तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पद्वारा 'तेस्रो विश्वका देश'बाट हुने आप्रवासनमा 'स्थायी रोक' लगाउने टिप्पणी
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले "तेस्रो विश्वका देशहरूबाट" हुने आप्रवासनमा स्थायी रोक लगाउने उद्घोष गरेका छन्।
सामाजिक सञ्जालमा एउटा लामो पोस्ट लेख्दै उनले बाइडन प्रशासनले लाखौँ मानिसलाई आप्रवासनका लागि दिइएको स्वीकृति खारेज गर्ने घोषणा गरेका छन्। उनले अमेरिकी नागरिकबाहेक अन्य व्यक्तिलाई सङ्घीय सरकारले दिने सेवासुविधा अन्त्य गर्ने र नागरिकता लिइसकेका आप्रवासीहरूले यदि आन्तरिक शान्तिमा खलल पुर्याए उनीहरूको नागरिकता खोसिने पनि जनाएका छन्।
वाशिङ्टनमा एक आप्रवासीले गोली प्रहार गर्दा घाइते भएका यूएस न्याश्नल गार्डका दुई सैनिकमध्ये एक जनाको मृत्यु भएपछि बिहीवार राति उनले आप्रवासीहरूप्रति कडा नीति अवलम्बन गरिने घोषणा गरेका हुन्। प्रहरीका अनुसार उक्त हमलामा एक अफगान नागरिक संलग्न थिए।
ट्रम्पले ह्वाइट हाउटनजिकै भएको गोलीकाण्डमा घाइते भएकी सेरा बेक्स्ट्रोमको मृत्यु भएको घोषणा गरेको केही घण्टापछि 'ट्रूथ सोशल'मा दुइटा पोस्टमा गरी कुल ५१० शब्द लेखेका छन्। उनको भाषा निकै उत्तेजनापूर्ण छ।
उनले आप्रवासन नीतिका कारण अमेरिकीहरूको अवस्था बिग्रिएको तर्क गरेका छन्। उनका अनुसार अमेरिकामा अहिले भएका ५.३ करोड विदेशी नागरिकहरूमध्ये अधिकांश "विफल राष्ट्रका" वा "जेल, मानसिक संस्था, आपराधिक गिरोह वा लागुपदार्थ तस्करी गर्ने समूहका" हुन् र उनीहरू सरकारले उपलब्ध गराएको सेवासुविधामा आश्रित छन्।
वाशिङ्टन डीसीको गोलीकाण्डले राष्ट्रिय सुरक्षामा खतरा भएको देखाएको राष्ट्रपति ट्रम्पले बताएका छन्।
उक्त घटना हुँदा ट्रम्प फ्लोरिडास्थित निजी निवासमा थिए।
ट्रम्पले शरणार्थीहरूका कारण "अमेरिकामा सामाजिक गतिरोध" सिर्जना भएको दाबी गर्दै लाभ नपुर्याउने जोसुकैलाई हटाउने बताएका छन्।
यसअघि अमेरिका सरकारले १९ वटा विभिन्न देशबाट आएर ग्रीनकार्ड लिई अमेरिकामा काम गर्ने अधिकारसहित बसोबास गर्दै आएका मानिसहरूको हैसियत आफूले फेरि जाँच्ने जनाएको थियो।
तर अधिकारीहरूले त्यसबारे विस्तृत विवरण दिएका छैनन्।
ग्रीनकार्ड परीक्षण हुने नागरिकहरू कुनकुन देशका हुन् भनेर बीबीसीले सोधेको प्रश्नमा उक्त निकायले ह्वाइट हाउसले गत जुनमा गरेको घोषणातिर सङ्केत गरेको छ।
त्यसमा अफगानिस्तान, क्युबा, हेइटी, इरान, सोमालिया र भेनेजुएलाको नाम उल्लेख छ।
गत साता यूएस सिटिजनशिप एन्ड इमिग्रेशन सर्भिसेजले राष्ट्रपति जो बाइडनको पालामा भित्र्याइएका सबै शरणार्थीहरूको समीक्षा गर्ने घोषणा गरेको थियो।
बुधवारको घटनापछि अमेरिकाले अफगान नागरिकहरूको सम्पूर्ण आप्रवासन निवेदनमाथिका प्रक्रिया स्थगित गरिदिएको छ।
सन्दिग्ध व्यक्तिबारे के थाहा छ
गोली प्रहार गर्ने सन्दिग्ध व्यक्तिको नाम रहमानुल्लाह लकन्वाल भएको बताइएको छ। उनी २९ वर्षका छन्।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि लागु गरिएको विशेष आप्रवासन योजनाअन्तर्गत उनी सन् २०२१ मा अमेरिका पुगेका बताइएको छ।
उनी वाशिङ्टनमा आफ्नी पत्नी र पाँच सन्तानसँग बस्दै आएका छन्।
उनले अफगानिस्तानमा अमेरिकी गुप्तचर संस्था सीआईएलाई सघाएको उक्त निकायका निर्देशकले बताएका छन्।
एक अमेरिकी अधिकारीले अमेरिकामा समाचार साझेदार सीबीएसलाई लकन्वालले सन् २०२४ मा शरण खोज्दै आवेदन दिएको र यो वर्षको आरम्भतिर त्यसका लागि अनुमति पाएको बताएका छन्।
ट्रम्पले उक्त घटनालाई "आतङ्कको कार्य" भनेका छन्।
सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गर्न चार पटक गोली प्रहार गरेको जानकारी सुरक्षास्रोतले सीबीएसलाई दिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।