'चार मतदाताका लागि २० कर्मचारी': दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

चुनाव आउन जम्मा नौ दिन बाँकी रहँदा मुस्ताङ जिल्लाको एउटा मतदान केन्द्रमा मतदान गर्न सक्ने गरी अहिलेसम्म उक्त गाउँमा चार जना मात्रै मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

उक्त केन्द्रसम्म सबै निर्वाचन सामग्री र मतपत्र पुर्‍याउन साथै निर्वाचन अधिकृत, सुरक्षाकर्मी गरेर २० भन्दा बढी जनशक्ति आवश्यक पर्ने आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बीबीसीलाई बताएका छन्।

"त्यो मतदान केन्द्र सारौँ भन्दा पनि सहमति भएन। तर त्यहाँ बस्ने चार मतदाताका लागि पनि हामीले बाकस लगेर मतदान गराउनुपर्ने छ," न्यौपानेले भने। "आठनौ जना हामी आफैँ खटाउँछौँ। नेपाल प्रहरीले सातआठ जना खटाउँछ। सशस्त्र प्रहरीले तीनचार जना खटाउँछ र नेपाली सेनाले पनि आठदश जना खटाउँछ। यसो गर्दा कम्तीमा २०/२२ जना जनशक्ति त्यहाँका लागि जान्छ।"

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पर्ने साङ्ग्ता भन्ने गाउँमा रहेको हिमाली आधारभूत विद्यालयमा उक्त मतदान केन्द्र रहेको मुस्ताङका जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए।

किन चार जना मात्रै मतदाता?

उक्त गाउँका ३९ मतदातामध्ये ३५ जना पोखरा, काठमाण्डू वा जोमसोममा रहेको उनले बताए।

जोमसोमबाट कागबेनी नपुग्दै डोल्पा जाने उकालो बाटो हुँदै मतदान केन्द्रमा पुग्नुपर्ने र त्यहाँको बाटो हिउँले ढाकेको अवस्था रहेको उनले बताए।

हिउँ पन्छाइसकेर गाडी जाने अवस्था हुँदा मात्रै सुगम क्षेत्रमा रहेका मतदाताहरू गाउँ फर्किने र मतदान गर्ने अवस्था बन्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताएका हुन्।

"थप हिमपात भएन भने त्यहाँ पुग्ने मतदाताको सङ्ख्या बढ्छ। हामी अहिले त्यसकै लागि पहल गरेर हिउँ हटाउने काम गर्दै छौँ," उनले भने।

"डोजरले हिउँ पन्छाए पनि थप हिमपात भएको अवस्थामा चाहिँ गाउँबाट सुगममा पुगेका मतदाता मतदान केन्द्रसम्म फर्किन सक्ने अवस्था रहँदैन।"

उनका अनुसार करिब १२ किलोमिटर पहाडी बाटोमा हिउँ पन्छाउनुपर्ने अवस्था रहेको छ।

मुस्ताङमा स्थायी ३९ र एक अस्थायी गरी ४० वटा मतदान केन्द्र रहेका छन्।

मुस्ताङ र मनाङका निर्वाचन कार्यालयहरूमा निर्वाचन सामग्री पुगिसकेको भए पनि मतपत्र भने मङ्गलवार पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ।

सामग्री ढुवानीको अवस्था के छ?

निर्वाचन आयोगले देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयहरूमा अन्य निर्वाचन सामग्री पुगिसकेको र मतपत्र पुर्‍याउने क्रममा रहेको जनाएको छ।

सोमवार मधेश प्रदेशमा मतपत्र पठाइएको र मङ्गलवार बागमती प्रदेशमा पठाइने आयोगले जनाएको छ। कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा भने यसअघि नै मतपत्र पुगिसकेको आयोगको भनाइ छ।

