धार्मिक राजनीतिको चक्रव्युहमा तराई मधेश फस्न सक्ने चिन्ता, कस्तो छ त्यहाँको परिदृश्य

    • Author, फणीन्द्र दाहाल र माधुरी महतो
  • पढ्ने समय: १४ मिनेट

घरघरमा गेरु रङ्गको झण्डा, केहीमा हनुमान्‌को तस्बिर। हिन्दू समुदायको बाहुल्य रहेको ग्रामीण बस्तीको बीचमा एउटा मस्जिद। त्यहाँबाट करिब १०० मिटर पर रामजानकीको मन्दिर।

पाँच दशकदेखि धनुषाको सखुवामडानमा बस्दै आएकी सबिला खातुन छठ र ईद दुवैमा उत्सवजस्तो माहोल देखिने आफ्नो गाउँको पछिल्लो अवस्था सम्झिएर हिजोआज राम्रोसँग निदाउन सकेकी छैनन्।

दुई मुस्लिम किशोरहरूले हिन्दूलक्षित अपशब्द प्रयोग भएको 'पोस्ट' टिकटकमा राखेपछि सुरु भएको साम्प्रदायिक तनावमाझ उनको घरअगाडि रहेको मस्जिदमा गएको महिना आगजनी र तोडफोड गरिएको थियो।

त्यस घटनामा मुस्लिम समुदायको पवित्र धर्मग्रन्थ कुरानसहित कतिपय महत्त्वपूर्ण ग्रन्थहरू जलेपछि तराईका विभिन्न जिल्लाहरूमा विरोधप्रदर्शनहरू भएका थिए।

'कहिल्यै नसोचेको घटना'

पुस १९ गते दिउँसो ७५ वर्षीया समिला खाना खाएर आफ्नो घरमै बसिरहेकी थिइन्। बाहिर हल्ला गर्दै ठूलो भीड जम्मा भयो। नारा लगाउँदै केही मानिसहरू मस्जिदभित्र छिरेर उपद्रव मच्चाएको समिला बताउँछिन्।

उनले भनिन्, "बरु मलाई मारिदेऊ, तर मस्जिदमा केही नगर भन्दा कसैले सुनेनन्। बिहे गरेर आएदेखि मैले कहिल्यै पनि यस्तो खालको दुश्मनी देखेको थिइनँ। यो सब देखेर मलाई केही खानै मन लागेन। पाँच दिनसम्म लगभग भौकै बसेँ। अझै पनि मेरो मन दुखिरहेको छ।"

उक्त घटना भएको झन्डै डेढ सातापछि सखुवामडानमा रहेको एक धार्मिक विद्यालय, मदरसा मोहमदीया अलसफिया पुग्दा भाँच्चिएका केही कुर्सी, जलेका धार्मिक ग्रन्थका अवशेष र असरल्ल अवस्थामा छरिएको धान देख्न सकिन्थ्यो। भत्केको एउटा नीलो टिनको ढोका मस्जिदबाहिर ठड्याएर राखिएको अवस्थामा थियो।

आफ्नो ब्ल्यान्केट जलाइएको र फोन हराएको भारत मधुवनी घर भएका मस्जिदका मौलाना अब्दुल अजिमले सुनाइरहेका थिए।

उनी भन्छन्, "जब त्यो घटना भयो मस्जिदमा कोही पनि थिएन। म खाना खाएर बाहिर दोकान छेउमा बसिरहेको थिएँ। यति धेरै मानिसहरू आएका थिए र उनीहरूले ढुङ्गा हानिरहेका थिए, मैले केही गर्न सक्ने अवस्था थिएन। यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ।"

सो घटना भएको करिब एक हप्तासम्म उक्त मस्जिदमा प्रार्थना बन्द भएको थियो। परिवारले सुरक्षाका कुरा उठाएपछि मौलाना अजिम आफ्नो मधुवनीस्थित घर फर्किएका थिए।

के कारबाही भयो?

