एपस्टीनसँग सम्बन्धित लाखौँ नयाँ फाइलहरू सार्वजनिक जसमा ट्रम्प र बिल गेट्सको नाम पनि उल्लेख

पढ्ने समय: ३ मिनेट

अमेरिकी न्याय मन्त्रालयले यौनअपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित लाखौँ नयाँ फाइलहरू सार्वजनिक गरेको छ।

शुक्रवार सरकारले ३० लाख पृष्ठ, १ लाख ८० हजार तस्बिर र दु हजार भिडिओहरू सार्वजनिक रूपमा पोस्ट गरेको थियो।

गत वर्ष एउटा कानुनले अनिवार्य गरेयता सार्वजनिक भएका कागजातहरूमध्ये यो सबैभन्दा ठूलो सङ्ख्या हो। यसअघि गत वर्ष डिसेम्बरमा हजारौँ पृष्ठका कागजातहरू सार्वजनिक गरिएका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पले कानुनमा हस्ताक्षर गरेको कानुनी समयसीमा गुमाएको छ हप्तापछि सरकारले सार्वजनिक गरेको हो।

ती कागजातमा एपस्टीनले जेलमा बिताएको समयको विवरणहरू समावेश छ - जसमा एउटा मनोवैज्ञानिक प्रतिवेदन पनि छ - र जेलमा रहँदा उनको मृत्यु र उनकी सहयोगी गिलेन म्याक्स्वेलमाथिका अनुसन्धानात्मक विवरण पनि रहेको छ।

नाबालिग केटीहरूको बेचबिखनमा सहयोग गरेको आरोपमा गिलेन दोषी ठहर भएकी थिइन्।

ती कागजातमा एपस्टीन र अन्य उच्च अधिकारीहरूबीचको इमेल आदानप्रदान पनि रहेका छन्।

एपस्टीनले 'द ड्युक' लाई रूसी महिलासँग भेट्न निम्तो दिएका थिए

उनको ब्रिटेनका सम्भ्रान्तहरूसँग पनि घनिष्ठ सम्बन्ध रहेको खुलासा कागजातले गरेका छन्।

एपस्टीनको एउटा सन्देशमा एकजना २६ वर्षीया रुसी महिलालाई "द ड्युक" नाम गरेका व्यक्तिलाई परिचय गराउने प्रस्ताव गरिएको छ। ती व्यक्ति एन्ड्रू माउन्टब्याटन विन्ड्जर रहेको ठानिएको छ। उनीसँग बकिङ्गम प्यालेसमा रात्रिभोज गर्ने बारे छलफल गरिरहेका इमेलहरू समावेश छन्।

ती इमेल सन् २०१० को अगस्टमा आदानप्रदान भएका थिए। त्यसको दुई वर्षपछि एपस्टीनले एक नाबालिगसँग यौनसम्बन्ध राख्न आग्रह गरेको कुरा स्वीकार गरेका थिए।

ती इमेलहरूले कुनै गलत काम गरिरहेको भन्ने सङ्केत गर्दैनन्।

बीबीसीले प्रतिक्रियाका लागि एन्ड्रूलाई सम्पर्क गरेको थियो। उनी पहिला ड्युक अफ योर्कको नामले चिनिन्थे। उनले एपस्टीनसँगको विगतको मित्रतालाई लिएर वर्षौँ छानबिनको सामना गर्नुपरेको थियो। उनले बारम्बार आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

सयौँ पटक ट्रम्पको नाम उल्लेख

सार्वजनिक भएका नयाँ फाइलहरूमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम सयौँपटक उल्लेख भएको छ। ट्रम्पको एपस्टीनसँग मित्रता थियो तर उनले वर्षौँअघि उनीसँगको सम्बन्ध बिग्रिएको बताएका थिए। ट्रम्पले आफूलाई उनको यौन अपराधको बारेमा कुनै पनि जानकारी नरहेको पनि बताएका थिए।

यी कागजातहरूमा गत वर्ष सङ्घीय जाँच ब्युरो एफबीआईले ट्रम्पविरुद्ध सङ्कलित गरेको एउटा सूची पनि उल्लेख छ। उक्त सूचीमा ट्रम्प, एपस्टीन र अन्य चर्चित व्यक्तिहरूमाथि यौन दुर्व्यवहारका थुप्रै आरोपहरू लगाइएको छ।

ट्रम्पले निरन्तर रूपमा एपस्टीनसँगको सम्बन्धमा कुनै पनि गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् र एपस्टीनका पीडितहरूले कुनै पनि अपराधको आरोप लगाएका छैनन्।

हालसालै लगाइएका आरोपहरूबारे सोध्दा ह्वाइट हाउस र न्याय मन्त्रालय दुवैले फाइलहरूको साथमा रहेको विज्ञप्तिको एउटा लाइनलाई औँल्याए।

"केही कागजातमा राष्ट्रपति ट्रम्पविरुद्ध असत्य र सनसनीपूर्ण दाबीहरू छन् जुन सन् २०२० को चुनावअघि एफबीआईलाई बुझाइएको थियो," अमेरिकी न्याय मन्त्रालयले भनेको छ।

"स्पष्टताको लागि ती दाबीहरू निराधार र गलत छन् र यदि तिनीहरूसँग थोरै मात्रै विश्वसनीयता छ भने तिनीहरूलाई निश्चित रूपमा राष्ट्रपति ट्रम्पविरुद्धको हतियार बनाइसकिएको हुन्थ्यो।"

नयाँ फाइलहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सविरुद्ध सनसनीपूर्ण आरोपहरू पनि उल्लेख छन्।

उनका प्रवक्ताले यी आरोपहरूलाई "पूर्णतया बेतुक र झूटा" भनेर व्याख्या गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।