तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रभावशाली र चर्चित नेता हारेका विगतका यी चुनाव
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ७ मिनेट
भावी प्रधानमन्त्रीका आकाङ्क्षीमध्येका दुई जना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह 'बालेन' एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम आउँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओली र बालेनमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ। चार पटक प्रधानमन्त्री बनिसकेका ओली नेकपा एमालेका अध्यक्ष हुन् भने बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता हुन्।
नेपालका इतिहासमा राजनीतिक दल वा सरकारको उच्च पदमा रहेका व्यक्ति पराजित भएका कैयौँ चुनाव छन्। बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।
गणेशमानसँग पुष्पलाल हारेको चुनाव
नेपालको इतिहासमा भएको पहिलो संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक योद्धाका रूपमा चिनिएका गणेशमान सिंह एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने।
विसं २०१५ सालको आमनिर्वाचनमा तत्कालीन काठमाण्डू क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका दुई नेतामध्ये कम्युनिस्ट पार्टीका संस्थापक श्रेष्ठ सिंहसँग पराजित भए।
गणेशमानले ३,००० जति मतान्तरले पुष्पलाललाई पराजित गरेका थिए।
त्यसबेला तत्कालीन नेकपामा केशरजङ्ग रायमाझी नेतृत्वमा थिए। पाल्पाबाट चुनाव लडेका पार्टी महासचिव रायमाझी पनि पराजित भएको पत्रकार तथा उपप्राध्यापक जगत् नेपालले आफ्नो पुस्तक 'पहिलो संसद् : बीपी-महेन्द्र टकराव'मा उल्लेख गरेका छन्।
"त्यो चुनावमा पूर्वप्रधानमन्त्रीहरू केआई सिंह र टंकप्रसाद आचार्य पनि पराजित भए। कांग्रेसले दुईतिहाइ ल्याउँदा बीपी, सुवर्ण शमशेर र गणेशमानपछिका प्रतिष्ठित नेता सूर्यप्रसाद उपाध्याय पनि दुवै क्षेत्रबाट पराजित भए," नेपाल भन्छन्।
"त्यस बेला नौ वटा पार्टी थिए, बिपीबाहेक सबै पार्टीका प्रमुख हारे।"
आमनिर्वाचनको अघिल्लो वर्ष २०१४ जेठमा काठमाण्डूमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट केशरजङ्ग रायमाझी नेतृत्वमा आएका थिए। तर नेकपाले संस्थापक श्रेष्ठको संविधानसभा र गणतन्त्रको नारासहितको राजनीतिक दस्ताबेज पारित भएको थियो।
विसं २०१७ पुस १ गतेको राजा महेन्द्रको कदमलाई रायमाझीले 'प्रगतिशील कदम' भनेर स्वागत गरेपछि नेकपामा विभाजन समेत भएको थियो।
मदन र विद्यासँग 'किसुनजी'को पराजय
तत्कालीन राजा महेन्द्रले बहुदलीय संविधान नै परिवर्तन गरेपछि पञ्चायत कालभरि देशमा बहुदलीय प्रतिस्पर्धाको चुनाव भएन। तर २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा बद्रीप्रसाद मण्डलले २००७ सालको आन्दोलनपछि पहिलो प्रधानमन्त्री बनेका चर्चित नेता मातृकाप्रसाद कोइरालालाई पराजित गरेका थिए।
विसं २०४७ सालमा बहुदलीय व्यवस्थासहितको संविधान बनेपछि २०४८ सालमा भएको निर्वाचनमा पनि तत्कालीन प्रधानमन्त्री पराजित भए।
संयोग के थियो भने २०१५ जस्तै यो निर्वाचनमा पनि काठमाण्डू क्षेत्र नम्बर १ मा कांग्रेस र कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा भयो। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका संस्थापक नेता तथा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र नेकपा एमालेका लोकप्रिय महासचिव मदन भण्डारी एउटै क्षेत्रबाट उम्मेदवारी दिए।
तीव्र प्रतिस्पर्धात्मक उक्त निर्वाचनमा १,००० भन्दा कम मतान्तरले भण्डारी निर्वाचित भएका थिए। त्यसको दुई वर्षपछि चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा मदन भण्डारीको मृत्यु भएपछि काठमाण्डू १ मा उपनिर्वाचन भयो।
नेपाली कांग्रेसको २०४८ फागुनमा झापामा भएको महाधिवेशनबाट भट्टराई पार्टी सभापति चुनिए। पार्टी पङ्क्तिमा 'किसुनजी' भनेर बोलाइने भट्टराईका लागि त्यो उपनिर्वाचन पनि अनुकूल बनेन। यो पटक मदन पत्नी विद्या भण्डारीसँग भट्टराई पराजित भए।
