रुसी आक्रमणका कारण एक करोड युक्रेनीहरू बिजुलीबाट वञ्चित

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण कम्तीमा सात जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा गरिएका पछिल्ला क्षेप्यास्त्र आक्रमणहरूपछि एक करोड युक्रेनीहरू बिद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको जनाएका छन्।

हमलाहरूमा कम्तीमा सात जना मारिएको र त्यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ।

"हामीले आपूर्ति व्यवस्था सामान्य तुल्याउन हरेक प्रयास गरिरहेका छौँ," जेलेन्स्कीले राति गरेको सम्बोधनमा भनेका छन्।

क्षेप्यास्त्र उत्पादन कम्पनी पनि आक्रमणमा

जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल शहर क्षेत्रमा ७० वटा बम प्रहार भएका छन्। त्यहाँका हजारौँ घरहरूमा पानी र बिजुली आपूर्ति बन्द छ।

उनले युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले छ वटा क्रुज क्षेप्यास्त्र र पाँच वटा ड्रोनहरू निस्तेज तुल्याइदिएको बताए।

रुसले युक्रेनमाथि बिहीवार ताजा क्षेप्यास्त्र हमलाहरू गरेको थियो।

अहिलेसम्मकै भयानकमध्ये पर्ने बम हमलाहरू गरेको दुई दिनमै गरिएको उक्त आक्रमणको निशानमा सर्वसाधारणका भवन र ऊर्जा केन्द्रहरू परेका छन्।

प्रधानमन्त्री डेनिस श्मिहालले क्षेप्यास्त्र उत्पादन गर्ने कम्पनी आक्रमणमा परेको बताए।

युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी शहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन्।

आक्रमणको प्रभाव कहाँ धेरै?

अर्का अधिकारीले किशोर किशोरी सहित २३ जना घाइते भएको जानकारी दिए।

गैर सैनिक नागरिकको हताहतबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

पूर्वमा रहेको एउटा ग्यास उत्पादन केन्द्र र डिनिप्रोस्थित एउटा क्षेप्यास्त्र फ्याक्ट्री लगायतलाई पछिल्ला निशाना बनाइएको अधिकारीहरूको भनाइ छ।

ऊर्जा आपूर्ति बन्दको मारमा खास गरी राजधानी किएभ, पश्चिमी शहर भिनित्स्या, दक्षिण पश्चिमी तटीय शहर ओडेसा र उत्तर पूर्वी शहर सुमीका बासिन्दा छन्।

सरकारी स्वामित्वको ऊर्जा निकाय नफ्तोग्याजले देशको पूर्वमा रहेका ऊर्जा केन्द्रहरू भयानक आक्रमण परेको जनाएको छ।

राष्ट्रपति जेलेन्स्कीले आफ्ना नागरिकलाई बिजुली र न्यानोको निम्ति गरिएको बन्दोबस्त ध्वस्त तुल्याएको आरोप रुसमाथि लगाए।

आक्रमणको औचित्य?

युक्रेनी नेताले आफ्ना सहयोगीहरूलाई ‘युक्रेनी आकाशको पूर्ण सुरक्षाको निम्ति’ गरेको आग्रह दोहर्‍याएका छन्।

त्यसले गर्दा रुसलाई युद्ध अन्त्य गर्न प्रेरित गर्ने उनको भनाइ छ।

मस्कोले किएभ ‘सहमति गर्न अनिच्छुक रहेको’ भन्दै पछिल्ला आक्रमणहरूको औचित्य दर्शाउन खोजेको छ।

बिहीवार गरिएका एकपछि अर्को आक्रमणपश्चात् युक्रेनीहरूलाई हवाई सुरक्षा सतर्कताको चेतावनी दिइएको छ।