दा क्यामेरा झर्छ। दर्शक अन्योलमा नै रहिरहेको अवस्थामा उक्त भिडिओ समाप्त हुन्छ।
ड्रोनबाट लिइएको एरिअल फुटेज र स्थलगत रूपमा खिचिएको भिडिओले एउटै घटना पुष्टि गर्छन्।
प्रवेशद्वारमा एउटा पोल ढलेको जस्तो देखिन्छ र बारी नजिकै एउटा रातो खेलौना कार देख्न सकिन्छ।
रुसले के भन्यो?
रुसको रक्षा मन्त्रालयले उक्त घटनालाई १० वा सो भन्दा बढी रुसी सैनिकमाथि टाउकोमा ताकेर गरिएको ‘नियोजित र योजनाबद्ध’ हत्या भनेको छ।
उसले त्यो युक्रेनी फौजहरूले गरेको ‘पहिलो र एक मात्रै युद्ध अपराध नभएको’ पनि बताएको छ।
आफ्नो हतियार झुकाउँदै आत्मसमर्पण गरेका फौजीहरूको हत्या गर्नु वा उनीहरूलाई घाइते बनाउनु युद्ध अपराध हो।
रुसमाथि बुचा सहितका क्षेत्रमा कैयौँ त्यस्ता हत्या गरेको आरोप लागेको छ।
नौ महिनादेखि जारी लडाइँमा बन्दीहरूको साटासाट एउटा महत्त्वपूर्ण विषय बनेको छ।
युक्रेनस्थित राष्ट्रसङ्घीय मिसनको यस हप्ताको एउटा प्रतिवेदनमा दुवै पक्षले बन्दीहरूलाई शोषण गरेको उल्लेख छ।
रिहा गरिएका अधिकांश युक्रेनी बन्दीहरूले यातना पाएको र दुर्व्यवहार गरिएको अनि नौ जनाको ज्यान गएको बताएका थिए।
रुसभन्दा पृथक् युक्रेनले बन्धक बनाइएका कैदीसम्म पहुँच दिने गरेको छ।