तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चुनाव सकिएपछि नतिजा आउन लाग्ने समयबारे पूर्वप्रमुखहरूको अनुभव
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
केही भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरूले देशका विभिन्न ठाउँको भौगोलिक जटिलता हेर्दा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको मतपरिणाम आइसक्न छिटो गरेको अवस्थामा पनि मतदानपछि करिब १० दिन जति लाग्न सक्ने बताएका छन्।
कतिपय ठाउँका भौगोलिक अवस्था र मौसमको अनुकूलताका कारण मतपेटिका मतगणना हुने स्थलसम्म ल्याइपुर्याउन समय लाग्ने हुँदा त्यसले मतपरिणाम आइसक्न समय लाग्ने उनीहरूले बताएका हुन्।
निर्वाचन आयोगले भने मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्ष प्रणालीतर्फको र फागुन २५ गतेभित्र सबै मतपरिणाम आइसक्ने गरी काम गरिने जनाएको छ।
चुनाव आउन आठ दिन बाँकी रहँदा मतपत्रहरू मतदान केन्द्रतर्फ पुग्ने क्रम जारी रहेको आयोगले जनाएको छ।
चुनावको दिन मतदान सकिएपछि प्रक्रिया पुर्याएर मतपेटिकाहरू सम्बन्धित गणनास्थलतर्फ लैजान थालिने आयोगले जनाएको छ।
विगतको अनुभव कस्तो छ?
भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरूले विगतको अनुभव हेर्दा मतपेटिका सदरमुकाम वा निर्वाचन कार्यालयसम्म ल्याइपुर्याउन नै कठिन हुने गरेको अनुभव सुनाएका छन्।
भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतपेटिका ल्याउन मात्रै कतिपय ठाउँमा एकदुई दिन लाग्न सक्ने आफूहरूले विगतमा देखेको बताएका छन्।
काठमाण्डू वा अन्य सुगम क्षेत्र र तराईमा मतपेटिका मतदान भएकै दिनमा ल्याउन सम्भव भए पनि भौगोलिक विकटता भएका क्षेत्रमा भने कठिनाइ हुने अनुभव आफ्नो रहेको पोखरेलले बताएका छन्।
"टाढाटाढाको ठाउँ छ भने मतपेटिका ल्याउन नै गाह्रो हुन्छ। अझै हिमाली क्षेत्रमा त हेलिकप्टर प्रयोग गर्यो भने अलि छिटो आउँछ। त्यो नहुने ठाउँ भयो भने अझै समय लाग्छ," पोखरेलले भने।
"त्यसैले उपत्यका र तराईलगायतका केही ठाउँहरूमा एक दिनभित्रै परिणाम दिन सकिएला। तर सबैतिरको आउनचाहिँ समय लाग्ने गरेको थियो।"
चुनावका दिन ५ बजे मतदान सकिएपछि मतपेटिकाहरू प्याक गरेर मतदान केन्द्रबाट निस्किँदा ६/७ बजेपछि सुरक्षाका हिसाबले पहाडी बाटोमा त्यही साँझ मतगणनास्थलसम्म पुर्याउन कठिन हुन सक्ने उनले बताए।
"हिँडेरै ल्याउनुपर्नेछ भने राति हिँड्नका लागि सुरक्षाका दृष्टिले गाह्रो हुन सक्छ। त्यसैले चुनौती छ," उनले भने।
"कतिपय अवस्थामा प्रतिनिधिहरू आफैँले धेरै थाकेका कारण आज नगरौँ, भोलि बिहानबाट गरौँ भन्ने प्रस्ताव पनि राख्छन्।"
निर्वाचन कानुनमा तोकिएको व्यवस्थाअनुसार राजनीतिक दलका सबै प्रतिनिधिहरू बसेर मत सदर र बदरबारे आउन सक्ने सानातिना विवादको पनि निरूपण गर्ने प्रक्रियाबारे थप प्रयास हुने उनले बताए।
यस्ता विविध कारणले पनि समय लाग्न सक्ने उनी ठान्छन्।
अर्का भूतपूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ निर्वाचन आयोगले भनेजस्तै मतपेटिका सङ्कलन भइसकेको २४ घण्टामा मतगणना सम्भव हुने बताउँछन्।
तर उनले मतदानपछि भौगोलिक जटिलताका कारण मतपेटिका सुरक्षित रूपमा सङ्कलन भइसक्न नै समय लाग्ने बताए।
"भौगोलिक कारणले अहिलेको अवस्थामा सञ्चार र यातायात पहिलाभन्दा बढेको छ। यद्यपि केही ठाउँमा हिउँ पर्न सक्छ। भनेको समयमा हेलिकप्टर जान सक्दैन," उनले भने।
उनले समानुपातिक प्रणालीतर्फको मतगणना सकिन समय लाग्ने भन्दै परिणामका लागि हतार गर्न आवश्यक नरहेको पनि बताएका छन्।
तर अर्का पूर्वप्रमुख पोखरेलले भने मतगणना सकेर परिणाम सार्वजनिक गर्नका लागि आयोग स्वयंलाई हतार हुने बताए।
त्यसको कारणबारे बताउँदै उनले भने, "आयोगलाई कहिले सकेर दिऊँ भन्ने हुन्छ किनभने त्यो बाकस जति राख्यो, त्यति समस्या हुन्छ। प्रत्यक्षतर्फको मतगणनामा यति भिड हुन्छ, कति त गोली चलाउनुपर्ने वा कहिले त कर्फ्यू लगाएर मतगणना गर्नुपर्ने पनि विगतमा भएको थियो।"
निर्वाचन आयोगको भनाइ के हो?
निर्वाचन आयोगले मतदान सकिइसक्दा मौसम कस्तो रहन्छ भन्नेमा परिणाम कहिलेसम्म आइसक्छ भन्ने कुरा भर पर्ने जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सङ्कलन भइसकेपछि मतगणना सुरु भएको २४ घण्टामा प्रत्यक्ष प्रणालीतर्फको परिणाम आइसक्ने बताएका छन्।
"मतदान सकिएपछि हामी छिटोभन्दा छिटो मतपेटिका सङ्कलन गर्छौँ। सङ्कलन भइसकेपछि गणना सुरु हुन्छ। गणना सुरु भएको २४ घण्टाभित्र मत परिणाम प्रकाशित गर्छौँ," भण्डारीले भने।
उनले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको चुनावको सबै परिणाम फागुन २५ गतेभित्र आइसक्ने दाबी गरे।
निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फको सकेपछि समानुपातिक प्रणालीको गणना सुरु गर्ने विगतको अभ्यास रहेको छ।
समानुपातिक प्रणालीतर्फको मत गणनापछि कुन दलले कति सीट प्राप्त गर्यो निर्धारण गरेर आयोगले दललाई पठाउने अभ्यास रहेको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।