त्यो निर्वाचनमा भट्टराईको पराजय हुनुमा पनि उनको पार्टीभित्र गिरिजाप्रसाद कोइरालासँग देखिएको शक्तिसङ्घर्ष एउटा कारण रहेको लेखक नेपाल बताउँछन्।
"किसुनजीका प्रचारकहरूले गिरिजाबाबुलाई संसदीय दलको नेताबाट हटाउने भनेर आक्रामक प्रचार गरेको भएर त्यो बेला गिरिजाबाबुको पक्षले किसुनजीलाई चुनावमा हराएको भन्ने आरोप नै लाग्यो," उनी भन्छन्।
"तर २०४८ सालको चुनावमा चाहिँ पार्टीभित्रको समस्या होइन।"
माधव नेपालको दोहोरो पराजय
सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका निभाएका माधवकुमार नेपाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निकै चर्चामा थिए। एमालेको नेतृत्व गरिरहेका नेपालका लागि त्यो निर्वाचन भने भारी पर्यो। नेपालले उम्मेदवारी दिएका काठमाण्डू २ र रौतहट १ दुवै ठाउँबाट उनी पराजित भए। नेपाललाई दुवै ठाउँबाट राजनीतिमा चर्चामा नभएका उम्मेदवारले पराजित गरेका थिए।
काठमाण्डूमा नेपाललाई माओवादीका झक्कु सुवेदीले र रौतहटमा स्वतन्त्र उम्मेदवार बबन सिंहले पराजित गरे।
निर्वाचनमा पराजित भए पनि नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मनोनीत गर्ने कोटाबाट संविधानसभाको सदस्य बनाएको थियो। सरकारको सिफारिसबाट संविधानसभामा प्रवेश गरेको एक वर्षभन्दा कम समयमै नेपाल प्रधानमन्त्रीसमेत बने।
चर्चित नेताहरू पराजित भएको चुनाव
विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विद्रोहबाट शान्ति प्रक्रियामा आएर पहिलो पटक संसदीय चुनावमा भाग लिएको माओवादीले प्रत्यक्षतर्फ आधा सीटहरूमा जित हासिल गरेको थियो। माओवादीका नेताहरूसँग त्यो चुनावमा पूर्वप्रधानमन्त्री तथा तात्कालिक जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणालगायत कैयौँ दलका प्रमुख पराजित बनेका थिए।
उक्त चुनावमा एमालेमा तत्कालीन समयमा कुनै पदीय जिम्मेवारीमा नभए पनि प्रभावशाली नेता मानिने केपी ओली पनि पराजित भए। उनलाई माओवादीका कुमार लिङ्देनले झापामा पराजित गरेका थिए। झापामै तत्कालीन गृहमन्त्री कृष्ण सिटौला माओवादीका पूर्णप्रसाद राजवंशीसँग पराजित भएका थिए।
यो निर्वाचनमा कांग्रेसका उपसभापति रहेका सुशील कोइराला पनि बाँकेबाट पराजित भएका थिए। गृहजिल्ला बाँके ३ मा उम्मेदवार रहेका कोइराला मधेशी जनअधिकार फोरम र माओवादीका उम्मेदवारभन्दा पनि पछि परेका थिए।
विसं २०६४को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा आफ्नै गृहजिल्ला धनकुटामा चौथो भएका थिए। लामो समय थापाले चुनाव जितिरहेको धनकुटामा त्यो चुनावमा माओवादीका हेमराज भण्डारी निर्वाचित भए। यो निर्वाचनमा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा पनि सिन्धुपाल्चोकमा दावा शेर्पासँग पराजित भए। लामो समयदेखि प्रतिस्पर्धा गर्दै आएको ठाउँमा राणा पराजित भएका थिए।
मधेश आन्दोलनबाट तराई मधेश क्षेत्रमा उदाएका प्रमुख दुई दलमध्ये तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि २०६४ को निर्वाचनमा सर्लाही ४ बाट पराजित भए। उनलाई मधेश आन्दोलनबाटै उदाएको अर्को दल मधेशी जनाधिकार फोरमका शिवपूजन यादवले पराजित गरेका थिए। ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा पनि त्यही क्षेत्रबाट कांग्रेसका अमेशकुमार सिंहसँग पराजित भएका थिए।
विसं २०५१ सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा रहेकी विद्या भण्डारी पनि २०६४को पहिलो संविधानसभा निर्वाचनमा पराजित भइन्। पछि नेपालकी पहिलो महिला राष्ट्रपति बनेकी भण्डारी उक्त निर्वाचनमा काठमाण्डू क्षेत्र नम्बर ४ मा कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएकी थिइन्।
उपप्राध्यापक नेपाल ठूला नेताहरू हार्दा संसद् कमजोर हुने बताउँछन्।
"ठूला नेता हार्दा पार्टीहरूले सुरक्षित महसुस नगर्दा रहेछन्। त्यसकारण संसद् चाहिँ कमजोर हुने रहेछ," नेपाल भन्छन्।
निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ द्वन्द्वपछि भएको चुनावमा दलहरूका लागि आएको अप्रत्याशित नतिजाबाट दलहरूले कैयौँ प्रश्न पठाए पनि विधि र प्रक्रियाबाट चुनाव भएका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वीकार्यता पाएको बताउँछन्।
"तत्कालीन प्रधानमन्त्रीजीले चुनावपछि संविधानसभामा धन्यवाद दिँदा निर्वाचन आयोगको नाम भनिएन," गुरुङ भन्छन्।
प्रचण्ड र रामचन्द्र पौडेलको पराजय
थपिएको कार्यकालमा पनि नयाँ संविधान बनाउन नसकी पहिलो संविधानसभा विघटन भएपछि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो।
पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीलाई मतदाताले दोस्रो संविधानसभामा तेस्रो स्थान दिए। पहिलोमा दुई स्थानबाट निर्वाचित भएर रोल्पाको निर्वाचन क्षेत्र छोडेका प्रचण्ड २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि दुई ठाउँबाट उम्मेदवार बनेका थिए।
तर प्रचण्ड काडमाण्डूमा पराजित भए। सिराहा ५ बाट झिनो मतान्तरले निर्वाचित भएका कारण उनी संविधानसभामा आउने बाटो भने रोकिएन।
प्रचण्डलाई पनि काठमाण्डूमा खासै चर्चा नभएका उम्मेदवारले पराजित गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा १० हजारभन्दा धेरै मतान्तरले निर्वाचित भएका प्रचण्डलाई राजेन्द्रकुमार केसीले दोस्रो संविधानसभामा पराजित गरे। यो निर्वाचनमा दाहाल काठमाण्डूमा तेस्रो भए।
त्यो निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दुई ठाउँबाट उम्मेदवारी दिएका थिए। तर सर्लाहीमा खनाल पराजित भए। इलामबाट निर्वाचित भएका खनालको संविधानसभा यात्रा भने रोकिएन।
विसं २०७९को अघिल्लो संसदीय निर्वाचनमा भने खनाल इलामबाट पनि पराजित भएका थिए।
विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचन नेपाली कांग्रेसका तात्कालिक उपसभापति रामचन्द्र पौडेलका लागि पनि महँगो पर्यो। हालका राष्ट्रपति पौडेल उक्त निर्वाचनमा तनहुँ १ बाट पराजित भएका थिए।
अघिल्लो निर्वाचनमा दुईतिहाइ बहुमतनजिक मत पाएको माओवादी तेस्रो दल बनेपछि मतगणना बीचमै छाडेर माओवादी नेताहरूले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेका थिए।
"माओवादी केन्द्र जताततै पछि पर्दै गएपछि माओवादी केन्द्रले बहिस्कार नै गर्यो," गुरुङ सम्झन्छन्।
"कार्टर सेन्टरदेखि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि निष्पक्ष भयो भनिसकेका कारण उहाँहरूको धाँधली भयो भन्ने आवाज बिस्तारै कम हुँदै गयो," गुरुङ भन्छन्।
नयाँ संविधान बनेपछि उम्मेदवारहरूलाई दुई स्थानबाट प्रतिस्पर्धा गर्न रोक लगाउने कानुन बन्यो। त्यसपछिको निर्वाचनमा राप्रपा अध्यक्ष रहेका कमल थापा पराजित भए। हिन्दु राष्ट्र र राजतन्त्रको व्यवस्था नयाँ संविधानमा राख्न माग गरेर चर्चामा रहेका थापा विसं २०७४ सालको संसदीय निर्वाचनमा थापा मकवानपुर १ मा पराजित भए।
दुई पार्टी अध्यक्षको प्रतिस्पर्धा भएको अघिल्लो चुनाव
विसं २०७९ सालमा भएको अघिल्लो निर्वाचन मधेशकेन्द्रित राजनीतिबाट उदाएका दुई वटा पार्टीका अध्यक्षको प्रतिस्पर्धाका कारण रोचक बन्यो।
हाल जसपा नेपालका अध्यक्ष रहेका उपेन्द्र यादव र पहिलो पटक संसदीय चुनावमा भाग लिएको जनमत पार्टीका अध्यक्ष सीके राउत दुवैले सप्तरी २ बाट उम्मेदवारी दिए। यो चुनाव यादवका लागि महँगो पर्यो। राउतसँग संसदीय निर्वाचनमा पराजित भएका यादव पछि बारा २ मा भएको उपनिर्वाचनबाट संसद्मा चुनिएर आए।
अहिलेको निर्वाचनमा पनि कैयौँ स्थानमा दलका प्रभावशाली नेताबीच प्रतिष्ठाको लडाइँ देखिएको भन्दै गुरुङ चुनावी प्रक्रिया अधिकतम पारदर्शी बनाए मात्रै परिणाम विश्वसनीय र स्वीकार्य हुने बताउँछन्।
"निर्वाचन आयोगले ती क्षेत्रमा बढी से बढी ध्यान दिएर सुरु चरणदेखि मतपरिणाम नआउँदासम्म चुनावी प्रक्रिया उच्च पारदर्शी र कानुनसम्मत बनाउँदै जानुपर्छ। त्यसो हुँदा मतपरिणाममा तत्काल स्वीकार्यता नभए पनि फरक पर्दैन भन्ने ७० सालको अनुभव छ," गुरुङ भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।