लुम्बिनी प्रदेशमा मत बदल्ने चाहना

    • Author, माधव नेपाल
    • Role, बुटवल
  • पढ्ने समय: ३ मिनेट

यस अघिका निर्वाचनहरूमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै आएका रूपन्देही तामनगरका ५५ वर्षे भीम तामाङ यस पटक आफ्नो भोट परिवर्तन गर्ने निर्णयमा पुगेको बताउँछन्।

"अहिले अलिकति आशा जागेको छ," उनले भने।

त्यस्तै रूपन्देही सैनामैनाको कलोनीका ४५ वर्षे बसिर आलमले पनि यस पटक मन परिवर्तन गरेका छन्। "मैले यसअघिका चुनावमा रूख चिह्नमा भोट हाल्दै आएको थिए तर यस पटक परिवर्तन गर्ने सोचमा छु।"

त्यस्तै पाल्पा अर्गलीका ५१ वर्षीय सुरेश रेग्मी भन्छन्, "अहिले देशले सुशासन चाहेको छ।"

बुटवलमा भेटिएका यी तीनै जना मददाताको मतदान गर्ने क्षेत्र पनि फरक फरक हो।

तामनगरका भीम तामाङ रूपन्देही क्षेत्र न २ का मतदाता हुन् । तामांगका अनुसार यसअघिको निर्वाचनमा उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई भोट दिएका थिए।

यस पटक यो क्षेत्रमा एमालेका विष्णु पौडेलसहित नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन्।

यस्तै यसअघि नेपाली कांग्रेसका भरत शाहलाई भोट दिएको बताउने सैनामैना कलौनीका बसिर आलम रुपन्देही क्षेत्र न ५ का मदताता हुन् ।

सो क्षेत्रमा यसअघि नेकपा एमालेका वासुदेव घिमिरेले चुनाव जितेका थिए भने सो क्षेत्रमा अहिले एमालेबाट खिमलाल भट्टराई, नेपाली कांग्रेसबाट भरत शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तौफिक अहमद खान प्रतिस्पर्धामा छन् ।

पाल्पा अर्गलीका सुरेश रेग्मीले यसअघि कसलाई भोट दिएको भनेर खुलाउन चाहेनन्।

पाल्पाको क्षेत्र न २ मा यसअघि नेकपा एमालेका ठाकुर गेरैले चुनाव जितेका थिए भने यस पटक एमालेका गैरेसहित नेपाली कांग्रेसका हिमाल श्रेष्ठ, रास्वपाका माधव बहादुर थापा तथा नेकपाका सोम प्रसाद पाण्डेय लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

चर्चित उम्मेदवार

पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्ड उम्मेदवार छन्।

दाङमा नेकपा एमालेका शङ्कर पोखरेल उम्मेदवार छन्।

गुल्मीमा नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली तथा रास्वपाका सागर ढकाल उम्मेदवार छन्। प्यूठानमा सूर्यबहादुर थापा कांग्रेसका गोविन्द पोखरेल छन्।

नवलपरासीमा विनोद चौधरी र हृदयेश त्रिपाठी प्रतिस्पर्धा गरिरहेका छन्। बर्दिया २ मा कांग्रेसका किशोरसिंह राठौर उम्मेदवार रहेका छ्न।

चुनावी तथ्याङ्कमा लुम्बिनी प्रदेश

जिल्लाको सङ्ख्या: १२

कुल निर्वाचन क्षेत्र: २६

कुल मतदाता: ३३,८६,६८०

  • महिला: १६,७१,४७९
  • पुरुष: १७,१५,१६३
  • अन्य: ३८

कुल उम्मेदवार: ५९९

  • महिला: ५६
  • पुरुष: ५४३
  • अन्य: ०

मतदान केन्द्र: ३९९८

मतदान स्थल: १६७१

विगतको नतिजा: कुन पार्टीले कति जिते?

  • नेपाली कांग्रेस: ६
  • एमाले: ११
  • नेकपा माओवादी: ३
  • राप्रपा: ३
  • अन्य: ३

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।