'थाकेकी हुँ, हारेकी छैन': शल्यक्रिया गर्न चन्दा सङ्कलन गर्दै साम्बा, के भन्छ एन्फा

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

नेपालको महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा' ले आफ्नो खुट्टामा लागेको चोटको उपचारार्थ आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेकी छन्।

उपचारको लागि ८०,००० हजार अमेरिकी डलर (झन्डै १ करोड १५ लाख नेपाली रुपैयाँ) खर्च लाग्ने तर त्यो जुटाउन आफू असमर्थ भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा क्यूआर राखेर सहयोगका लागि आह्वान गरेकी हुन्। उनले विदेशमा र नेपालमा भएका दाताहरूलाई लक्षित गरी छुट्टाछुट्टै खाता उपलब्ध गराएकी छन्।

चन्दा सङ्कलन गर्ने वेवसाइट 'givealittle.co.nz'मा खोलिएको खातामा मङ्गलवार दिउँसो २ः५५ बजेसम्म १,२०० जति दाताबाट ५१,००० न्यूजील्यान्ड डलर (४४ लाख नेपाली रुपैयाँ)भन्दा बढी रकम सङ्कलन भइसकेको देखिन्छ। उक्त मञ्चमा १.३५ लाख न्यूजील्यान्ड डलर सङ्कलन गर्ने उनको लक्ष्य छ।

उनलाई विभिन्न राजनीतिक पार्टी, हस्पिटल, कलाकार, व्यापारी र खेल क्षेत्रबाट सहयोगको प्रतिबद्धता आएको छ।

'गोल मशीन' उपनाम पाएकी साम्बालाई दक्षिण एशियाकै उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिन्छ। उनले राष्ट्रिय टोलीबाट खेल्दै सर्वाधिक ५९ गोल गरिसकेकी छन्।

चन्दा किन

साम्बाका अनुसार अखिल नेपाल फुटबल सङ्घले उपचारका लागि पाँच लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने बताएको र आफू आबद्ध व्यावसायिक क्लबको बीमाबाट प्राप्त हुन आउने रकमले उपचारको लागि आवश्यक खर्च नउठ्ने भएपछि सहयोगका लागि सार्वजनिक आह्वान गर्नुपरेको हो।

फेसबुकमा राखेको एउटा भावुक स्ट्याटसमा उनले आफू राष्ट्रिय जर्सी लगाएर फेरि खेल्न इच्छुक रहेको उल्लेख गर्दै भनेकी छन्, "म थाकेको हुँ, हारेकी छैन। पुनः एक पटक नेपालको जर्सी लगाएर मैदान फर्कने छु।"

साम्बालाई कस्तो चोट लागेको छ

साम्बा न्यूजील्यान्डको क्लब वेलिङ्टन फीनिक्सबाट अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्दै आएकी छन्।

गत पुसको तेस्रो साता निन्जा 'ए' लीग खेल्ने क्रममा विपक्षी ब्रिस्बेन रोअरसँगको राउन्ड ११ को खेलमा उनी घाइते भएकी थिइन्।

विपक्षी टोलीकी गोलरक्षक क्लोइ लिङ्कनसँग ठोक्किन पुग्दा उनको दायाँ घुँडाको मांसपेशी च्यातिन पुगेको क्लबले जनाएको थियो।

उनी घाइते भएपछि वेलिङ्टन फीनिक्सले साम्बा जारी सीजनमा अन्य खेलमा सहभागी नहुने पुष्टि गरेको थियो।

विसं २०७८ साल मा एन्फा विमिन्स लीग खेल्ने क्रममा पहिलो पटक उनको दायाँ घुँडाको मांसपेशी च्यातिएको थियो। अहिले त्यही ठाउँमा चोट बल्झिएको हो।

साम्बाले लेखेकी छन्, "मेरो घुँडाको 'एसीएल'मा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ।"

एन्फाले उनको सम्पूर्ण खर्च बेहोर्दै कतारको एस्पेतार अर्थोपेडिक एन्ड स्पोर्ट्स मेडिसिन हस्पिटलमा उपचार गराएको थियो। त्यति बेला एन्फाको नेतृत्वमा कर्मा छिरिङ शेर्पा थिए।

साम्बाले अहिले पनि कतारको सोही हस्पिटलमा शल्यक्रिया गराउन चाहेको बताएकी छन्। उक्त हस्पिटल खेलाडीहरूका लागि विश्वकै राम्रोमध्ये एक मानिन्छ।

एन्फासँग साम्बाको गुनासो

साम्बाले आफ्नो उपचारमा एन्फाले सहयोग नगरेको स्पष्ट शब्दमा लेखेकी छन्। तर एन्फाले सामाजिक सञ्जालमा आएको उनको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको प्रतिक्रिया दिएको छ।

" मैले पटकपटक प्रयास गर्दा पनि उहाँहरू ( एन्फा पदाधिकारीहरू) लाई सम्पर्क गर्न कठिन भयो। अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। उहाँले नगद ५ लाख [रुपैयाँ] सम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो," साम्बाले लेखेकी छन्।

"आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन समर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैँ निराश भएकी छु।"

के भन्छ एन्फा

एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा साम्बाको उपचारको प्रयास र पहल भइरहेको दाबी गरिएको छ।

उनलाई "नेपाली फुटबलको गौरव" भन्दै शाहले अस्ट्रेलियन ए लीगमा फुटबल खेल्ने क्रममा साम्बाको "घुँडामा चोट लागेको विषयमा एन्फा जानकार छ" भनेका छन्।

एन्फाले साम्बाको उपचारको लागि कतार फुटबल सङ्घसँग औपचारिक पत्राचार गरिसकेको र उनकै अनुरोधमा परराष्ट्र मन्त्रालयमार्फत् उपचारसम्बन्धी आवश्यक समन्वयको लागि पत्राचार गरिसकिएको विज्ञप्तिमा उल्लेख छ।

"व्यावसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेकोले एन्फाले साम्बाको सम्बन्धित क्लबसँग पत्राचार गरी उनको उपचारको बारेमा भएका सम्झौताबारे अध्ययन र छलफल गरी उपचारमा कुनै कमी नआउने गरी हरसम्भव प्रयास तथा पहल गरिने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।