काठमाण्डूको त्यो मञ्च जहाँ वाजपेयीसामु 'परवेज मुशर्रफसँग हात मिलाउनुको विकल्प थिएन'

    • Author, वकार मुस्तफा, पत्रकार तथा अनुसन्धाता
    • Role, बीबीसी उर्दूका लागि

सन् २००२ को ज्यानुअरी पहिलो साता दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ११औँ शिखर सम्मेलन नेपालमा आयोजना हुँदै थियो।

भारत र पाकिस्तानबीचको तनावका कारण उक्त सम्मेलन पहिले नै झण्डै दुई वर्ष सरेको थियो।

त्यसपछि पनि त्यो सुरु हुन थप एक दिन ढिलो भयो। पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफ भारतको छोटो बाटोको साटो चीन हुँदै लामो यात्राबाट नेपाल आइपुग्दा केही घण्टा ढिलाइ हुन पुगेको थियो।

तर खबरहरूका अनुसार भारतले काठमाण्डूसँग मिलेर प्रधानमन्त्री अटल बिहारी वाजपेयी र राष्ट्रपति परवेज मुशर्रफबीच मनमोहक सूर्योदय दृश्यका लागि परिचित नगरकोट रिट्रीटमा सम्भावित भेटघाट रोक्न एक दिन ढिलो बैठक राखेको आरोप पाकिस्तानको थियो।

पाकिस्तानी सरकारका तत्कालीन प्रवक्ता अशफाक अहमद गोन्डलका अनुसार राष्ट्रपति मुशर्रफ त्यस दिन दिउसो ३:३० बजे नेपाल आइपुगेकाले बैठक ४:०० बजे सुरु हुन सक्थ्यो।

यद्यपि सार्क सम्मेलन शुक्रवारको साटो शनिवार वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु गरियो।

त्यतिखेर केवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनिने उक्त भवन सन् २०२५ सेप्टेम्बरमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा आगजनी भएको सरकारी भवनहरूमध्ये एक हो।

मञ्चमा रहेका ठूलो टेबलपछाडि बसेका सबै देशका सरकार तथा राष्ट्र प्रमुखहरूले पालैपालो सम्बोधन गर्ने कार्यक्रम थियो। तीमध्ये जेनरल परवेज मुशर्रफ पनि थिए जसले सन् १९९९ को अक्टोबर १२ मा प्रधानमन्त्री नवाज शरीफलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका थिए।

राष्ट्रपति मुशर्रफले आफ्नो भाषणमा सार्कको आलोचना गर्दै त्यस मञ्चले केही हदसम्म आफ्नो बाटो बिराएको बताए।

ट्रिब्यून समाचार सेवाका संवाददाता टीआर रामचन्द्रनका अनुसार नेपाल, श्रीलङ्का र बाङ्ग्लादेशजस्ता सदस्य राष्ट्रहरूमा भने भारत र पाकिस्तानबीच जारी तनावले सार्कको प्रगतिमा बाधा पुर्‍याउने चिन्ता थियो।

तनाव र आशाका पृष्ठभूमि

प्रधानमन्त्री अटलविहारी वाजपेयीले सन् १९९९ को फेब्रुअरी २१ मा पाकिस्तान भ्रमण गरेर आफ्ना समकक्षी नवाज शरीफसँग लाहोर घोषणापत्रमा हस्ताक्षर गरेका थिए।

उक्त घोषणामा दुई सरकारहरू आणविक दुर्घटनाहरू रोक्न कश्मीरसहित सबै प्रमुख विवादहरूमा वार्ता गर्न र आर्थिक तथा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न सहमत भएका थिए।

लाहोरको मीनार-ए-पाकिस्तानमा उभिएर वाजपेयीले कविता सुनाए।

जंग न होने देंगे, हम जंग न होने देंगे…

जो हम पर गुजरी, बच्चों के संग न होने देंगे

(हामी युद्ध हुन दिनेछैनौँ, हामी युद्ध हुन दिनेछैनौँ …

हामीसँग जे भयो त्यो हामी हाम्रा बच्चाहरूमाथि पर्न दिनेछैनौँ।)

तर सन् १९९९ को मेमा सुरु भएको कारगिल युद्धले उक्त शान्ति प्रक्रियामा धक्का दियो र लाहोर घोषणापत्र निष्प्रभावी बन्यो। सन् २००१ मा वाजपेयी-मुशर्रफबीचको आगरा शिखर सम्मेलन असफल भएपछि तनाव बढ्दै गयो।

