एक अन्तरिक्षयात्री 'गम्भीर बिरामी' परेपछि नासाको पूरै टोली अन्तरिक्ष स्टेशनबाट फर्किँदै

    • Author, म्याक्स माट्सा

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा भएका चार अन्तरिक्षयात्रीमध्ये एक जना "गम्भीर रूपमा अस्वस्थ" भएपछि पूरै टोली निर्धारित समयभन्दा एक महिनाअघि फिर्ता हुन लागेको अमेरिकी अन्तरिक्ष निकायले जनाएको छ।

व्यक्तिगत गोपनीयताको विषय भन्दै नासाले बिरामी परेका अन्तरिक्षयात्रीको नाम र उनलाई के भएको हो भन्ने खुलाएको छैन। तर सो निकायले ती व्यक्तिको अवस्था "स्थिर" रहेको बताएको छ।

"यो आकस्मिक उद्धार चाहिँ होइन," नासाका एक अधिकारीले भने। "हामी सधैँ अन्तरिक्षयात्रीको स्वास्थ्यका पक्षमा निर्णय लिन्छौँ।

उक्त टोलीका दुई सदस्यहरू बिहीवार आईएसएसबाट बाहिर निस्किएर अन्तरिक्षमा हिँड्ने ‍पूर्वनिर्धारित योजना थियो। तर नासाले "स्वास्थ्यका कारण" भन्दै उक्त योजना बुधवार अकस्मात् स्थगित गर्‍यो।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा नासा प्रमुख ज्यारड आइज्याक्मन र अन्य अधिकारीहरूले अन्तरिक्षयात्रीहरूको टोलीलाई फिर्ता ल्याउने घोषणा गरे।

नासा र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि 'पहिलो घटना'

नासाका अधिकारीहरूले अन्तरिक्षयात्री बिरामी परेको विषयमा विस्तृत विवरण दिएका छैनन्। तर पत्रकार सम्मेलनमा उनीहरूले स्वास्थ्यसम्बन्धी विषय अन्तरिक्ष अभियानसँग असम्बन्धित रहेको र चोटपटक पनि नभएको बताए।

उनीहरूका अनुसार अन्तरिक्षयात्रीहरूको फिर्तीको समयतालिका ४८ घण्टाभित्र तयार हुने अपेक्षा गरिएको छ।

नासाका प्रमुख स्वास्थ्य अधिकारी डा जेम्स पोकका अनुसार नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्यका कारण पूरै अभियान पूर्वनिर्धारित समयभन्दा अगाडि फिर्ता हुन लागेको यो पहिलो पटक हो।

आईएसएसमा सन् २००० देखि निरन्तर अन्तरिक्षयात्रीहरू बस्दै आएका छन्। नासाका अनुसार २५ वर्षको अवधिमा अहिलेसम्म आईएसएसमा २८० भन्दा बढी अन्तरिक्षयात्री पुगिसकेका छन्।

नासाको टोलीमा को छन्

यो चार-सदस्यीय टोलीलाई 'क्रू-११' भनिन्छ।

त्यसमा नासाका अन्तरिक्षयात्रीहरू जेना कार्ड्मन र माइक फिङ्क, जापानी अन्तरिक्ष निकाय जाक्साका किमिया युई र रुसी अन्तरिक्षयात्री ओलेग प्लाटोनोभ छन्।

अधिकारीहरूका अनुसार एक अमेरिकी अन्तरिक्षयात्री आईएसएसमै बस्ने छन्। त्यहाँ उनीसँग अन्य दुई रुसी अन्तरिक्षयात्री पनि हुने छन्।

गत वर्ष स्पेसएक्स क्रू ड्र्यागनमा चढेर क्रू-११ आईएसएसमा पुगेको थियो। उक्त टोली छ महिना अन्तरिक्षमा बसेर आगामी महिना फर्किने योजना थियो।

उक्त टोली फर्किनुभन्दा केही दिनअघि नासाले अर्को चार-सदस्यीय टोलीलाई आईएसएसमा पठाउन लागेको थियो।

केही काममा विलम्ब हुने

आईएसएसमा औषधोपचारका लागि चाहिने आधारभूत उपकरण, अन्य सामग्री र सञ्चारप्रणाली उपलब्ध छन्। आवश्यक परेको खण्डमा अन्तरिक्षयात्रीहरूले सञ्चारप्रणाली प्रयोग गरेर पृथ्वीमा चिकित्सकहरूसँग परामर्श गर्न सक्छन्।

यो टोली चाँडै फर्किँदा योजनामा रहेका वैज्ञानिक प्रयोग र मर्मतसम्भारको काममा एक महिना विलम्ब हुन सक्ने ओपन यूनिभर्सिटीसँग आबद्ध अन्तरिक्ष वैज्ञानिक सिमिअन बार्बर बताउँछन्।

"यो अन्तरिक्ष स्टेशन एउटा ठूलो र जटिल संरचना हो। यसलाई सञ्चालन गर्न निश्चित सङ्ख्यामा विशेषज्ञहरू आवश्यक हुन्छन्," उनले भने।

उनका अनुसार आईएसएसमा बाँकी रहने अन्तरिक्षयात्रीहरूले पृथ्वीबाट अर्को टोली नपुगेसम्म सम्भवतः प्रयोगात्मक काम थाती राखेर अन्तरिक्ष स्टेशन सञ्चालनसँग सम्बन्धित नियमित काममा बढी ध्यान दिनुपर्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।