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा दायर गरेको अभियोगपत्रमा अन्दाजी ९० जना मानिसहरू मस्जिदमा पुगेर तोडफोड गरेको जनाइएको छ।

उक्त समूहले बिजुलीको मिटर, पङ्खा, तोडफोड गरेको र दानपात्रमा रहेको आन्दाजी ५ लाख रुपियाँ लुटपाट गरेको आरोप लगाइएको छ।

उक्त घटनामा स्थानीय तेलीयानी टोलका नौजना प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत धर्मसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइएको छ जसमा माघको पहिलो साता जिल्ला अदालत धनुषाले १५ हजार रुपियाँ धरौटी लिएर सबैलाई रिहा गरेको छ।

मुलुकी अपराध संहिताको धारा १५५ मा धार्मिक स्थानलाई क्षति पुर्‍याउन वा पुर्‍याउन लगाउने व्यक्तिहरूलाई ३ वर्षदेखि ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

स्थानीयवासी तथा पूर्वगाउँ विकास समिति अध्यक्ष सोभित महतो हिन्दू समुदायलाई लक्ष्यित गरी टिकटकमा राखिएको भिडियोबाट सरु भएको विवाद आरोपितहरूलाई पक्राउ गर्ने तयारी हुँदै गर्दा आगजनी र तोडफोडको अवस्थामा पुगेको बताउँछन्।

उनले भने, "केही मानिसहरूले उक्साएर एउटा समूहलाई यहाँ पठाइदियो। आगो लागिसकेपछि मात्रै हामीलाई थाहा भयो। विद्वेष बढाउनेविरूद्ध कारबाही भएन भने अहिले शान्त हुन्छ, तर फेरि यस्तै विवाद र घटना हुन जान्छ।"

'हिन्दू महिलाहरूलाई अपशब्द प्रयोग गरी टिकटकमा भिडिओ राखेको' आरोपमा १९ वर्षका दुईजना मुस्लिम युवकहरूलाई पनि मुद्दा चलाइएको छ।

हाल धरौटीमा रिहा भएका उनीहरूमाथि लेखेर र बोलेर धार्मिक भावनामा आघात पुर्‍याउने गतिविधि गरेको अभियोगमा मुलुकी अपराध संहिताको धारा १५६ अनुसार कारबाहीको माग गरिएको छ।

उक्त व्यवस्था अनुसार दोषी ठहर भएमा अधिकतम दुई वर्ष जेल सजाय र २० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ।

त्यसरी सामाजिक सञ्जालमा 'पोस्ट' राख्ने आरोपितहरू हाल १५ हजार धरौटी बुझाएर रिहा भएका छन्।

दबाब र आरोपप्रत्यारोप

स्थानीय मुस्लिम युवा इसराफील अन्सारी गाउँमा सद्भावको वातावरण बन्न नसकेको भन्दै मुद्दा फिर्ता लिन दबावहरू आउने गरेको बताउँछन्।

उनले भने, "हामी चाहान्छौँ कि सद्भाव कायम होस्। अपराधी जो होस् उसलाई कारबाही हुनुपर्‍यो। उहाँहरूले मुद्दा फिर्ता लिनु र त्यस्तो कुनै घटना घटेको छैन भनेर अदालतमा भन्नूस् भन्ने खालको माग छ। ठूलो दबाव आइरहेको छ, होइन भने हामी कोही खेतमा जान्छ भने कुट्छौँ भन्ने खालको कुरा गरिरहेका छन्।"

"अहिले कसैलाई छुट भयो भने फेरि अर्को ठूलो घटना हुन सक्छ। यहाँको टिकटक बनाउने दुईजना जो छ उनीहरूलाई पनि कारबाही होस्, तर मस्जिदमा तोडफोड र आगजनी गर्नेलाई पनि कारबाही गरिनुपर्छ।"

उक्त मस्जिदनजिकै रहेका कतिपय हिन्दू परिवारका सदस्यहरू सो दिनको घटनाबारे खुलेर बोल्न चाहँदैनन्। सखुवामडानस्थित रामजानकी मन्दिरका महन्थ रामकुमार दासले मुस्लिम युवाहरूले राखेको पोस्टप्रति आक्रोश व्यक्त भएको बताउँछन्।