सार्क सम्मेलनको आफ्नो भाषणमा मुशर्रफले सार्कलाई साँच्चै प्रभावकारी बनाउन र त्यसमार्फत् मतभेदहरू कम गर्नु र सार्वभौम समानताको आधारमा विवादहरू समाधान गर्नु अगाडिको बाटो भएको सुझाए।

आफ्नो भाषणमा उनले भने, "हामीमध्ये कसैले पनि आफूलाई अरूभन्दा बढी समान ठान्नुहुन्न।"

पाकिस्तानको अङ्ग्रेजी दैनिक 'डन'का संवाददाता जावेद नक्वीका अनुसार उक्त सम्बोधनपछि उनले एउटा यस्तो कदम चाले जसबारे उनका निकट सहयोगीहरूलाई पनि थाहा थिएन।

उनले भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीतिर फर्केर भने, "यस मञ्चबाट जाँदै गर्दा म प्रधानमन्त्री वाजपेयीलाई मित्रताको इमानदार र सच्चा हात अगाडि बढाउँछु। हामीले दक्षिण एसियामा एकसाथ शान्ति, सद्भाव र प्रगतिको यात्रा सुरु गर्नुपर्छ।"

यो उनको लिखित भाषणभन्दा फरक थियो र सँगै अर्को कदम अझ ठूलो हुनेवाला थियो।

आफ्नो पुस्तक 'इन द लाइन अफ फायर' मा मुशर्रफले लेखेका छन्: 'मेरो भाषण सकेपछि म सिधै प्रधानमन्त्री वाजपेयीको अगाडि उभिएँ र हात मिलाउनको लागि मेरो हात अगाडि बढाएँ। उहाँसँग उभिएर स्वीकार गर्नुबाहेक अरू कुनै विकल्प थिएन।'

'अधिकारीहरू खचाखच भव्य हलभर आश्चर्य (र सायद प्रशंसा) को ठूलो गुनगुनाहट फैलियो कि 'विश्वको सबैभन्दा ठूलो लोकतन्त्र' का प्रधानमन्त्री निकै कमजोर देखिएका थिए।'

'ऐतिहासिक हस्तमिलान'

नक्वीले त्यसबेलाको गडगडाहट तालीले हलमा केही नसुनिने अवस्था बनेको लेखेका छन्। उनले भारत र पाकिस्तानका कैयौँ सञ्चारकर्मीहरूले समेत आफ्नो व्यावसायिक संयम गुमाएर एक क्षणका लागि ताली बजाएको स्मरण गर्छन्।

पाकिस्तानी पत्रकार आगा मसूद हुसेन पनि सम्मेलनमा सहभागी थिए। आफ्नो एउटा स्तम्भमा उनले हलमा सबैले उभिएर लामो समयसम्म ताली बजाएको र भोलिपल्ट सार्क राष्ट्रका सबै प्रमुख पत्रिकाहरूले यसलाई 'ऐतिहासिक हस्तमिलान' भनेको लेखे।

मुशर्रफले लेखेका छन्: "मेरो उद्देश्य कहिल्यै वाजपेयीलाई कमजोर देखाउनु थिएन तर आगरामा उत्पन्न गतिरोध तोड्नु थियो।"

नक्वीका अनुसार जेनरल मुशर्रफको भाषण वाजपेयीको भन्दा तीन वक्ताअघि दिइएको थियो जसले भारतीय नेतालाई आफ्नो भाषण पुनर्विचार गर्ने अवसर दियो।

पाकिस्तानी अधिकारीहरूका अनुसार वाजपेयीको प्रतिक्रिया केही हदसम्म मौन भए तापनि त्यसमा केही सकारात्मक पक्षहरू थिए। यद्यपि उनीहरू केही असहजताका साथ बाहिर आए।

वाजपेयीले भने: 'राष्ट्रपति मुशर्रफले मित्रताको हात अगाडि बढाएकोमा म खुसी छु। मैले तपाईँको उपस्थितिमा हात मिलाएँ। अब राष्ट्रपति मुशर्रफले यो इशारापछि पाकिस्तान वा उसको नियन्त्रणमा रहेका कुनै पनि क्षेत्रबाट भारतमा आतङ्कवादलाई आड दिने कुनै पनि गतिविधि नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ।'

