'नेपो बेबिज'बारे पार्टीहरू मौन, आन्दोलनमा भाग लिएका नवयुवा के भन्छन्

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

गत भदौ महिनामा भएको जेन जी आन्दोलन नेपालमा एउटा अभूतपूर्व राजनीतिक परिवर्तन ल्याउने माध्यम बन्यो। नवयुवाहरूले 'नेपो किड्स' र 'नेपो बेबिज' ह्याश्ट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा थालेको भ्रष्टाचार तथा नातावादविरुद्ध लक्षित अभियानलाई उक्त आन्दोलनको उत्प्रेरक बिन्दु मानिएको छ।

आन्दोलनको साढे पाँच महिना बित्दा त्यस बेला खुबै चर्चामा रहेका ती शब्दावलीहरू हिजोआज सार्वजनिक वृत्तमा त्यति सुनिन छाडेका छन्।

फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलक्षित चुनावी घोषणापत्र ल्याएका राजनीतिक दलहरूले 'नेपो किड्स' र 'नेपो बेबिज' भनेर केही उल्लेख गरेका छैनन्।

यस सन्दर्भमा हामीले गत भदौको जेन जी आन्दोलनमा सहभागी नवयुवाहरू रक्षा बम, तनुजा पाण्डे र मोनिका लोहनीलाई उनीहरूका धारणा सोधेका छौँ।

भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो राजनीतिक उथलपुथल निम्त्यायो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरदलीय सरकार गठन भई निर्वाचन घोषणा भयो।

'सामाजिक समस्या'

जेनजी आन्दोलनमा सहभागीमध्ये एक रक्षा बम 'नेपो किड्स' र 'नेपो बेबिज' को विषय राजनीतिकभन्दा सामाजिक भएको बताउँछिन्।

"यो अन्ततः भ्रष्टाचारसँग जोडिन्छ। भ्रष्टाचार नियन्त्रणको विषय धेरै पार्टीका घोषणापत्रमा छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

"समग्रमा 'नेपो किड्स' भनेर घोषणापत्रमै राख्नुपर्ने मुद्दा नहुन पनि सक्छ। त्यो भएर नगरेका होलान्। लगभग सबैमा भ्रष्टाचार मुद्दा आएको जस्तो मलाई लाग्छ।"

जेनजी आन्दोलनमा सक्रिय देखिएकी अर्की युवा तनुजा पाण्डे नातावाद एवं कृपावादलाई समाजमा व्याप्त एउटा प्रवृत्तिको रूपमा औँल्याउँछिन्।

"हाम्रै घरपरिवारमा पनि सानोतिनो अवसर आउँदा पनि आफ्नै मान्छेलाई छिराउने प्रवृत्ति देखिन्छ," उनले भनिन्। यद्यपि देशको नेतृत्व गर्ने नेताहरू भने त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्ने पाण्डेको तर्क छ। "यो कागजी रूपमा लेख्नुभन्दा नैतिकताको कुरा हो।"

त्यसमा सहमत देखिएकी बमले भनिन्, "यो व्यावहारिक कुरा हो। व्यवहारमा देखाउने कुरा हो।"

राजनीतिज्ञ अथवा समाजका अन्य उच्चपदस्थ व्यक्तिका सन्तानले अवसर नै पाउनु हुँदैन भन्ने आफ्नो आशय नभएको नवयुवाहरू बताउँछन्।

"योग्य छन् भने प्रतिस्पर्धा गरेर जहिले पनि आउन पाउँछन्। तर अवाञ्छित लाभ लिन मिल्दैन भन्न खोजिएको हो," पाण्डेले थपिन्।

नातावाद, कृपावादको विषयलाई कुनै दलले नउठाएकोमा जेन जी आन्दोलनमा संलग्न मोनिका लोहनी असन्तुष्ट देखिन्छिन्।

"नातावादको विषय त कसैले पनि दलले उठाएको देखिएन। विशेष गरी चुनावको टिकट बाँडफाँट हेर्दा कुनै पनि पार्टीले त्यसलाई गम्भीर रूपमा लिए जस्तो देखिएन," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

'मर्मलाई समेटेनन्'

देशमा ठूलो उथलपुथल ल्याएको भए पनि नयाँ तथा पुराना कुनै पनि राजनीतिक दल जेन जी आन्दोलनको मर्मबमोजिम नचलेको नवयुवाहरूको गुनासो छ।

"चुनावी घोषणापत्रकै कुरा गर्दा कसैले पनि जेन जी आन्दोलनको मर्मलाई पूर्ण रूपमा समेटेको देखिँदैन," पाण्डेले भनिन्।

"सरकारसँग जेन जीहरूको एक किसिमको सहमति भइसकेको अवस्थामा त्यसलाई घोषणापत्रमा कसैले पनि राखेको देखिँदैन। यो खासै राम्रो थालनीजस्तो मलाई लाग्दैन।"

देशमा हाल विद्यमान समस्याबारे सही अर्थमा दलहरूले नसोच्दा पनि यो अवस्था देखिएको लोहनीको तर्क छ।

"दलहरूले सुन्न खोजे जस्तो देखिँदैन। 'सिंहदरबार जलाए', 'संसद्‌ भवन जलाए' भन्ने भाष्यभन्दा बाहिर निस्केर साँच्चिकै समस्या छ कि छैन भन्ने आत्मचिन्तन गर्नै सकेका छैनन्," उनले भनिन्।

"समाजको एउटा पाटोलाई नै विश्लेषण गर्न नसक्दा राजनीतिक कार्यदिशादेखि लिएर सबै कुरामा ठूलो खाडल देखिन्छ।" दलहरूले मुलुक यथास्थितिमै रहोस् भनी चाहेको जस्तो देखिएको पाण्डेको आरोप छ।

"एउटा शक्तिले भदौ २४ का घटनालाई लिएर पूरै आन्दोलनलाई बदनाम गरिरहेको छ भने अर्को शक्तिले २३ गतेको घटनालाई आफूअनुकूल व्याख्या गरिरहेका छन्," उनले भनिन्।

"आन्दोलनबाट आएका फाइदा पार्टीगत रूपमा लिएर बढ्ने तर मर्मलाई संस्थागत गरेर नलैजाने हुँदा सबै यथास्थितिवादमै रमाइरहेको जस्तो देखिन्छ।"

'ढिलोचाँडो गर्नैपर्छ'

जेन जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गराउन निरन्तर दबाव र खबरदारी आवश्यक रहेको लोहनी औँल्याउँछिन्।

"निरन्तरको संवाद र छलफल महत्त्वपूर्ण छ। तर सबैभन्दा ठूलो नागरिक खबरदारी हो," उनले भनिन्।

आन्दोलनपछि पनि राजनीतिक दलहरूको व्यवहार हेर्दा पाण्डे आफू त्यति आशावादी नभएको बताउँछिन्।

"दलहरूलाई परिवर्तनभन्दा सत्तापरिवर्तन चाहिएको छ। मलाई व्यक्तिगत रूपमा खासै अपेक्षा छैन," उनले भनिन।

तर दलहरूले जेन जी आन्दोलनले अगाडि सारेका मागहरू सम्बोधन गर्दै जानुको विकल्प नरेहको लोहनीको दाबी छ।

"हामीलाई शङ्का छ। तर एउटा कुरा के पनि थाहा छ भन्ने हाम्रो आवाज निरन्तर रहने छ," उनले अगाडि थपिन्।

"उहाँहरूले गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने खालको अवस्थामा हामी छैनौँ। ढिलो वा चाँडो गर्नैपर्छ। नगर्दा हेरेर बस्ने अवस्थामा पनि हामी छैनौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।