कर्णाली प्रदेशमा यसपालि धेरै नयाँ उम्मेदवार, जेन जी आन्दोलनको प्रभाव स्पष्ट

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत
  • पढ्ने समय: ३ मिनेट

जेन जी आन्दोलनपछि विकसित परिस्थितिका कारण नियमितभन्दा करिब दुई वर्ष अघि हुन लागेको राष्ट्रिय चुनावको मतदान गर्ने दिन नजिकिँदै गर्दा कर्णालीमा पनि चुनावी चहलपहल बढ्दै गएको देखिन्छ।

चुनावमा होमिएका राजनीतिक दलहरू आफ्ना उम्मेदवार र अजेन्डा लिएर मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।

यसपालिको चुनावमा नयाँ-पुराना सबै दलमा जेन जी आन्दोलनको प्रभाव भने प्रस्ट देखिएको बताइन्छ।

जेन जी आन्दोलनकै प्रभावस्वरूप दलहरूले यो चुनावमा केहीमा बाहेक धेरै निर्वाचन क्षेत्रमा नयाँ अनुहार र युवालाई उम्मेदवार बनाएका छन्।

परिवर्तनको पक्षमा देखिएका मतदातालाई यसपालि नयाँ दल वा नयाँ अनुहार के छान्ने विकल्प खुला रहेको सुर्खेतकी सुनिता नेपाली बताउँछन्।

'पीरमर्का बुझ्नेलाई भोट'

परिवर्तनको पक्षमा रहेको बताउँदै आएका मतदाताले पुराना पार्टीका नयाँ अनुहारलाई रोज्छन् कि नयाँ दललाई विश्वास गर्छन् त्यो चुनाव परिणाम प्राप्त भएपछि स्पष्ट हुने छ।

कर्णालीका मतदाताले विकास र सुशासनका साथै रोजगारी सिर्जना र भ्रष्टाचार अन्त्यलाई मुख्य मुद्दाको रूपमा हेरेका छन्।

यस पटक परिवर्तनको पक्षमा मतदान गर्ने सोचमा रहेको बताउने जाजरकोटका युवा मानबहादुर बोहरा उम्मेदवारको पृष्ठभूमि र मुद्दालाई हेरेर मत दिने बताउँछन्।

उनी भन्छन्, "अहिलेसम्म चिप्ला भाषण सुनेर थाकिसकेका छौँ। अब भाषण हैन, विकास गर्ने र हाम्रो पीरमर्का बुझ्नेलाई भोट दिने विचार छ। गाउँमा न त खानेपानी, बिजुली छ न त बिरामी बोक्ने स्ट्रेचर नै छ। पीडा कस्तो छ हामी भोग्नेहरूलाई मात्र थाहा छ।"

कर्णालीका चर्चित उम्मेदवार

निर्वाचन क्षेत्र फेर्दै रुकुम पूर्वबाट उठेका भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सशस्त्र विद्रोहमा ज्यान गुमाएका स्थानीय माओवादी नेताका छोरा सन्दीप पुनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनौती दिएका छन्।

प्रचण्डसँगको लामो साथपछि छुट्टिएका पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उठेका छन्।

सुर्खेतमा नेपाली कांग्रेसका विष्णु खड्का, कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही र नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा तथा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही चर्चित उम्मेदवार हुन्।

चुनावी तथ्याङ्कमा कर्णाली

जिल्लाको सङ्ख्या: १०

कुल निर्वाचन क्षेत्र: १२

कुल मतदाता: १०,३७,२५०

  • महिला: ५,०९, ३६१
  • पुरुष: ५,२७,८८६
  • अन्य: ३

कुल उम्मेदवार: १३८

  • महिला:११
  • पुरुष:१२७
  • अन्य:०

मतदानकेन्द्र: १,४३७

मतदानस्थल: ९४१

विगतको नतिजा: कुन पार्टीले कति जिते

  • कांग्रेस: ४
  • नेकपा माओवादी: ४
  • तत्कालीन नेकपा समाजवादी: ३
  • राप्रपा: १
  • एमाले: ०

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।