तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मधेश प्रदेशका मतदाताले आमचुनावलाई कसरी हेर्दै छन्
- Author, माधुरी महतो
- Role, वीरगन्ज
- पढ्ने समय: ३ मिनेट
फागुन २१ गतेका लागि निर्धारित आमनिर्वाचनप्रति मधेशमा विशेष उत्साह देखिएको धेरैले बताइरहेका छन्।
वृद्धदेखि युवासम्मका विभिन्न उमेर समूहका मतदाताहरू यसपालिको चुनावमा केही सकारात्मक परिवर्तन होला कि भन्ने आशामा छन्।
मधेशका विभिन्न जिल्लामा उम्मेदवारहरूको घरदैलो, सभा तथा भेटघाट कार्यक्रम तीव्र भइरहेका छन् भने मतदाताहरूले पनि यस पटकको चुनावलाई निर्णायक रूपमा हेरिरहेका छन्।
अहिले मतदाताको मनोदशा मिश्रित देखिन्छ: पुराना दलहरूप्रति कतिपय असन्तुष्ट छन् भने नयाँ विकल्पप्रति कतिपय आशावादी देखिन्छन्।
"यस पटक परिवर्तन चाहिन्छ" भन्ने आवाज बलियो सुनिन्छ, तर जनताले भाषणभन्दा पनि काम गर्ने, विश्वासिलो र इमान्दार नेतृत्व खोजिरहेका छन्।
रौतहटकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकी जिना राणाले सबैलाई समान रूपमा हेर्न सक्ने उम्मेदवार छान्नुपर्ने बताइन्।
"हाम्रो समुदायका लागि मात्र होइन, सबै समुदायका लागि ठोस काम गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने सोचेका छौँ," उनले भनिन्।
सामाजिक सञ्जालमा धेरै प्रचार भए पनि वास्तविकता फरक हुन सक्ने भन्दै शिक्षा, रोजगारी र आर्थिक मुद्दालाई उनले मुख्य ठानेकी छन्।उनले भनिन्, "यसपालि उम्मेदवारीमा फरक देखिएको छ, चुनावपछि केही फरक अवस्था आउला भन्ने आशा छ।
अहिलेसम्म गरेका कामको मूल्याङ्कन गरेर दिने कि नयाँलाई पनि अवसर दिने भन्ने कुरा अहिले सोचिरहेका छौँ।"
जनकपुरकी स्नेहा सिंहले जेनजी आन्दोलनपछि देशले नयाँपन खोजिरहेको बताउँदै भनिन्, "परिवर्तनका लागि चुनाव र मतदान आवश्यक छ।"
सबै पुराना पार्टी खराब नभएको उल्लेख गर्दै उनले पार्टीभन्दा केही व्यक्तिका कारण बदनाम भएको धारणा राखिन्। रोजगारी र अर्थतन्त्र अहिलेको मुख्य मुद्दा भएको बताउँदै उनले महिलाको उम्मेदवारी अवस्था अझै उस्तै रहेकोमा असन्तुष्टि व्यक्त गरिन्।
वीरगन्जका समाजसेवी श्याम साहले २०८४ मा हुनुपर्ने निर्वाचन विभिन्न कारणले दुई वर्ष अगावै हुँदै गर्दा यो चुनाव देशकै लागि ऐतिहासिक हुने ठानेका छन्।
"युवामा मात्र होइन, सबै उमेर समूहमा उत्साह छ," उनले भने। विकास, उद्यम, स्थिर सरकार, शान्ति सुव्यवस्था रभ्रष्टाचारबिनाको शासन मुख्य मुद्दा भएको उनको भनाइ छ।
सप्तरीका युवा हरिओम् मेहताले अब सचेत र पढेलेखेको नेतृत्व आवश्यक रहेको बताए।
"नयाँ पार्टी नै हुनुपर्छ भन्ने होइन, जुनसुकै पार्टीका भए पनि काम गर्नेलाई मतदान गर्नुपर्छ," उनले भने।
प्रलोभनमा नपरी बुझेर मतदान गर्नुपर्ने र सामाजिक सञ्जालको प्रचारको पछि नलाग्न आग्रह गर्दै शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण मुद्दा भएकोमा उनको जोड छ।
समग्रमा मधेशमा मतदाताहरूले यो चुनावलाई आशा र दबाव दुवै रूपमा लिएका छन्।
जनता यसपटक इमान्दार, काम गर्ने र समान अधिकार सुनिश्चित गर्ने नेतृत्वको अपेक्षामा छन्।
चुनावी तथ्याङ्कमा मधेश प्रदेश
प्रदेश: मधेश
- जिल्लाको सङ्ख्या: ८
- कुल निर्वाचन क्षेत्र: ३२
- कुल मतदाता: ३६,३६,४१४
- महिला: १६,६३,३७४
- पुरुष: १९,७२,९६४
- अन्य: ७६
- कुल उम्मेदवार: १,०४२
- महिला: १०१
- पुरुष : ९४१
- अन्य: ०
- मतदान केन्द्र:४,४७९
- मतदान स्थल:२,१६०
विगतको नतिजा: कुन पार्टीले कति जिते?
- नेकपा एमाले: १५
- नेपाली कांग्रेस: १३
- जनमत: ६
- लोसपा: ७
- माओवादी: ४
- नेकपा एकीकृत समाजवादी: ४
- स्वतन्त्र: ६
- राष्ट्रिय प्रजातन्त्र पार्टी: १
- नेपाल सङ्घीय समाजवादी: १
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।