हस्तक्षेप गर्ने ट्रम्पको चेतावनीसँगै इरान यहाँ कसरी पुग्यो? समयरेखा बुझ्नुहोस्

आर्थिक उथलपुथलले चर्काएको र लामो समयदेखिको असन्तुष्टिले मलजल गरेको सरकारविरोधी प्रदर्शनले विगत दुई सातादेखि इरानलाई हल्लाइदिएको छ।

प्रदर्शनकारीहरू प्रत्येक प्रान्तका सहरहरूसम्म फैलिएका छन्। प्रदर्शनहरूमा सत्ताले गरेको दमनमा सयौँ मानिसहरू मारिएको अनुमान गरिएको छ।

अमेरिकाले इरानमा हस्तक्षेप गर्ने विचार गरिरहेको चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएसँगै इरान यहाँसम्म कसरी पुग्यो भनेर हामीले पछाडि फर्केर हेरेका छौँ।

सन् १९५३ : मोसाडेक अपदस्त

प्रजातान्त्रिक तवरबाट इरानको निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाडेकलाई सत्ताच्युत गर्न अमेरिका र ब्रिटेनका गुप्तचर निकायले 'कू' गर्ने योजना बनाए।

धर्मनिरपेक्ष नेता दुई वर्षअघि मात्र इरानको विशाल तेल भण्डारलाई राष्ट्रियकरण गर्ने वाचा गरी सत्तामा पुगेका थिए।

तर त्यसले स्पष्ट कम्युनिस्ट खतरासहित युद्धपछिको अर्थतन्त्र इरानी तेलको पहुँचमा धेरै निर्भर रहेका ती दुई पश्चिमा सरकारहरूलाई चिन्तित तुल्यायो।

निर्वासित राजा शाह मोहम्मद रेजा पह्लवी फर्किए र देशलाई नियन्त्रणमा लिए।

सन् १९६० को दशकको उत्तरार्द्धमा विपक्षी आन्दोलनहरूलाई नियन्त्रणमा लिन उनी बढ्दो रूपमा 'गुप्तचर प्रहरी' (सीक्रट पुलीस)माथि निर्भर हुन थाले।

उनका नीतिहरूले धर्मगुरुहरूलाई असन्तुष्ट बनाए र उनको अधिनायकवादी शासनले दङ्गा, हड्ताल र सामूहिक प्रदर्शनहरू निम्त्यायो। अन्ततः 'मार्शल ल' लागु भयो।

सन् १९७९ : इरानी क्रान्ति

आफ्नो शासनविरुद्ध धर्मनिरपेक्ष र धार्मिक विपक्षीहरूले महिनौँसम्म गरेको प्रदर्शन र हडतालपछि अमेरिका-समर्थित शाहले ज्यानुअरी १६ तारिखमा देश छोडे।

त्यसको दुई हप्तापछि इस्लामिक धर्मगुरु आयातोल्लाह खमेनी निर्वासनबाट फर्किए।

जनमत सङ्ग्रहपछि, एप्रिल १ तारिखमा इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरियो।

सन् १९७९-८१ : अमेरिकी राजदूतावास बन्धक सङ्कट

प्रदर्शनकारीहरूले १९७९ को नोभेम्बरमा तेहरानस्थित अमेरिकी दूतावास कब्जामा लिए। अमेरिकी बन्धकहरूलाई ४४४ दिनसम्म दूतावासभित्रै राखियो।

बाँकी रहेका ५२ बन्धकहरू जनवरी १९८१ मा मुक्त गरिए। दूतावासबाट भागेका अन्य छ जना अमेरिकीलाई फिल्म निर्माताको भेषमा एउटा टोलीले इरानबाट निकालेर लग्यो।

त्यो प्रकरण सन् २०१२ को ओस्कर विजेता फिल्म 'अर्गो'मा प्रस्तुत गरिएको छ।

सन् १९८०-८८ : इरान-इराक युद्ध आरम्भ

भूभाग र साम्प्रदायिक प्रतिद्वन्द्विताबारे इरान र इराकबीच लामो समयदेखि चलिरहेको विवाद युद्धमा परिणत भयो।

यो द्वन्द्व निकै छिटो गतिरोधमा परिणत भयो, रासायनिक हतियारसहित मोर्चाबन्दी गरेरै लडाइँ भयो। अनि सहरहरूमा हवाई आक्रमण गरियो।

एउटा बिन्दुमा, त्यसको बिस्तार हुँदै खाडीमा तेल ट्याङ्करहरूमा आक्रमण भयो। त्यसले गर्दा अमेरिका र अन्य देशहरूले सुरक्षाका लागि पानीजहाजहरू तैनाथ भए।

आधिकारिक नीतिअनुसार तटस्थ भनिए पनि अमेरिकाले इराकसँग गोप्य कुराकानी सुरु गर्दै आर्थिक सहयोग, हतियार र गुप्तचरी सूचना दियो। यो द्वन्द्व आठ वर्षसम्म चलेको थियो र पाँच लाखभन्दा धेरै मानिस मारिएका थिए।

