तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफूले गाभेका युक्रेनी भूमिलाई मान्यता दिए मात्रै रुस वार्तामा बस्ने
अमेरिकी राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ।
क्रेम्लिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको हो।
रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू-भागका रूपमा विस्तार गरेको थियो।
यद्यपि उसले युक्रेनमाथि आक्रमण गरेको नौ महिनामा कब्जा गरेका आधाभन्दा बढी भूमि गुमाएको छ।
अमेरिकी राष्ट्रपतिले के भने?
अमेरिकी राष्ट्रपति बाइडनले बिहीवार राति पत्रकारहरूसँग "यदि वास्तवमा उनी युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भने" आफू रुसी नेतालाई भेट्न तयार रहेको बताएका थिए।
अमेरिका भ्रमणमा रहेका फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले पनि ह्वाइट हाउसमा बाइडनसँगै उनको छेउमा उभिएर आफूहरूबीच युक्रेनीलाई "उनीहरूलाई स्वीकार्य नहुने" सम्झौता गर्न कहिल्यै पनि आग्रह नगर्ने सहमति भएको स्पष्ट पारेका थिए।
यद्यपि कूटनीतिक गतिविधिमा देखिएका स्पष्ट उथलपुथलले महिनौँपछि वार्ताका लागि केही उत्साहको सङ्केत भने गरेका छन्।
रुसी सेना पूर्वाधारहरूमा व्यापक आक्रमण गरेपछि दक्षिणी युक्रेनबाट केही पछि हट्न बाध्य भएको छ।
जर्मन चान्सलरसँग पुटिनको कुराकानी
जर्मन चान्सलरले शुक्रवार सेप्टेम्बरपछि पहिलो पटक रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेका छन्।
एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा जर्मन नेताले आफ्ना समकक्षीलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेको बर्लिनले जनाएको छ।
त्यस्तो आग्रहमा "जतिसक्दो चाँडो" युक्रेनबाट रूसी सेनालाई फिर्ता गर्नु भन्ने कुरा पनि समेटिएको छ।
क्रेम्लिनका अनुसार उक्त कुराकानीका लागि जर्मन पक्षले दबाव दिएको थियो र पुटिनले बर्लिनलाई "युक्रेनमा भइरहेका घटनाका सन्दर्भमा आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न" आग्रह गरेका थिए।
राष्ट्रपति पुटिनले "जर्मनीलगायत पश्चिमी देशहरूको विनाशकारी जीवन"बारे ध्यानाकर्षण गराएका थिए। किएभले वार्ताको कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको पनि क्रेम्लिनको दाबी छ।
क्रेमलिनका प्रवक्ता के भन्छन्?
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई यसअघि पुटिनले "आफ्नो हित सुनिश्चित गर्न" वार्ताका लागि खुला रहेको बताएको जानकारी दिएका थिए।
तर मस्को अमेरिकी शर्तहरू स्वीकार गर्न तयार थिएन।
पेस्कोभले भने "राष्ट्रपति बाइडनले वास्तवमा के भने? उनले भने कि पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ।"
“यसले वार्ताका लागि पारस्परिक आधारको खोजीलाई जटिल बनायो,” उनले भने, “अमेरिकाले युक्रेनमा ‘नयाँ क्षेत्रहरू’लाई मान्यता दिएन।”
सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई रूसको भागको रूपमा घोषणा गरेका थिए।
तर अहिले पूर्वी युक्रेनमा रुसी सेनाले लुहान्स्कका अधिकांश भाग ओगटेको बेला डोनेट्स्कमा उनीहरूको आक्रमण रोकिएको छ।
उनीहरू दक्षिणमा खेअर्सन र जापोरिज्यामा पछाडि परेका छन्।