अर्थतन्त्र, ट्यारिफ, आप्रवासन र विदेशनीति : अहिलेसम्मकै लामो 'स्टेट अफ द यूनिअन' भाषणमा ट्रम्पले के भने

पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले पहिलो वर्षमा "दीर्घकालीन महत्त्वपूर्ण परिवर्तन" ल्याइदिएको बताएका छन्।

अमेरिकी संसद् कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पले गरेको वार्षिक 'स्टेट अफ द यूनिअन' सम्बोधनमा त्यसो भनेका हुन्। अमेरिका पहिलेभन्दा ठूलो, राम्रो, धनी र बलियो भएको उनको दाबी थियो।

ट्रम्पले त्यसो भन्दा उनका समर्थकहरूले ताली बजाएर र नारा लगाएर स्वागत गरे। तर ट्रम्पको वार्षिक सम्बोधन सुरु हुँदा केही डेमोक्र्याट सांसदहरू हलबाट बाहिरिएका थिए।

उनले कङ्ग्रेसमा एक घण्टा ५० मिनेट सम्बोधन गरे। यो नै अहिलेसम्मको सर्वाधिक लामो 'स्टेट अफ द यूनिअन' भाषण हो।

ट्रम्प आप्रवासन र आफ्नो विदेशनीतिबारे पनि बोले। गत महिना भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेर अमेरिका ल्याइएको प्रसङ्ग निकाल्दै उनले "बलमार्फत् शान्ति" आफ्नो नीति भएको जनाए। उनले इरानलाई परमाणुअस्त्र नबनाउन चेतावनी दिँदै आफूले कूटनीतिमार्फत् समस्या समाधान गर्न चाहेको बताए।

न्यायाधीशहरूतर्फ हेर्दै असन्तुष्टि

उनको सम्बोधनका क्रममा दर्शकदीर्घामा सैन्य अधिकारीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरू पनि थिए।

आफूले घोषणा गरेको ट्यारिफलाई "महत्त्वपूर्ण आर्थिक परिवर्तन" दिने आधारका रूपमा प्रस्तुत गरेका ट्रम्पले सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरे।

उनले आफ्ना धेरै ट्यारिफहरूविरुद्ध सर्वोच्च अदालतको हालैको आदेशलाई "निराशाजनक" र "दुर्भाग्यपूर्ण" भने।

सर्वोच्च अदालतका नौ जनामध्ये कङ्ग्रेसमा उपस्थित चार न्यायाधीशहरूतर्फ हेर्दै उनले उक्त असन्तुष्टि जनाएका हुन्। तर उनले न्यायाधीशहरूको सोझै आलोचना भने गरेनन्।

अदालतको आदेशपछि पनि ट्यारिफहरू "पूर्ण रूपमा अनुमोदित र परीक्षित वैकल्पिक कानुनी स्थितिमा रहने" ट्रम्पको घोषणा छ, "तिनले कुनै समय आयकरलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने छन्।"

ट्रम्पले पहिलो पटक "ट्यारिफ" शब्दमा जोड दिँदा त्यहाँ पूर्ण मौनता थियो, तर त्यसपछि उनले आयातकरले "राम्रो गरिरहेको" बताएपछि केही हलचल सुनिन थाल्यो।

ट्रम्पले भने, "डेमोक्र्याटहरूलाई पनि यो थाहा छ।"

स्वास्थ्य सेवा र शेअर बजारको चर्चा

आफ्नो भाषणमा ट्रम्पले स्वास्थ्यसेवाको खर्चबारे पनि चर्चा गरे।

ट्रम्पले उच्च लागतको दोष 'ओबामा केअर'लाई दिए। बीमा कम्पनीहरूले उक्त योजनाको नीति आफू सम्पन्न हुन प्रयोग गरेको उनको आरोप थियो।

स्वास्थ्यसेवाको मूल्य पारदर्शिताका लागि आफूले जोड दिने राष्ट्रपति ट्रम्पको भनाइ छ।