सन् १९८५-८६ : इरान-कन्ट्रा काण्ड

लेबननमा हिज्बुल्लाहका लडाकुहरूले बन्धक बनाएका अमेरिकी बन्धकहरूलाई मुक्त गराउन तेहरानले गरेको सहयोगको बदलामा अमेरिकाले गोप्य रूपमा इरानलाई हतियार पठाएको दाबी गरिन्छ।

त्यसबाट प्राप्त मुनाफा निकारागुआस्थित अमेरिका समर्थित विद्रोहीहरूलाई अवैध रूपमा पुर्‍याइएको बताइन्छ।

सन् १९८८ : इरानको यात्रुवाहक विमान खसालियो

अमेरिकी युद्धपोत यूएसएस भिन्सेन्सले जुलाई ३ तारिखमा खाडीमा इरान एअरको विमान खसालिदियो। विमानमा सवार २९० जनाको मृत्यु भयो।

अमेरिकाले एअरबस ए-३०० जहाजलाई भुलवश लडाकु विमान ठानेको बतायो।

मृत्यु हुने अधिकांश पीडितहरू मक्का जाँदै गरेका इरानी तीर्थयात्री थिए।

सन् २००२ : 'एक्सिस अफ ईभल'

अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले आफ्नो 'स्टेट अफ द यूनियन' सम्बोधनमा इराक र उत्तर कोरियासँगको "एक्सिस अझ ईभल" को भन्दै इरानको निन्दा गरे। त्यो भाषणले इरानमा आक्रोश निम्त्यायो।

सन् २००० को दशक : पारमाणविक त्रास र प्रतिबन्धहरू

सन् २००२ मा एउटा इरानी विपक्षी समूहले इरानले युरेनिअम विकास कारखानासहित पारमाणविक अस्त्र विकास गरिरहेको खुलासा गरेको थियो।

अमेरिकाले इरानमाथि गोप्य रूपमा परमाणु हतियार कार्यक्रम सञ्चालन गरेको आरोप लगायो। इरानले त्यसको खण्डन गर्‍यो।

एक दशकसम्म कूटनीतिक गतिविधि र संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी संस्थासँग इरानको सम्पर्क समयसमयमा जारी रह्यो।

तर संयुक्त राष्ट्रसङ्घ, अमेरिका र युरोपेली सङ्घले कट्टरपन्थी राष्ट्रपति महमुद अहमदिनेजादको सरकारविरुद्ध कैयौँ चरणको प्रतिबन्ध लगाए।

त्यसका कारण इरानको मुद्राको मूल्य दुई वर्षमा दुईतिहाइ कम भयो।

सन् २०१३-२०१६ : वार्ता र परमाणु सम्झौता

इरानका नरमपन्थी नयाँ राष्ट्रपति हसन रुहानीले पदभार सम्हालेको एक महिनापछि सेप्टेम्बर २०१३ मा उनी र अमेरिकी राष्ट्रपति बराक ओबामाबीच फोनमा कुराकानी भयो। त्यो ३० वर्षभन्दा बढी समयपछि पहिलो पटक शीर्षस्थ तहमा भएको वार्ता थियो।

त्यसपछि सन् २०१५ मा कूटनीतिक सक्रियतापछि इरानले अमेरिका, ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीसहितको राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी समिति सदस्य र थप एक देशको समूहसँग आफ्नो परमाणु कार्यक्रमसम्बन्धी दीर्घकालीन सम्झौता गर्न सहमति जनायो।

सम्झौताअनुसार इरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र गम्भीर आर्थिक प्रतिबन्ध फुकुवाको बदलामा अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई अनुमति दिन सहमत भयो।

सन् २०१९ : खाडीमा तनाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०१८ को मे महिनामा परमाणु सम्झौताबाट बाहिरिए अनि इरानविरुद्ध पुनः आर्थिक प्रतिबन्ध लगाउँदै इरानको तेल खरिद गर्ने देश र कम्पनीलाई पनि त्यस्तै गर्ने धम्की दिए।

इरानको अर्थतन्त्र गम्भीर मन्दीमा फस्न पुग्यो।

अमेरिकाले सन् २०१९ को मे महिनामा इरानको तेल निर्यातलक्षित प्रतिबन्धमा कडाइ गरेपछि अमेरिका र इरानबीचको सम्बन्ध थप बिग्रियो।

त्यसको जबाफमा इरानले दबावप्रतिरोधी अभियान सुरु गर्‍यो। सन् २०१९ को मे र जुनमा ओमानको खाडी क्षेत्रमा छ वटा तेल ट्याङ्करमा विस्फोट भयो। अमेरिकाले त्यसको आरोप इरानमाथि लगायो।

इरानी फौजले जुन २० तारिखमा स्ट्रेट अफ हर्मुजमा अमेरिकी सैन्य ड्रोन खसाल्यो।

त्यसबखत अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आक्रमण भएको बताउँदा इरानले त्यो आफ्नो भूभागमाथि रहेको दाबी गर्‍यो। इरानले जुलाईमा परमाणु सम्झौताका प्रमुख प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो।