उनी भन्छन्, "यहाँ ८१ प्रतिशत हिन्दू बसिरहेका छन्। यहाँको पहिचान नै हिन्दू धर्म हो। तर हिन्दू धर्ममाथि कुठाराघात गरियो।"

एक दशक लामो सशस्त्र द्वन्द्व र सन् २००६ मा भएको दोस्रो जनआन्दोलनपछि नेपालले धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रात्मक व्यवस्था अँगालेको छ। तर पछिल्ला वर्षहरूमा नेपाल पुन: हिन्दूराष्ट्र कायम हुनुपर्ने माग सडका साथै प्रमुख दलहरूभित्र समेत उठिरहेको छ।

पछिल्लो समय तराईका कतिपय जिल्लाहरूमा सम्प्रदायिक घटनाहरू वृद्धि भएको र धार्मिक विषयबस्तुमा आधारित गतिविधि सञ्चालन गर्ने विभिन्न सङ्गठनहरूको सङ्ख्या बढीरहेको सुरक्षा निकायको तथ्याङ्कले देखाउँछ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमले सखुवामडानमा भएको घटनामा स्थानीय हिन्दूवादी सङ्गठनका सदस्यहरूको पनि भूमिका देखिएको बताए।

उनी भन्छन्, "हिन्दू सम्राट (नेपाल) भन्ने छ। उनीहरू बाहिरबाट पनि जान्छन्। अनि स्थानीयहरूलाई उक्साउने गर्छन्। कमला नगरपालिकामा सबै जम्मा भएर अबदेखि त्यस्तो नगर्ने भनेपछि मुद्दा अघि बढाएर हामीले सहजीकरण गरिदिएका छौँ। अहिले मुद्दा अदालतमा पुगेर मानिसहरू धरौटीमा छुटेका छन्। त्यहाँको अवस्था समान्य छ।"

सङ्गठनका नाम पछाडि 'सेना'

जनकपुरको सीताचौकमा हिन्दू सम्राट सेनाले एउटा घर नै लिएर कार्यालय राखेको छ। सदस्यहरूका लागि बस्ने र सुत्ने व्यवस्था पनि त्यहाँ छ। जिल्ला प्रशासन कार्यालय धनुषामा हिन्दू सम्राट नेपालका रूपमा दर्ता भएको उक्त सङ्गठनका सदस्यहरू आफ्नो नामपछाडि 'सनातनी' राख्ने गर्छन्।

त्यसका केन्द्रीय अध्यक्ष राजेश सनातनी आफूहरूले हिन्दू धर्मको संरक्षणका लागि आवाज उठाउने गरेको बताउँछन्। तर मस्जिदमा भएको आक्रमणमा आफ्नो सङ्गठनको हात नरहेको उनले बताए।

उनले भने, "हामीलाई जबरजस्ती आरोप लगाएर बदनाम गर्न खोजिएको हो। हामी सुरक्षा निकायसँग समन्वय गरेर नै हामी हाम्रा गतिविधि गर्छौँ। हामी प्रभु श्रीरामका सेना हौँ र हामी धर्मको नाममा अघि बढिरहेका छौँ।"

"धर्मको सेना भन्नुको अर्थ हिन्दू समाजलाई कसरी उत्थान गर्न सकिन्छ, सामाजिक र विकासका गतिविधिमा के गर्न सकिन्छ, हामी त्यो गर्छौँ। सरसफाइ, आर्थिक सहयोग जस्ता विभिन्न खालका काम हामी गर्छौँ।"

सुरक्षा अधिकारीहरूका अनुसार जनकपुर आसपासका क्षेत्रमा मात्रै हिन्दू स्वयंसेवक सङ्घ, विश्व हिन्दू परिषद्, बजरङ्ग दल, हिन्दूराज्य स्वाभिमान अभियान, जानकी सेना, लक्ष्मण सेना जस्ता कैयौँ सङ्गठनहरू सक्रिय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख रुगमबहादुर कुँवर भन्छन्, "केही मानिसहरू हिन्दूतिर पनि छन् र मुस्लिम समुदायमा पनि केही मानिसहरू छन् जसले सानतिनो घटनालाई पनि ठूलो रूपले देशव्यापी रूपमा फैलाउने प्रयास गरिरहेका छन्। यो राम्रो होइन।"

