तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'जेन जी' र 'नेपो बेबिज' को हुन्, नेपालमा दुई दिनमै कसरी उथलपुथल भयो
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
भ्रष्टाचारविरुद्ध भन्दै जेन जी पुस्ताले थालेको सडक प्रदर्शनले दोस्रो दिन आन्दोलनको स्वरूप लिँदा नेपालमा अभूतपूर्व उथलपुथल भयो।
सोमवार पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा कैयौँ व्यक्तिको ज्यान गएपछि भोलिपल्ट आन्दोलन उत्कर्षमा पुग्यो। प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भए।
विजयोत्सव गर्दै सयौँ प्रदर्शनकारीहरू राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यस्थापिका र न्यापालिकाका कार्यालयहरूमा प्रवेश गरे। त्यहाँ अनपेक्षित रूपमा तोडफोड र आगजनीका घटनाहरू पनि भए। जेन जी आन्दोलनका संयोजकहरूले त्यस्ता घटनामा आफू संलग्न नभएको र घुसपैठ भएको दाबी गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार साँझ जनाएअनुसार प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको ज्यान गएको छ भने १,००० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।
शान्ति, सुव्यवस्था कायम गर्न भन्दै सैनिकहरू सडकमा निस्किएपछि र कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएपछि बुधवारबाट हिंसा र प्रदर्शन रोकिएका छन्। तर अब मुलुक कसरी अगाडि बढ्छ भन्ने अन्योल र अनिश्चितता झन् गहिरिँदै गएको छ।
पछिल्ला केही दिनयता नेपालमा दुईवटा शब्दावली निकै चर्चामा छन् : "जेन जी" र "नेपो बेबिज"। हामीले त्यसको पृष्ठभूमि र प्रयोगबारे यहाँ चर्चा गरेका छौँ।
केम्ब्रिज शब्दकोषका अनुसार सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई 'जेनरेशन जेड' अर्थात् 'जेन जी' भन्ने गरिएको छ।
सोही शब्दकोषका अनुसार 'नेपो बेबी' अथवा 'नेपटिजम बेबी' भनेका प्रसिद्ध व्यक्तिका छोराछोरी हुन् जो सोही कारण आफैँ सफल र प्रसिद्ध भएका हुन्। तर ख्यातिप्राप्त व्यक्तिका सन्तानले क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको भन्ने हिसाबले पछिल्ला वर्षहरूमा त्यसको प्रयोग हुने गरेको छ।
पृष्ठभूमि के हो
'नेपटिजम' ल्याटिन शब्द 'नेपज'बाट आएको हो जसको अर्थ 'नेफ्यू' अर्थात् 'भतिजभतिजी, भान्जाभान्जी' हुन्छ।
खास गरी क्याथलिक गिर्जाघरका पोप तथा बिशपहरूले विगतमा आफ्ना भतिजभतिजी, भान्जाभान्जी लगायतलाई गिर्जाघरमा नियुक्ति दिने गरेका सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको बताइन्छ।
प्रतिष्ठित 'न्यूयोर्क म्यागजीन'ले सन् २०२२ को अन्त्यतिर "द यिअर अफ द नेपो बेबी" शीर्षकको मूल समाचार लेखेपछि उक्त शब्द पछिल्लो समय झन् चर्चामा आएको विभिन्न विवरणमा उल्लेख छ।
गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै त्यसले व्यापक असन्तोष र आक्रोश निम्त्याएको छ।
धेरैले सोमवार 'जेन जी' पुस्ता सामाजिक सञ्जालबाट सडकसम्म देशका विभिन्न ठाउँमा प्रदर्शनमा निस्कनुको कारक तत्त्वका रूपमा सोही कदमलाई लिइरहेका छन्।
प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै 'जेन जी' पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिरहरू राखेर तिनीहरूको तुलनात्मक हैसियतबारे भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ।
आआफ्नै ठम्याइ
तर उनीहरूको प्रदर्शनलाई विभिन्न कोणले अर्थ्याइँदै छ। एक थरीले सो पुस्तामा देखिएको राजनीतिक चेत भनिरहेका छन् भने खास गरी सत्ताधारी दलहरूले प्रदर्शनको दुरुपयोग हुन सक्ने भन्दै सचेत गराएका छन्।
युवामाझ लोकप्रिय काठमाण्डूका मेअर बालेन शाहले सामाजिक सञ्जालमार्फत् प्रदर्शनप्रति समर्थन जनाएका छन् भने हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलबाटै ऐक्यबद्धता जनाएका विवरण आएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्डले "भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूको प्रदर्शन स्वाभाविक" भएको बताएका छन्।