सन् २०२० : कासिम सुलेमानीको हत्या

इराकमा ज्यानुअरी ३ तारिखमा भएको अमेरिकी ड्रोन आक्रमणमा इरानका वरिष्ठ सैन्य कमान्डर जनरल कासिम सुलेमानी मारिए। उनको मृत्युको कठोर बदला लिने प्रतिबद्धता प्रकट गर्दै इरान सन् २०१५ को परमाणु सम्झौताबाट पछि हट्यो।

सन् २०२१-२०२२ : परमाणु वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडनले तेहरान परमाणु सम्झौताको कडा पालना गर्न तयार भएमा आफू फेरि सम्झौतामा सहभागी हुने र प्रतिबन्ध फुकुवा गर्ने बताए। तर सन् २०२१ मा कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुँदा र युक्रेनमा रुसको आक्रमणको प्रयासले वार्ता अवरुद्ध हुन पुग्यो।

सन् २०२२ : महसा अमिनीको मृत्युपछिको विद्रोह

नियमसङ्गत ढङ्गले हिजाब नलगाएको आरोपमा आचार तथा व्यवहार निगरानी गर्ने इरानी प्रहरीद्वारा गिरफ्तार २२ वर्षे कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्युले देशभरि विरोध प्रदर्शन निम्त्यायो। उक्त प्रदर्शनमा महिलाप्रति व्यापक सम्मानको माग भयो।

त्यो इरानी सत्ता इतिहासको पहिलो ठूलो विरोध प्रदर्शन थिएन। सन् २००९ को कथित "हरित आन्दोलन" धाँधली भएको भनिएको चुनावविरुद्ध मध्यमवर्गको विरोध थियो। त्यस्तै सन् २०१७ र २०१९ मा कमजोर वा गरिबबहुल इलाकामा अन्य ठूला प्रदर्शनहरू भएका थिए। तर पछिल्लो जनआक्रोश पहिले कुनै पनि शासनले देखेको भन्दा भिन्न छ।

त्यसपछिको क्रूर दमनमा सयौँ प्रदर्शनकारीहरू मारिए। हजारौँलाई गिरफ्तार गरियो।

सन् २०२३ : इरानी बन्दी साटासाट र हमासद्वारा इजरेलमा आक्रमण

सेप्टेम्बरमा, इरानमा जेलमा रहेका पाँचजना अमेरिकी नागरिकहरूलाई ६ अर्ब डलरको सम्झौताको एक भागका रूपमा रिहा गरियो। त्यसअनुसार अमेरिकी हिरासतमा रहेका पाँच इरानी नागरिकहरूलाई फिर्ता गरियो र दक्षिण कोरियामा निष्क्रिय तुल्याइएको इरानी कोष फुकुवा भयो।

इरानले वर्षौँदेखि समर्थन गर्दै आएको हमासले अर्को महिना इजरेलमाथि आक्रमण गर्‍यो, जसमा १,२०० बढी मानिसहरूको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइयो।

सन् २०२४ : इजरेल र इरानबीच प्रत्यक्ष द्वन्द्व

इरानले सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा आक्रमण गरी जेनरलहरूको हत्या गरेको आरोप इजरेलमाथि लगायो र पहिलो पटक आफ्नो भूमिबाट इजरेलविरुद्ध सीधा आक्रमण सुरु गर्‍यो।

अमेरिका र पश्चिमा शक्तिहरूले अधिकांश क्षेप्यास्त्रहरू खसाल्न इजरेललाई सहयोग गरे।

इजरेलले इरान समर्थित हमास र हिज्बुल्लाह समूहका नेताहरूको हत्या गर्नुका साथै क्षेप्यास्त्र प्रणालीलाई निसाना बनाउँदै इरानभित्र आक्रमण गर्‍यो।

जुन २०२५ : इरान-इजरेल युद्ध

इजरेलले इरानी सैन्य र परमाणु केन्द्रहरूमा व्यापक आक्रमण गर्दै शीर्षस्थ कमान्डर र वैज्ञानिकहरू मारिदियो।

इरानले जबाफमा इजरेली लक्ष्यहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्‍यो।

अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई असक्षम पार्ने उद्देश्यका साथ इरानका तीनवटा परमाणु इलाका हवाई आक्रमण गर्‍यो तर १२ दिन लामो द्वन्द्वपछि युद्धविरामको सहमति भयो।

डिसेम्बर २०२५ : सत्तालाई चुनौती दिएको विरोध प्रदर्शनमा घातक दमन

बिग्रिँदो अर्थतन्त्रलाई लिएर राजधानी तेहरानमा प्रदर्शनहरू सुरु भए। ती प्रदर्शनहरू द्रुत गतिमा सबै ३१ वटा प्रान्तका सहरहरूमा विस्तार भए।

इस्लामिक गणतन्त्र र सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको शासन अन्त्यको माग गर्दै भएको प्रदर्शनमा सरकारी दमन भइरहेको छ। हालसम्म १०,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका छन् र सयौँ प्रदर्शनकारीहरू मारिएका छन्। इरान सरकारले इन्टरनेट सेवा बन्द गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तक्षेपको निम्ति अमेरिकाले "निकै कडा विकल्पहरू" बारे विचार गरिरहेको चेतावनी दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।