तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानको तेहरान र अन्य सहरमा पनि सरकार विरोधी विशाल प्रदर्शन
- Author, डेभिड ग्रीटेन
इरानमा विरोध प्रदर्शनकारीहरूको ठूलो भीड राजधानी तेहरान र अन्य सहरहरूमा भेला भैरहेका भिडिओहरूमा देख्न सकिन्छ। धर्मगुरुहरूको संस्थापनका विरोधीहरूले वर्षौँपछि गरेका शक्ति प्रदर्शनका रूपमा यसलाई लिइएको छ।
तेहरान र दोस्रो सहर मशादमा बिहीवार साँझ भएको शान्तिपूर्ण प्रदर्शनमा भेला भएकाहरूलाई सुरक्षा फौजले धपाउने प्रयास गरेको थिएन। त्यस घटनाका भिडिओ दृश्यहरूको बीबीसी पर्सिअन सेवाले वास्तविकता प्रमाणित गरेको थियो।
त्यसको केहीपछि देशव्यापी रूपमा इन्टरनेट बन्द गरिएको एउटा अनुगमनकारी समूहले बताएको छ।
प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई सत्ताच्युत गर्न र पूर्वराजा शाह मोहम्मदका निर्वासनमा रहेका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनु पर्ने माग गरेको भिडिओमा सुन्न सकिन्छ। पह्लवीले आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेका थिए।
इरानी मुद्रा रिआलको चर्को अवमूल्यन भएपछि इरानका ३१ वटै प्रान्तका १०० भन्दा बढी सहर र बस्तीहरूमा फैलिएको अशान्तिको यो लगातार १२ औँ दिन भएको अधिकारवादी समूहहरूले बताएका छन्।
अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए) ले अहिलेसम्म कम्तीमा ३४ जना प्रदर्शनकारीहरूको मृत्यु भएको र त्यसमा पाँच जना बालबालिका र ८ जना सुरक्षाकर्मी पनि रहेको जनाएको छ। प्रदर्शनका क्रममा २,२७० जना प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको बताइएको छ।
नर्वेमा रहेको निगरानी समूह इरान ह्युमन राइट्स (आईएचआर) ले सुरक्षा फौजबाट ८ बालबालिकासहित कम्तीमा ४५ जना प्रदर्शनकारी मारिएका जनाएको छ।
बीबीसी पर्सिअनले २२ जनाको मृत्यु भएको पुष्टि गर्न सकेको छ भने इरानी अधिकारीहरूले ६ जना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका छन्।
बिहीवार साँझ सामाजिक सञ्जालमा पोस्ट गरिएको र बीबीसी पर्सिअनले प्रमाणित गरेको भिडिओमा प्रदर्शनकारीहरूको ठूलो भीड देशको उत्तर-पूर्वी क्षेत्रस्थित मशादको मुख्य सडकमा अघि बढिरहेको देखिएको छ।
"शाह जिन्दावाद" र "यो अन्तिम लडाइ हो! पह्लवी फर्किनेछन्" भनेर नाराबाजी गरिएको पनि सुन्न सकिन्छ। र एउटा समयमा त धेरै पुरुषहरूले ओभरपासमा चढेर त्यहाँ निगरानीका लागि राखिएका जस्ता देखिने सीसीटिभी क्यामेराहरू हटाइरहेका देख्न सकिन्थ्यो।
अनलाइनमा राखिएको अर्को भिडिओमा प्रदर्शनकारीहरूको ठूलो भीड पूर्वी तेहरानको मुख्य सडकमा हिँडिरहेको देखिन्छ।
राजधानीको उत्तरबाट बीबीसी पर्सिअनलाई प्राप्त भिडिओमा अर्को ठूलो भीडले नारा लगाएको सुन्न सकिन्छ "यो अन्तिम लडाइ हो! पह्लवी फर्किनेछन्।" उत्तरी क्षेत्रका अन्य स्थानमा पनि सुरक्षाकर्मीसँगको झडपपछि प्रदर्शनकारीले "अपमानजनक" र "नडराऊ, हामी सबै सँगै छौँ" भन्दै चिच्याउँदै भिडिओ खिचेको थियो।
अन्य भिडिओहरूमा प्रदर्शनकारीहरूले मध्य सहर इस्फहानमा खामेनीलाई सङ्केत गर्दै "तानाशाह मुर्दाबाद" को नारा लगाएको देखाइएको छ। उत्तरी सहर बबोलमा "शाह अमर रहून्" र उत्तर पश्चिम सहर तब्रिजमा "नडराऊ हामी सबै सँगै छौँ" भन्दै नाराबाजी गरिरहेको देखिन्छ।
सन् १९७९ को इस्लामिक क्रान्तिले आफ्ना बुबालाई अपदस्थ गरेका र हाल वाशिङ्टन डिसीमा बस्ने रेजा पह्लवीले इरानीहरूलाई "सडकमा उत्रिन र संयुक्त मोर्चाको रूपमा आफ्ना मागहरू राख्न" आह्वान गरेको केही समयपछि यी साँझका विरोध प्रदर्शन भएका थिए।
एक्स पोस्टमा उनले "लाखौँ इरानीहरूले आज राती उनीहरूको स्वतन्त्रताको माग गरे" भन्दै प्रदर्शनकारीहरूलाई "साहसी देशवासी" भनेर व्याख्या गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई "सत्तालाई जबाफदेही" बनाएको भन्दै धन्यवाद दिएका छन् र युरोपेली नेताहरूलाई पनि त्यसै गर्न आग्रह गरेका छन्।
बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूको ज्यान लिने कार्य गरेमा आफूले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।
"मैले उनीहरूलाई यो जानकारी गराएको छु कि यदि उनीहरूले मानिसहरूलाई मार्न थाले भने -जुन उनीहरूले दङ्गाको समयमा गर्छन् र त्यहाँ धेरै दङ्गा भैरहेका छन् - यदि उनीहरूले त्यसो गरे भने हामी उनीहरूलाई धेरै कडा प्रहार गर्नेछौँ," उनले एउटा अन्तर्वार्तामा भनेका थिए।
इरानका राष्ट्रपति मसूद पेजेश्किआनले शान्तिपूर्ण प्रदर्शनको सामना गर्दा सुरक्षा फौजलाई "अधिकतम संयम" अपनाउन आग्रह गरेका छन्। "कुनै पनि हिंसात्मक वा जबरजस्तीको व्यवहार गर्नबाट जोगिनुपर्छ," एउटा विज्ञप्तिमा भनिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।