शेयर बजार ट्रम्पको मन पर्ने मापदण्डहरूमध्ये एक हो जसको आधारमा अर्थव्यवस्थाको स्थितिबारे निरूपण गर्न सकिन्छ।

उनले आफ्नो निगरानीमा शेअर बजारले लाभ पाएको दाबी गरे, तर सर्वेक्षणहरूले धेरै अमेरिकीहरू ट्रम्पको नेतृत्वमा अर्थव्यवस्थाले लिएको दिशाप्रति असन्तुष्ट रहेको देखाएका छन्।

बीबीसीका एक संवाददाताले ट्रम्पले ती चिन्ताहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्छन् कि गर्दैनन् भन्ने हेर्न चाखलाग्दो हुने बताएका छन्।

सम्बोधनका क्रममा उनी आफ्नो आर्थिक उपलब्धिहरूको प्रशंसा जारी राख्छन्।

उनले न्यून मुद्रास्फीतिबारेको आफ्नो दाबी दोहोर्‍याए।

आफ्ना पूर्ववर्ती जो बाइडनको पालामा अमेरिकामा "इतिहासमा सबैभन्दा खराब मुद्रास्फीति" निम्तिएको ट्रम्पले बताए।

"मेरो प्रशासनले १२ महिनामै मुद्रास्फीतिलाई पाँच वर्षभन्दा लामो समययताको सबैभन्दा कम तहमा पुर्‍याएको छ," उनले कङ्ग्रेससमक्ष दाबी गरे।

उनले चुनावयता शेयर बजारले ५३ वटा कीर्तिमान बनाएको पनि जनाए।

आफ्नो प्रशासनले पहिलो वर्षमै १८० खर्ब डलरभन्दा बढी लगानी आकर्षित गर्न सफल भएको उनको दाबी छ।

अमेरिकी सिमाना 'अहिलेसम्मकै सुरक्षित'

ट्रम्पले अमेरिकाको सीमा अहिले निकै सुरक्षित बनेको बताए। उनका भनाइमा जुन यसअघि कहिल्यै थिएन।

उनले अवैध आप्रवासन र फेन्टानिलको तस्करी रोक्ने प्रयासको प्रशंसा गरेका छन्।

ट्रम्पले भने, "आज अमेरिकी सीमा सुरक्षित छ, शत्रुहरू डराएका छन्, सेना र प्रहरी तैनाथ भएका छन्, यसअघि कहिल्यै नपाएको सम्मान अमेरिकाले पाएको छ।"

अमेरिका-मेक्सिको सीमामा अवैध रूपमा सीमा पार गर्ने रेकर्ड गत वर्षको अन्त्यमा न्यूनबिन्दुमा पुगेको छ।

"अब हामीसँग अमेरिकी इतिहासको सबैभन्दा बलियो र सुरक्षित सीमा छ," उनी भन्छन्।

'देशले जित्दै छ'

राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको अवस्था सुदृढ बनेको बताए। "हाम्रो देशले फेरि जित्दै छ," उनको भनाइ थियो।

त्यसपछि उनले भर्खरै ओलिम्पिक्समा स्वर्णपदक जितेको अमेरिकी पुरुष हक्की टोलीको परिचय दिए। त्यही बेला उक्त टोलीका खेलाडीहरू पछाडिको ढोकाबाट भित्र प्रवेश गरेर सीटमा बस्न च्याम्बरतर्फ अगाडि बढे।

स्वर्णपदक जितेको महिला टोलीले निमन्त्रणा अस्वीकार गरेपछि पुरुष टोलीको उपस्थिति चर्चाको विषय बनेको छ।

ट्रम्पले आफ्नो भाषणमा महिलाहरूको विजयलाई टिप्पणी गर्दै भने, "उनीहरू चाँडै ह्वाइट हाउसमा आउने छन्।"

उनले सम्बोधनका क्रममा डेमोक्र्याटहरूलाई निसाना बनाएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।