तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमा सरकारी दमनयता विद्यार्थीहरूद्वारा पहिलो पटक ठूलो प्रदर्शन
- Author, सियावश मेहदी अर्दलान र यारोस्लाभ लुकिभ
- पढ्ने समय: ३ मिनेट
इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले गत महिनाको घातक दमनयता पहिलो पटक सरकारविरोधी ठूला प्रदर्शनहरू गरेका छन्।
इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका बेला पछिल्ला प्रदर्शनहरू भएका हुन्।
राजधानी तेहरानस्थित शरिफ प्रविधि विश्वविद्यालयका क्याम्पसहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका भिडिओ फूटेजहरूको बीबीसीले भेरीफाई गरेको छ। पछि सरकार विरोधी र समर्थकहरूबीच झडपहरू भएका देखिएको थियो।
तेहरानस्थित अर्को विश्वविद्यालयमा सरकारविरोधी प्रदर्शनकारीहरूले धर्ना दिए भने पूर्वोत्तर क्षेत्रमा र्यालीहरू निकालिएका विवरणमा जनाइएको छ।
गत ज्यानुअरीमा सरकारविरोधी प्रदर्शनहरूका क्रममा मारिएका हजारौँ प्रदर्शनकारीको सम्झनामा विद्यार्थीहरूले यी प्रदर्शनहरू गरेका हुन्।
इरानलाई ट्रम्पको चेतावनी
संयुक्त राज्य अमेरिकाले इरानआसपास सैनिक उपस्थिति बढाउँदै लगेको छ र राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सैनिक कारबाहीबारे विचार गरिरहेको बताएका छन्।
अमेरिका र उसका युरोपेली साझेदारहरूले इरानको परमाणु कार्यक्रम अस्त्र विकासतर्फ बढिरहेको आशङ्का गर्ने गरेका छन्, तर इरानले त्यो कुरा अस्वीकार गर्दै आएको छ।
गत मङ्गलवार अमेरिकी र इरानी अधिकारीहरूबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएकोमा इरानको परमाणु कार्यक्रम कटौती गर्ने दिशाको वार्तामा प्रगति भएको उनीहरूले बताएका थिए।
तर वार्तामा प्रगति भएका विवरणहरूपश्चात् पनि ट्रम्पले इरानसँग सहमति हुन्छ अथवा अमेरिकाले सैनिक कारबाही गर्छ भन्ने कुरा "सम्भवतः आगामी १० दिनमा" थाहा हुने बताए।
अमेरिकी राष्ट्रपतिले यसअघि प्रदर्शनकारीहरूप्रति समर्थन जनाएका थिए र एउटा बिन्दुमा अमेरिकी "सहयोग पुग्न लागेको" भन्दै हौस्याएका पनि थिए।
नयाँ सेमेस्टर शुरू हुन लाग्दा शनिवार सयौँ विद्यार्थीहरूले शरिफ प्रविधि विश्वविद्यालयमा प्रदर्शनहरू गरेका देखिएको फूटेजहरूलाई बीबीसीले भेरीफाई गरेको छ।
प्रदर्शनकारीहरूले "तानाशाहीको मृत्यु होओस्" भन्ने नाराका साथै सरकारविरोधी अरू नाराहरू पनि लगाएका थिए।
विरोधी र समर्थकबीच झडप
नजिकै सरकार समर्थक प्रदर्शनकारीहरूले पनि प्रदर्शन गरेको भिडिओमा देखिन्छ। पछि दुई पक्षबीच झडपहरू भएको देखियो।
तेहरानस्थित शाहीद बेहेस्ती विश्वविद्यालयमा विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना दिएका देखिएको छ।
बीबीसीले तेहरानस्थित अमीर कबीर प्रविधि विश्वविद्यालयका फूटेजहरूको पनि भेरीफाई गरेको छ।
इरानको दोस्रो ठूलो पूर्वोत्तर शहर मशादमा स्थानीय विद्यार्थीहरूले "स्वतन्त्रता, स्वतन्त्रता" र "विद्यार्थीहरू आफ्ना अधिकारका लागि बोल्नूस्" भनी नारा लगाएका जनाइएको छ।
अरू ठाउँहरूमा पनि राम्रै सङ्ख्यामा मानिसहरूले प्रदर्शन गरेको र आइतवार पनि प्रदर्शन गर्नका लागि आग्रह गरिएको विवरणमा जनाइएको छ। प्रदर्शनकारीहरू कतै पक्राउ परे वा नपरेका स्पष्ट भएको छैन।
मुख्यतः महँगीविरुद्ध असन्तुष्टि पोख्न गत महिना शुरू भएका प्रदर्शनहरू छिटै देशव्यापी विस्तार भएको थियो।
सन् १९७९ को इस्लामिक क्रान्तियताकै इरानमा ठूला प्रदर्शन भएका बताइएको थियो।
ती प्रदर्शनहरूका क्रममा ६,१५९ जना व्यक्ति मारिएका अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीले पुष्टि गरेको जनाएको थियो।
त्यसमा ५,८०४ जना प्रदर्शनकारी, ९२ जना बालबालिका र सरकार सम्बद्ध २१४ जना थिए।
इरानी अधिकारीहरूले गत महिना ३, १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको बताएका थिए।
तीमध्ये "दङ्गाकारीहरू" बाट मारिएका अधिकांश सुरक्षाकर्मी अथवा बटुवाहरू रहेका अधिकारीहरूको दाबी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।