"विभिन्न समूहका आवरणमा केही मानिसहरू उच्छृङ्खल गतिविधिमा लागिरहेको हामीले देखिरहेका छौँ। यिनीहरू कतैबाट आर्थिक सरसहयोग पाएका छन् कि छैनन् भन्ने पनि हामीले अनुसन्धान गरिरहेका छौँ। नेपाल प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको अवस्था छ।"

जनकपुर र आसपासका बस्तीहरूमा धर्मका कारण बढ्दै गएको विभाजन र दूरीलाई बिजुलीका खम्बा र घरहरूपिच्छे राखिएका समुदाय विशेषका धार्मिक झन्डा र सङ्केत चिह्नहरूले प्रष्ट रूपमा दर्शाउँछन्। झन्डा राख्ने र धार्मिक आधारमा टोलको नाम राख्ने प्रवृत्ति अन्यत्र मधेश प्रदेशका गाउँ गाउँसम्म विस्तार भइरहेको देखिन्छ।

नेपाल प्रहरीको तथ्याङ्क

यस वर्षको भदौको दोस्रो सातादेखि पुसको तेस्रो साताको बीचमा हिन्दू तथा मुस्लिम समुदायबीच कम्तीमा २७ वटा झडपका घटना भएका अभिलेख प्रहरीले राखेको छ।

त्यसमा टिकटकमा अपशब्द प्रयोग गरेर पोस्ट राखिएको विषयदेखि, गीत र सार्वजनिक जग्गाले निम्त्याएको विवाद समेत पर्छन्।

मूर्ति तोडफोड, टुनामुना लगाइएका आरोप साथै एउटा समुदायले लगाएका झन्डा र ब्यानर अर्को समुदायले हटाउन खोज्दा पनि झडप निम्तिएको जस्ता घटनाहरू पनि प्रहरीको अभिलेखमा देखिएको छ। यी घटनामा ५० जना पक्राउ परेको र २९ जना घाइते भएका थिए।

सो अवधिमा सबैभन्दा बढी झडपका घटना धनुषा, रौतहट र बाँकेमा भएका थिए। सखुवामडानमा भएको घटनाको सबैभन्दा ठूलो असर पर्साको वीरगन्जमा देखिएको थियो जहाँ तनावलाई नियन्त्रणमा लिन निषेधाज्ञा र कर्फ्यू लगाउनुपरेको थियो। मुस्लिम बहुल छपकैयामा एउटा मोटरसाइकलमाथि आगजनी गरिएको थियो।

वीरगन्जको सकस

नेपालको प्रवेशद्वार पनि भनेर चिनिने सीमावर्ती शहर वीरगञ्ज त्यहाँको घण्टाघर, मन्दिर, मस्जिद र धार्मिक महत्त्वका पोखरीहरूका कारण प्रसिद्ध छ। आर्थिक नगरी पनि भएकाले यहाँ हुने सानोतिनो घटनाले पनि समग्र देशकै ध्यान खिच्ने गरेको छ।

स्थानीय विश्लेषकहरू बहुसङ्ख्यक बासिन्दा सद्भावको पक्षमा रहे पनि तनाव र द्वन्द्व फैलाउन खोज्ने एकाध व्यक्तिका कारण त्यहाँ बेला बेलामा साम्प्रदायिक तनाव बल्झिने बताउँछन्।

सखुवामडान घटनालाई लिएर स्थानीय मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेपछि वीरगन्जका कतिपय हिन्दूवादी सङ्गठनहरू पनि सडकमा आएका थिए।