देशभरिका ७७ जिल्लामध्ये ७२ जिल्लामा ट्रक वा कन्टेनरबाट निर्वाचन सामग्री र मतपत्र जिल्ला निर्वाचन कार्यालयसम्म पुर्‍याइएको भए पनि बाँकी पाँचवटा हिमाली जिल्लाहरूमा भने हेलिकप्टरमार्फत् पुर्‍याउन लागिएको आयोगले जनाएको छ।

ती पाँच जिल्लामा डोल्पा, हुम्ला, मुगु, मुस्ताङ र मनाङ रहेका छन्।

डोल्पा, हुम्ला र मुगुका निर्वाचन कार्यालयहरूमा यसअघि नै सबै निर्वाचन सामाग्री र मतपत्र पुगिसकेको भए पनि मङ्गलवारसम्म मनाङ र मुस्ताङका निर्वाचन कार्यालयमा पुगिसक्ने सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताएका छन्।

कतिपय हिमाली जिल्लाहरूमा कति मतदान केन्द्र हुने भन्ने अझै तय हुन बाँकी रहेको उनले बताए।

"अहिलेसम्म डोल्पाको २३ ठाउँमा पुग्नुपर्छ भन्नुभएको छ। हुम्लाको आठ ठाउँमा पुग्नुपर्छ भन्नुभएको छ। अब हिँउ नपरेको अवस्था भयो भने यी ठाउँ घट्न सक्छ्न। हिउँ परिहाल्यो भने यी ठाउँ अझै बढ्न सक्छ्न," उनले भने।

निर्वाचन कार्यालयहरूबाट मतदान केन्द्रसम्म निर्वाचन सामाग्री र मतपत्र पुर्‍याउनका लागि बुधवारबाट पठाउन थालिने आयोगका सहायक प्रवक्ता न्यौपानेले बताए।

त्यसका लागि अवस्था हेरेर हेलिकप्टर वा पैदलै वा खच्चडको प्रयोग पनि गर्नुपर्ने अवस्था आउन सक्ने आयोगले जनाएको छ।

"हेलिकप्टरबाट पनि पुर्‍याउन सम्भव नहुने ठाउँमा खच्चडहरूको प्रयोग गरेर पनि मतपत्र पठाउन सक्ने अवस्था हुन सक्छ। जिल्ला निर्वाचन कार्यालयले अवस्था हेरेर व्यवस्थापन गर्छ," हुम्ला, मुगु र डोल्पाको भ्रमण गरेर फर्किएका सहायक प्रवक्ता न्यौपानेले भने।

जिल्ला निर्वाचन कार्यालयमा रहेका निर्वाचन सामग्री र मतपत्रहरू अब मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको तालिम सकिएपछि मतदान स्थलहरूमा पठाउन सुरु गरिने आयोगले जनाएको छ।

"मतपत्र मङ्गलवारसम्ममा सबै ठाउँमा पुगिसक्छ। त्यसपछि १३ गतेबाट मतपत्र र निर्वाचन सामग्री मतदानस्थलहरूमा पठाउन थालिन्छ," उनले भने।

"कुनै ठाउँमा भौगोलिक कारणले धेरै दिन लाग्छ भने काठमाण्डूजस्तो ठाउँमा धेरै दिन लाग्दैन।"

टाढाका मतदातालाई कस्तो व्यवस्था गरिएको छ?

देशका विभिन्न ठाउँबाट मतदान केन्द्र टाढा रहेको र पायक नभएको भन्दै मतदान केन्द्र सार्न सिफारिस आएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले कुनै पनि मतदान केन्द्र सार्नका लागि आधार, कारण र औचित्य देखिए मात्रै त्यसअनुसार निर्णय गर्ने गरिएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता न्यौपानेका अनुसार यसपालि करिब ७० देखि ८० वटा नयाँ मतदान केन्द्र थप भएका छन्।

"पहाडी क्षेत्रहरूमा अनि जहाँ धेरै जनसङ्ख्या छ र धेरै दुर्गम भएको क्षेत्र हेरेर मतदान केन्द्र थप गरिएको छ," सहायक प्रवक्ता न्यौपानेले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।