तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूतपूर्व मन्त्री लर्ड म्यानडल्सन पक्राउपछि जमानतमा रिहा, आरोप के थियो
- Author, ओलिभिआ आएरल्यान्ड
- पढ्ने समय: ३ मिनेट
सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा सोमबार पक्राउ परेको केही घण्टापछि लर्ड म्यानडल्सनलाई जमानतमा रिहा गरिएको लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान नभएसम्म एकजना ७२ वर्षीय पुरुषलाई रिहा गरिएको जानकारी दिएको छ।
बीबीसीले लर्ड म्यानडल्सन स्थानीय समयअनुसार बिहान २ बजे लन्डनस्थित आफ्नो घर फर्किरहेको देखेको थियो।
लर्ड म्यानडल्सनलाई सोमबार उत्तरी लन्डनको क्याम्डनस्थित ठेगानाबाट पक्राउ गरिएको थियो र सोधपुछका निम्ति प्रहरी कार्यालय लगिएको थियो।
यस महिनाको सुरुमा अनुसन्धान सुरु गरिएको थियो जुन लर्ड म्यानडल्सनले मन्त्रीको रूपमा कार्यरत रहँदा यौन दुराचारमा दोषी ठहर गरिएका दिवङ्गत जेफ्री एप्स्टीनलाई बजारमा प्रभाव पार्ने खालका संवेदनशील सरकारी जानकारी दिएको आरोपमा केन्द्रित थियो।
विल्टशायर र क्याम्डेनका दुई स्थानमा खोजी वारेन्ट जारी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो।
लर्ड म्यानडल्सनले हालैका हप्ताहरूमा एप्स्टीन फाइलहरूबारे सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।
तर आफूले कुनै पनि तरिकाले आपराधिक कार्य नगरेको र आर्थिक लाभ लिने आफ्नो मनसाय नरहेको उनको अडान रहेको बीबीसीले जानकारी पाएको छ।
लर्ड म्यानडल्सन फेब्रुअरी २०२५ मा अमेरिकाका लागि ब्रिटेनका राजदूत बनेका थिए तर डाउनिंग स्ट्रिटले एप्स्टीनसँगको उनको गहिरो सम्बन्धबारे नयाँ जानकारी सार्वजनिक भएपछि सेप्टेम्बरमा उनलाई बर्खास्त गरेको थियो।
सरकारले लर्ड म्यानडल्सनको नियुक्तिसम्बन्धी पहिलो दस्ताबेज मार्चको सुरुमा सार्वजनिक गर्ने ठानिएको बताएको छ।
सादा पोसाकका अधिकारीहरूले उनलाई लन्डनको आफ्नो घरबाट कुनै चिन्ह नरहेको कारको पछाडि राखेर सोमबार दिउँसो लगेका थिए।
मेट्रोपोलिटन प्रहरीको केन्द्रीय विशेषज्ञ अपराध विभागका अधिकारीहरूले उनलाई पक्राउ गरेको बीबीसीले थाहा पाएको छ।
अमेरिकी न्याय मन्त्रालयले गत महिना उनी र एप्स्टीनबीचको इमेलसहितका कागजातहरूको शृङ्खला सार्वजनिक गरेपछि लर्ड म्यानडल्सनविरुद्धको आरोप सार्वजनिक भएको थियो।
सन् २००९ को एउटा इमेलमा लर्ड म्यानडल्सनले तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनका सल्लाहकारले 'सम्पत्ति बिक्रीका योजना' लगायतका नीतिगत कदमहरूबारे गरेको आकलन हस्तान्तरण गरेको जस्तो देखिएको बुझिन्छ।
सरकारले प्रहरीसँग कुन कागजातहरू सार्वजनिक गर्न सकिन्छ भन्ने बारेमा कुराकानी जारी राख्ने बीबीसी न्यूजले थाहा पाएको छ, किनकि गिरफ्तारीले त्यस प्रक्रियामा प्रभाव पार्न सक्ने सुझाव पहिले दिइएको थियो।
सरकार अझै पनि सम्बन्धित कागजातहरू प्रकाशित गर्न सकिने अपेक्षामा छ, जसबाट लर्ड म्यानडल्सनले उनको नियुक्तिअघिको जाँचबुझ प्रक्रियाका क्रममा आफूलाई ढाँटेको भन्ने प्रधानमन्त्री सर किअर स्टारमर स्टार्मरको दाबीलाई बल दिने उसको आशा छ।
अमेरिकी राजनीतिज्ञहरूले एप्स्टीनबारे कंग्रेसको अनुसन्धानको एक अङ्गको रूपमा लर्ड म्यानडल्सनलाई प्रश्नहरूको जवाफ दिन आग्रह गरेका छन्।
सन् १९८० को दशकमा लेबर पार्टीमा काम गर्न थालेका उनले मजदुर आन्दोलन र सन् १९९७ मा सर टोनी ब्लेयरको चुनावी विजयमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।