अधिकारीहरूले दिएको जानकारी अनुसार यस पटक लाठगल्ली नजिकैको मस्जिदमा प्रदर्शनकारीहरूले ढुङ्गाप्रहार गरेका थिए। सामाजिक सञ्जालमा राखिएका भिडिओमा मस्जिदको छतबाट पनि ढुङ्गा प्रहार गरिएका दृश्य देखिन्छन् जसलाई सुरक्षा निकायहरूले पनि पुष्टि गरेका छन्।

स्थानीयवासी मौलाना महमद मजहर अलिम कादरी 'असह्य भएपछि आत्मरक्षाका लागि चालिएको कदम' भन्दै त्यसको प्रतिरक्षा गर्छन्।

धनुषाको घटनालाई लिएर मुस्लिम समुदायले शान्तिपूर्ण विरोध गर्नु स्वाभाविक भएको बताउँदै उनले त्यसमा अवरोध गर्न खोजिएपछि स्थिति बिग्रिएको बताए।

उनी भन्छन्, "हामी भनिरहेका छौँ, चाहे हिन्दू होऊन् चाहे मुस्लिम होऊन् जसले गल्ती गर्छ उसलाई कानुनको धारा लगाएर कारबाही गरिनुपर्छ। त्यस्तो गरिएन भने उसको मनोबल बढ्छ। यस्तो गतिविधि झनझन्‌ झन् फैलन्छ।"

"सामाजिक सञ्जालका माध्यमबाट दुर्गन्ध फैलाउनेहरूलाई राज्यले कारबाही गर्नुपर्छ। एकाध व्यक्तिहरू यस्तो काममा संलग्न छन्। जब तपाई चार-पाँच जनालाई कारबाही गर्नुहुन्छ, छैटौँ व्यक्तिले त्यस्तो आँट गर्दैनन्।"

यस पटक पर्सामा अवस्था सामान्य पार्ने क्रममा जिल्ला प्रशासन कार्यालयमा एउटा सर्वपक्षीय राजनीतिक सहमति भएको थियो जसमा अन्य मुलुक वा नेपालका कुनै स्थानमा भएका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन नगर्ने प्रतिबद्धता जनाइएको छ।

एउटा स्थायी खालको सद्भाव संयन्त्र गठन गरिएको छ र त्यसमा हिन्दू र मुस्लिम दुवै समुदायका दुईदुई जना प्रतिनिधिलाई समावेश गरिएको छ।

पर्सास्थित राष्ट्रिय बजरङ्ग दलका अध्यक्ष विवेक सिन्हा विगतमा पनि यस्ता सहमति हुने गरेको तर द्वन्द्व नरोकिएको बताउँछन्।

उनले भने, "नौ दश वर्षयता जहिले पनि हनुमान जयन्तीको र्‍याली हामी निकाल्छौँ बबाल हुन्छ। यहाँ मात्रै होइन देशैभरि द्वन्द्वहरू भइरहेको छ। जहिले पनि कर्फ्यू लगाइदिने अनि मेलमिलाप गर्ने गर्छ। लेखापढी हुन्छ तर फेरि त्यही दोहोरिन्छ।"

"प्रशासनले पनि हामीलाई त्यस्तै नजरले हेर्छ। कानुनमन्त्री यहीँबाट हुनुहुन्थ्यो। पर्सामा विभिन्न दलका यति जना अगुवा हुनुहुन्छ तर कसैले पनि हामीलाई आजसम्म सोध्नुभएन कि कसरी भयो के भयो? नेतासँग हामीलाई विश्वास छैन।"

आफूलाई हिन्दू नेता भनेर चिनाउने वीरगञ्जकी रमिता माया गुप्ता भन्छिन् , "हामी बहुसङ्ख्यक छौँ तर हाम्रो प्रभाव कम हुँदै गएको छ। त्यही भएर वीरगञ्जमा हामीले आवाज निकालिरहेका छौँ। यो हामीले पूरा देशभरिका हिन्दूका लागि गरेका हौँ।"

थरीथरीका माग, इगो र भूमिकाबारे प्रश्न

हिन्दूवादी समूहहरू भित्रै अर्को पक्ष पनि छ जो राजसंस्थाबिनाको हिन्दू राष्ट्रको माग गरिरहेको छ।