नकवीले लेखेअनुसार जेनरल मुशर्रफको भाषण र वाजपेयीको प्रतिक्रिया आगरा शिखर सम्मेलनको असफलतापछि दुई नेताहरूबीचको पहिलो भेटघाट बनेको थियो। जुलाई १६ मा आगरामा वाजपेयी उनीहरूलाई बिदाइ गर्न समेत बाहिर आएका थिएनन्।

"राष्ट्रपति मुशर्रफले शनिबारको आफ्नो भाषणमा कश्मीरको नाम उल्लेख नगरी बोले र त्यो रणनीति प्रभावकारी साबित भयो। किनकि दुई देशका विदेशमन्त्रीहरू जसवन्त सिंह र अब्दुल सत्तारबीचको भेटघाट सम्भव भयो जुन केही दिन अघिसम्म अकल्पनीय थियो।"

'उक्त बैठकको प्रकृतिको बारेमा फरक-फरक व्याख्या भए तापनि वाजपेयी अपेक्षाकृत बैठकको अनौपचारिक भाग (रिट्रीट) मा उपस्थित भएनन् र तत्काल प्रगतिका लागि जेनरल मुशर्रफको चाहनालाई बेवास्ता गरे। यद्यपि त्यसले दुई नेताहरूबीच भविष्यमा भेटघाटको सम्भावना स्पष्ट भइसकेको विश्लेषकहरूले बताएका थिए।'

त्यसपछि के भयो

पत्रकार कृष्ण कुमार (केके) कात्यालले आफ्नो पुस्तक 'जर्नी टु एमिटी: इन्डिया एन्ड मुशर्रफ पाकिस्तान' मा राष्ट्रपति मुशर्रफ अप्रत्याशित रूपमा वाजपेयीको सिटमा गएर मित्रताको हात अगाडि बढाउनुलाई एक प्रतीकात्मक कूटनीतिक चाल मानिएको भनेर लेखेका छन्।

त्यसपछि औपचारिक भेटघाट भए-नभएको बारेमा चाहिँ फरक-फरक कुरा सुन्न पाइन्छन्।

"यद्यपि यो सम्पर्क पहिलेको सम्पर्कविहीन अवस्थामा सीमित सुधार थियो, कुनै ठोस नतिजा प्राप्त हुन सक्ने थिएन।"

आफ्नो पुस्तकमा मुशर्रफ लेख्छन्: 'त्यो हात मिलाउनाले चाहेजस्तो प्रभाव पारेको हुनाले म खुसी थिएँ।'

"प्रधानमन्त्री वाजपेयीले सन् २००४ को ज्यानुअरीमा सार्क शिखर सम्मेलनको लागि पाकिस्तान भ्रमण गर्ने निर्णय गरे। हाम्रो भेट सौहार्दपूर्ण रह्यो र यस पटक हामी लिखित संयुक्त घोषणापत्रमा सहमत भयौँ जुन पछि 'इस्लामाबाद घोषणापत्र' को रूपमा चिनिन थाल्यो। हामीले 'विस्तृत वार्ता' मार्फत् शान्ति प्रक्रियालाई अगाडि बढाउने निर्णय पनि गर्‍यौँ जसमा जम्मू र कश्मीर विवाद पनि समावेश थियो।"

यद्यपि उक्त शृङ्खला अगाडि बढ्न सकेन।

मुशर्रफले लेखेका छन्: "विस्तृत वार्ताले गति लिनुअघि नै भारतमा प्रारम्भिक चुनाव भयो र प्रधानमन्त्री वाजपेयीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पराजित भयो।"

"सोनिया गान्धीको कांग्रेस पार्टीले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएर नयाँ गठबन्धन सरकार गठन गर्‍यो। यो परिवर्तनले शान्ति प्रक्रियाको सम्पूर्ण परिदृश्य परिवर्तन गर्‍यो। आगराको एक वर्षपछि त्यस अवसर पनि गुमाएकोमा मलाई दुःख छ।"

कात्यालका अनुसार आगरा र काठमाण्डू फरक परिस्थितिका नतिजा थिए: "आगरा एक द्विपक्षीय शान्ति प्रयास थियो जुन कश्मीरमा मतभेदका कारण असफल भयो। जबकि काठमाण्डू भारत-पाकिस्तान तनावले ओझेलमा परेको क्षेत्रीय बैठक थियो। दुवै अवसरमा आशाका किरणहरू देखिए तापनि कुनै दिगो प्रगति भएन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।