तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला विश्वकप क्रिकेट छनोट: क्यान र महिला टोलीले पाएको अभूतपूर्व अवसर
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
सात महिनाअघि थाइल्यान्डमा नेपाली महिला क्रिकेट टोली टी-२० ग्लोबल क्वालिफायरमा छनोट हुनु ठुलो सफलता मानियो।
किनकि नेपालको महिला क्रिकेट टोली इतिहासमा पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेको थियो।
लगत्तै अर्को खुशीको खबर आयो- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ग्लोबल क्वालिफायरको खेल सञ्चालन गर्ने अवसर नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दियो।
यसअघि क्षेत्रीय प्रतियोगिताको मात्र आयोजना गर्न पाएको क्यानले अब ग्लोबल क्वालिफायर तहका प्रतिस्पर्धा आयोजना गर्न पाएको हो।
यी सफलता र प्राप्त अवसरपछि अब क्यानको लागि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने अनि महिला टोलीको लागि घरेलु भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती सामुन्ने छ।
प्रतियोगिता अर्को हप्ताबाट कीर्तिपुर क्रिकेट रङ्गशाला र माथिल्लो मूलपानी मैदानमा सुरु हुने छ।
क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, "आयोजनाको लागि नेपालले सबै खाले तयारी पूरा गरिसकेको छ। खेलाडीहरू पनि तयार छन्।"
शीर्ष ४ विश्वकपमा
ग्लोबल क्वालिफायरमा १० टोली भिड्दैछन्।
जसमा आयोजक नेपाल रहेको समूह 'बी' मा थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वे छन्। समूह 'ए' मा नामिबिया, अमेरिका, पीएनजी, इङ्गल्यान्ड र बाङ्ग्लादेश रहेका छन्।
समूह चरणमा समूहका टोलीहरूले एक अर्कासँग खेलेपछि शीर्ष ३ टोली अर्को चरणमा पुग्ने छन्।
जहाँ शीर्ष ६ टोलीहरू एक अर्कासँग भिड्ने छन्। र त्यहाँबाट शीर्ष चारमा रहने टोली यसै वर्ष हुने विश्वकपमा स्थान बनाउने छन्।
महिला टी-२० विश्वकप यसै वर्ष जुन/जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदै छ।
नेपालको समूहमा रहेका चार वटै प्रतिद्वन्द्वीहरू नेपालभन्दा माथिल्लो वरीयताका हुन्।
नेपाल वरीयताको २१ औँ स्थानमा छ भने स्कटल्यान्ड ११ औँ, थाइल्यान्ड १२ औँ, नेदरल्यान्ड्स १४ औँ, जिम्बाब्वे १५ औँ स्थानमा छन्।
नेपालको चुनौती
छनोटमा सहभागी टोलीमा बाङ्ग्लादेश, आयरल्यान्ड र जिम्बाब्वे टेस्ट राष्ट्रका हुन्। बाँकी राष्ट्र पनि बलिया छन्।
त्यसैले नेपालको लागि शीर्ष ४ भित्र पर्नु फलामको चिउरा चपाउनु सरह हुने ठानिएको छ।
यसैले क्यानले पनि महिला टोली केन्द्रित प्रशिक्षण सुरु गरिसकेको छ। प्रतियोगिताकै तयारीस्वरूप क्यानले महिला टोलीका लागि पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त गर्यो।
थाइल्यान्डलाई विश्वकपमा पुर्याइसकेका भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकले एक महिना अगाडिदेखि तयारी थालिसकेका छन्।
टोलीमा पुराना र युवा खेलाडीहरूको सम्मिश्रण देखिन्छ। प्रशिक्षक हर्षलले भनेका छन्, "चुनौती छ र हामी सकारात्मक छौँ। हामी घरेलु मैदानमा खेलिरहेका छौँ र सम्भावना उतिकै छ।"
नेपाली खेलाडीको लागि सबैभन्दा सकारात्मक पक्ष भनेको घरेलु मैदानमा आफ्नै दर्शकमाझ खेल्नु हुने मानिएको छ। नेपालको सबै खेल कीर्तिपुर क्रिकेट रङ्गशालामा राखिएको छ।
क्यानका सचिव पारस खड्काले दर्शकहरूलाई पुरुष क्रिकेटलाई जसरी नै महिला क्रिकेट खेलाडीलाई रङ्गशालामा नै आएर समर्थन गर्न अपिल गरिसकेका छन्।
क्यानको तयारी
फ्लडलाइट सहितको कीर्तिपुर क्रिकेट रङ्गशाला तयार छ। क्यानले माथिल्लो मूलपानीलाई पनि राम्ररी सजाइ सकेको जनाएको छ।
क्यान प्रवक्ता छुम्बी लामा भन्छन्, "पिच पूर्ण रूपले तयार छ। पहिले प्राक्टिस पिच थिएन। यसपालि थपियो। टेन्ट, प्लेयर बक्स जस्ता अस्थायी आवश्यक चिजहरू तयार भइसकेको छ।"
प्रतियोगिताको सम्पूर्ण खर्च आइसीसीले बेहोर्छ। त्यसमा स्थानीय प्रायोजक र टिकट बिक्रीबापत आउने रकम स्थानीय आयोजक अर्थात् क्यानलाई प्राप्त हुन सक्छ।
प्रवक्ता लामा भन्छन्, "टेलिभिजन राइट्सचाहिँ आइसीसी कै हुन्छ। अरू विषयमा छलफल भइरहेको छ।"
अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने सङ्केत
आइसीसीको ग्लोबल क्वालिफायर प्रतियोगिता पाएको क्यानले आगामी दिनमा आइसीसीका थुप्रै अरू प्रतियोगिता पाउने विश्वास गरेको छ।
क्यान प्रवक्ता लामा भन्छन्, "जेन जी आन्दोलनपछि आइसीसी केही सशङ्कित भएको थियो। तर एनपीएलको आयोजनाले शङ्का हट्यो। अब यो ग्लोबल क्वालिफायरले अरू 'इभेन्ट्स' निरन्तर पाउने आशा क्यानले राखेको छ।"
आइसीसीले क्यानलाई सन् २०२७ को यू १९ महिला विश्वकपमा नेपाललाई सह आयोजकको जिम्मा दिइसकेको छ।
यस अर्थमा दुई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान नेपालमा भइसकेको अवस्थामा नेपालले उमेर समूह र छनोटका प्रतियोगिताहरू पाउने सम्भावना धेरै रहेको जानकारहरू बताउँछन्।
त्यसो हुन सकेमा क्यान आर्थिक रूपमा सबल बन्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।