नेपाल विश्व हिन्दू महासङ्घका महासचिव अभिषेक तिवारी आफूहरूले सङ्घीयतासहितको हिन्दू राष्ट्रको आवाज उठाएको बताउँदै 'क्षणिक समाधान' का लागि गरिएका सम्झौताले नतिजा नदिने बताउँछन्।

"२०६२-२०६३ को जनआन्दोलनपछि जुन नागरिकता बाँडियो, समस्यको जड नै त्यही हो। त्यसबाट धेरै गैरनेपालीले नागरिकता पाए। त्यो रद्द नगरुन्जेल हुँदैन। समस्याको समाधान हुँदैन्।"

त्यस्तो जाँच र अनुसन्धानप्रति मुस्लिम समुदायको असहमति नहुने जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तबरेज अहमद बताउँछन्। उनी धर्मका नाममा राजनीति गर्ने प्रयास थालिएको भन्दै द्वन्द्वलाई बढावा दिने व्यक्ति र समूह 'अरूको इसारामा चलिरहेको' बताउँछन्।

उनी भन्छन्, "पहिला यस्ता गतिविधि हुँदैन थियो। यसमा एउटा लगानी छ, त्यो कहाँबाट आउँछ? कतैबाट तलब पनि आउँदैन। एकतर्फको मात्र होइन्, म दुवैतर्फको कुरा गरिरहेको छु। मेरो मात्रै होइन, आमबुझाइ छ, यी काहीँ न काहीँबाट परिचालित हुन्।"

"सधैँ मिलेर बसेका थियौँ तर अहिले किन यस्तो भइरहेको छ, त्यो छर्लङ्गै छ। राज्यले चाह्यो भने छानबिन गरेर को को संलग्न छ जानकारी सङ्कलन गर्नसक्छ। मधेशलाई अशान्त पारेर जहिले पनि यसलाई पछ्यौटेपनमा राख्ने प्रयास गरियो भने भोलिका दिनमा त्यो राज्यका लागि भारी पर्छ।"

पर्सा प्रशासनले सर्वपक्षीय बैठक गरिरहेका बेला वीरगन्ज महानगरपालिकाका मेअर राजेशमान सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट राखेका थिए जसमा 'धार्मिक द्वन्द्व चर्किएपछि हुने सद्भाव र्‍याली र औपचारिक बैठकहरू' लाई 'आत्मसन्तुष्टि लिने प्रवृत्ति' भनि व्यङ्ग गरिएको थियो।

कतिपय अधिकारीहरूले त्यसबेला शहरमा तनाव देखिएको समयमा उनको भूमिका सहयोगी नदेखिएको भन्दै प्रश्न गरेका थिए।

तर बीबीसीसँग कुरा गर्दै सिंहले भने, "जो व्यक्तिहरू एकअर्कालाई निचा देखाउने काम गर्छन् उनीहरूसँग होइन त्यस्ता अगुवाहरू जसले वास्तवमै धर्मप्रति आस्था राख्छन् उनीहरूसँग वार्तामा बसौँ न भन्ने मेरो भनाइ हो। त्यस्तो वार्ताबाट निकास निस्कन्छ, मेरो प्रश्न त्यो हो।"

उनले थपे, "कसैले सल्लाह नै नमागी आफै बढी भएर म कसरी सल्लाह दिन जाऊँ। मलाई बोलाउनूस् न म काठमाण्डू हुँ या कतै हुँ, म खडा हुन्छु कि हुँदिन त्यो हेर्नुपर्‍यो। दमकल चाहिँदा मलाई सम्पर्क गर्नसक्ने तर साम्प्रदायिक तनावका बेलामा आउनुपर्‍यो भन्न नसक्ने? "

'दुवै समुदायलाई जुधाउने प्रयास'

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजनीतिक दलका प्रतिनिधिहरू बैठकमा सहभागी भएको उल्लेख गर्दै यस्ता घटनाका सन्दर्भमा राजनीतिक दलहरूबाट थप सहयोग अपेक्षा गरिने बताए।