तर प्रदर्शनको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनप्रति सङ्केत गर्दै 'जेन जी' पुस्तालाई दुरुपयोग गर्न सकिने सम्भावना औँल्याउँदै त्यसप्रति सचेत हुनुपर्ने बताएका थिए।
'ब्युँझाउने घण्टी'
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले 'जेन जी' पुस्ताको प्रदर्शनबारे मिश्रित प्रतिक्रिया दिएका छन्।
सत्तारूढ दुई ठूला दलका नेताले सडकबाटै सबै समस्याको हल नहुने प्रतिक्रिया दिएका छन् भने माओवादी केन्द्रका प्रवक्ताले प्रदर्शनलाई स्वाभाविक भनेका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जेन जी पुस्ताको प्रदर्शनले दलहरूका लागि घण्टी बजाएको प्रतिक्रिया दिए।
"यो हाम्रा लागि एउटा ब्युँझाउने घण्टी जस्तो देखेको छु। अहिलेको अवस्थामा युवाहरूले के सोचिरहेका छन्, मुलुक कता गइरहेको छ भन्नेबारे सबै दलहरू गम्भीर हुनुपर्ने आवश्यकता छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
तर अहिलेको आन्दोलन संयम र धैर्यका साथ अगाडि बढ्नुपर्नेमा साउदको जोड छ।
सो पुस्ताले उठाएको भ्रष्टाचार र नातावाद कृपावादको समस्यालाई उनले पनि नकारेनन्।
"नेपालको राजनीतिमा लामो समयदेखि एउटा महत्त्वपूर्ण मुद्दाका रूपमा यो रहँदै आको छ। तर त्यसको निराकरण कानुन, संविधानबमोजिम हुनुपर्छ, कानुनी प्रक्रिया पूरा गरेर हुनुपर्छ," उनले भने।
"त्यसकारण कानुनको अभाव वा कमीकमजोरी छन् भने त्यस्ता कानुन तत्काल बनाउनुपर्छ, तर सबै कुराको निर्णय सडकबाट गर्न सम्भव हुँदैन। सबै जिम्मेवार बन्न जरुरी छ।"
'सामान्यीकरण गर्न मिल्दैन'
एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली 'जेन जी' पुस्ताले अभिव्यक्ति स्वतन्त्रता खोज्नु र त्यसका लागि प्ल्याट्फर्म खोज्नुलाई अन्यथा नलिएको बताउँछन्।
"तर उहाँहरूले पनि के बुझ्न जरुरी हुन्छ भने हरेक मुलुकका आफ्ना कानुन हुन्छन् र त्यसको पालना गर्नु देशभित्रका नागरिकहरूको पनि कर्तव्य हो, त्यो देशमा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनी लगायतले सबै डिजिटल प्ल्याट्फर्महरूको पनि कर्तव्य हो," बीबीसीसँग उनले भने।
सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको कुरा युवा पुस्ताले बुझिदिन जरुरी रहेको ज्ञवालीको तर्क छ।
यद्यपि नातावाद/कृपावादलाई सामान्यीकरण गर्न नमिल्ने उनी बताउँछन्। निश्चित मुद्दा वा सन्दर्भ हेरेर मात्र त्यसबारे चर्चा गर्नुपर्ने ज्ञवाली तर्क गर्छन्।
"उनीहरू योग्य छन् भने मुलुकको कानुनअनुसार प्रतिस्पर्धा गरेर कुनै जिम्मेवारी लिने कुरालाई अन्यथा भन्न मिल्दैन। मुलुकको कानुनले नेताका सन्तान भएकै कारण योग्य भए पनि अवसरबाट वञ्चित हुनुपर्छ भन्दैन," उनले अगाडि थपे।
"उहाँहरूले भने जस्तै अनुचित संरक्षण गरेर या प्रोत्साहन गरेर गरिएको छ भने त्यसमा 'केसवाइज' छलफल गर्न सकिन्छ। यो केसमा अमुक नेता, परिवार, सन्तानले लाभ उठायो भन्न सकिन्छ। तर आम रूपमा त्यस्तो भन्ने स्थिति छ जस्तो मलाई लाग्दैन।"
नेताका छोराछोरी आफन्तले कुनै अनुचित लाभ लिएको पाउँदा कानुनअनुसार दण्डित भएका पनि उनी बताउँछन्।
सुन तस्करीदेखि सहकारी ठगीलगायतका काण्डमा नेताका आफन्त भएकै कारण कसैले पनि उन्मुक्ति नपाएको ज्ञवालीले दाबी गरे।
विपक्षीको फरक मत
प्रमुख प्रतिपक्षी माओओवादी केन्द्रको भने उनीहरूभन्दा केही फरक मत छ।
सो पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सरकारले बेठिक निर्णय गरेको र त्यसैविरुद्ध विरोध भएको प्रतिक्रिया दिए।
"यसमा सरकारले पुनर्विचार गर्नुपर्छ होइन भने युवा मात्रै होइन सबै सडकमा आउँछन्," उनले चेतावनी दिए।
नातावाद/कृपावादको हकमा त्यो भएको ठाउँमा सम्बन्धित पक्षले स्वीकार्नुपर्ने सापकोटाको तर्क छ। "त्यसलाई सम्बोधन गर्नुपर्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।