उनले सङ्गठित हिसाबले भन्दा पनि केही पात्रहरूका कारण यस्ता घटना भइरहेको भन्दै तनाव चर्काउने प्रयासहरू भइरहेको बताए।

दाहाल भन्छन्, "दुवै समुदायमा प्रतिनिधि पात्रहरू छन् जसले कुनै न कुनै रूपमा एक पटक धार्मिक हिसाबले विखण्डन ल्याउने अथवा दुवै समुदायलाई जुधाएर एउटा हिंसात्मक अवस्था बनाउन उद्दत भएको चाहिँ देखिन्छ। तर राजनीतिक रूपमा नै वा कुनै समुदायले नै त्यस्तो भिडन्त गराउन चाहेको भन्ने चाहिँ होइन।"

वीरगन्जका एकजना नागरिक समाजका प्रतिनिधि विनोदकुमार गुप्ता मधेशमा देखिएको हिन्दूमुस्लिम विभाजन चुनावमा समेत प्रकट हुने ठान्छन्।

उनले भने, "भोलिका दिनमा माथिल्लो तहमा यसैका आधारमा सीटको लेनदेन चल्न थाल्छ। जुन सङ्गठन बलियो देखिन्छ त्यसले मलाई यति सीट दिनुभयो भने तपाईँको उम्मेदवारलाई जिताउँछु भन्न थाल्छन्। यो खतरा नेपालमा बढिरहेको छ।"

सन् २०२१ को जनगणना अनुसार नेपालमा हिन्दूहरूको जनसङ्ख्या ८१.१९ प्रतिशत रहेको छ। मुस्लिम जनसङ्ख्या ५.०९ प्रतिशत रहेको छ। मधेश प्रदेशमा मुस्लिम जनसङ्ख्या १३.३ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मुस्लिमहरूको जनसङ्ख्या ७.४ प्रतिशत रहेको छ। नेपाल भारत सीमामा पर्ने यी प्रदेशका कतिपय जिल्लाहरू यस्ता द्वन्द्वका घटनालाई लिएर संवेदनशील मनिन्छन्।

सरकार के भन्छ?

यस पटक मधेश प्रदेशमा आयोजित निर्वाचन केन्द्रित सुरक्षा बैठकमा तराईका जिल्लाहरूमा देखा परेको धार्मिक साम्प्रादयिक तनाव सबैभन्दा ठूलो सुरक्षा चुनौती बनेको विश्लेषण भएको थियो।

निर्वाचनको मिति नजिकिँदै गर्दा अघिल्लो साता रौतहटको सदरमुकाम गौरमा मस्जिदमा नवाज पढिरहेको समयमा बाहिर हिन्दु समुदायको विवाहको बाजा बजाइएको भन्दै दुई समुदायबीच विवाद भएको थियो।

त्यहाँ शनिवारबाट लगाइएको कर्फ्यू सोमबार हटाइएको थियो। पार्किङका विषयमा दुई समुदायका युवाबीच विवाद उत्पन्न भएपछि वीरगन्जमा सोमवार बिहानबाट अनिश्चतकालीन कर्फ्यू लगाइएको थियो। त्यसलाई अपरान्हबाट हटाएको पर्सा प्रशासनले मंगलवार विहानसम्म निषेधाज्ञा भने कायमै राखेको छ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित धार्मिक साम्प्रादायिक घटनाहरूलाई सुरक्षा चुनौतीका रूपमा लिएको बताए।

उनले भने, "प्रत्येक समुदायले आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने हो। तर अर्को समुदायको धर्म संस्कृतिमा अतिक्रमण गर्ने छुट कसैलाई छैन। त्यस्तो गरियो भने त्यो कानुनबमोजिम दण्डनीय हुन्छ। धार्मिक सद्भाव बढाउने गतिविधिहरू गर्न हामीले जिल्ला प्रशासन कार्यलयहरूलाई परिपत्र गरिसकेका छौँ।"

उनले गृहमन्त्रालयले केन्द्रमा रहेका धार्मिक समुदायका अगुवाहरूसँग समेत छलफल गरेको उल्लेख गर्दै सरकारले विभिन्न धार्मिक सङ्गठनका गतिविधिहरूलाई पनि निगरानी गरिरहेको उल्लेख गरे।

उनले भने, "सरकारले सरोकारवालाहरू कोको हुनुहुन्छ भनेर पनि हेर्छ। सरोकारवालाहरूसँग बसेर संवादबाटै सद्भावपूर्ण वातावरण बनाउने प्रयास पनि गर्छ। आपराधिक उद्देश्यसहित कोही गठन भएको छ भने त्यस्तोलाई रोकथाम र नियन्त्रण गर्ने कुरा सरकारले गर्छ।"

"त्यस्तो केही अहिले नै गठन भएको छ भनेर हामी भनी हाल्दैनौँ तर विशुद्ध आफ्नो धार्मिक अधिकारको अभ्यास गर्ने र सद्भावना बढाउने उद्देश्यसहित आउनुभएका सङ्गठनहरूलाई सरकारले स्थिति शान्तिपूर्ण बनाउन उपयोगी सरोकारवालाको रुपमा सरकारले हेर्न चाहान्छ।"

सद्भाव फर्किएको हेर्ने चाहना

धनुषाको तनाव विभिन्न जिल्लामा फैलिएपछि गृहमन्त्रालयले सामाजिक सञ्जालबाट साम्प्रदायिक तनाव फैलन नदिन गुप्तचरसहित सबै सुरक्षा निकायहरूले भूमिका खेलिरहेको बताएको थियो।

मधेश प्रदेशस्तरीय सुरक्षा बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले 'बढ्दो धार्मिक र राजनीतिक' अतिवादलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा उल्लेख गरेको एकजना जानकार सुरक्षा अधिकारीले बीबीसीलाई बताए। कतिपय त्यस्ता सङ्गठनहरूको नजिकबाट निगरानी गर्न गुप्तचरहरू समेत खटाइएको अधिकारीहरू बताउँछन्।

एक जना अधिकारीहरूले कतिपय अनुसन्धान अधिकारीहरूले ती निकायहरूले नजिकबाट विभिन्न संङ्गठनलाई नियालीरहेको र 'भित्रै स्रोतहरू तयार' गरी खबरहरू समेत सङ्कलन गरिरहेको बताए।

ती सुरक्षा अधिकारीको भनाइमा युवाहरू यस्ता द्वन्द्वमा बढी संलग्न हुन थालेका छन् र सानो उमेदेखि नै 'हिन्दू-मुस्लिम' विभाजनको प्रवृत्ति कतिपय ठाउँमा देखिरहेको छ।

वीरगन्जका विनोदकुमार गुप्ता भन्छन्, "मिलापत्र गरेर मात्रै मन मिल्दैन। संलग्न जो कोहीलाई हदैसम्मको कारबाही गरिनुपर्छ। अनि मात्रै यस्ता घटना नियन्त्रणमा आउँछन्।"

सखुवामडानका सोभितकुमार महतो समाज मिल्न तयार रहेको तर केही युवाहरूका विरोधका कारण त्यस्तो हुन नसकिरहेको बताउँछन्। "यहाँ हामी सबै पक्ष मिलेर नै बसेको हो। अब हामी यहाँ फेरी त्यस्तो घटना हुन दिँदैनौँ। उक्साउन खोज्नेहरूको विरोध हामी आफैँ नै गर्नेछौँ।"

सत्तरी वर्षकी अतिमा खातुन पहिलेजस्तै सद्भाव फर्किएको हेर्न चाहन्छिन्।

उनले भनिन्, "हामी आफ्नो धर्म र संस्कार मानिरहेका छौँ उहाँहरूले आफ्नो मानिरहनुभएको छ। आआफ्‍नो धर्म संस्कारको हामी सबैले सम्मान गर्नुपर्छ। हामीले पनि सम्झाइबुझाइ गरेका छौँ हाम्रा पोतापोती (नातिनातिना)को समयसम्म पनि यस्तो घटना हुनु हुँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।