अमेरिकाले आक्रमण गरे प्रत्याक्रमण गर्ने इरानको चेतावनी

सरकारविरोधी सयौँ प्रदर्शनकारी मारिएका बीबीसी स्रोत र अधिकारकर्मीहरूले बताइरहँदा आफ्नो देशमाथि संयुक्त राज्य अमेरिकाले आक्रमण गरेमा प्रत्याक्रमण गर्ने इरानले चेतावनी दिएको छ।

"यहाँको अवस्था निकै खराब छ," तेहरानस्थित एउटा स्रोतले आइतवार भन्यो। "हाम्रा धेरै साथी मारिएका छन्। सीधै गोली हानिएको छ। युद्धमैदान जस्तै भएको छ, सडकहरू रक्ताम्मे भएका छन्। शवहरू ट्रकमा राखेर उनीहरूले लगिरहेका छन्।"

राजधानी तेहराननजिक रहेको एउटा शवगृहबाट प्राप्त फूटेजमा कम्तीमा १८० वटा शव रहेका बीबीसीको गन्तीबाट देखिन्छ।

अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार देशभरि ४९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएका उसले पुष्टि गरेको छ।

प्रदर्शनका बीच दश हजार ६०० जना व्यक्तिलाई गिरफ्तार गरिएको उक्त संस्थाले जनाएको छ।

'सघाउन अमेरिका तयार'

प्रदर्शनकारीहरू मारिएका घटनालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले "स्वतन्त्रता खोजिरहेको" भन्दै "सहयोग गर्न अमेरिका तयार रहेको" शनिवार बताएका थिए।

अमेरिकाले के विचार गरिरहेको छ भन्नेबारे ट्रम्पले विस्तृत रूपमा उल्लेख गरेनन्।

बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई एक अमेरिकी अधिकारीले बताएअनुसार इरानमाथि सैनिक हमलाका विकल्पहरूबारे ट्रम्पलाई बताइएको छ।

अरू विकल्पहरूमा सरकारविरोधी अनलाइन स्रोतहरूलाई सशक्त बनाउने, इरानी सेनाविरुद्ध साइबर अस्त्रहरूको प्रयोग गर्ने अथवा इरानमाथि थप प्रतिबन्धहरू हुन सक्ने अधिकारीहरूले द वाल स्ट्रीट जर्नललाई बताएका छन्।

इरानी संसद्‌का सभामुखले यदि संयुक्त राज्य अमेरिकाले आक्रमण गरेमा सो क्षेत्रमा इजरेल र अमेरिकी सेना तथा तिनका पानीजहाज केन्द्रहरू जायज निशाना बन्ने चेतावनी दिएका छन्।

महँगीविरुद्ध शुरू भएका प्रदर्शनहरूले अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने माग गरिरहेका छन्।

इरानका महान्यायाधिवक्ताले विरोध गर्ने जोसुकैलाई "ईश्वरको शत्रु" मानिने बताएका छन्, जुन अपराधका लागि मृत्युदण्डको व्यवस्था छ।

अमेरिका र इजरेलमाथि आरोप

अर्कोतर्फ सर्वोच्च नेता खामेनेईले प्रदर्शनकारीहरूलाई "ट्रम्पलाई खुशी पार्न चाहिरहेका" "उपद्रयाहाहरूका जमात" भनी सङ्ज्ञा दिएका छन्।

"अमेरिका र इजरेलविरुद्ध इरान राष्ट्रको लडाइँमा मारिएका शहीदहरूको" सम्झनामा भन्दै इरानले आइतवार तीनदिने शोक घोषणा गरेको छ।

शुक्रवार राति राश्त शहरस्थित एउटा अस्पतालमा ७० वटा शव पुर्‍याइएको बीबीसी पर्सिअनले पुष्टि गरेको छ।

अर्कोतर्फ तेहरानस्थित एक अस्पतालका स्वास्थ्यकर्मीले बीबीसीसँग भनेः "करिब ३८ जनाको मृत्यु भएको छ। तीमध्ये धेरैको चाहिँ आपत्कालीन शय्यामा पुर्‍याउनासाथ मृत्यु भयो…युवाहरूका टाउकोमा र मुटुमा पनि सीधै गोली हानिएको देखिन्छ। धेरै त अस्पतालसम्म पुग्न सकेनन्।"

बीबीसी र अरू अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरान भित्रैबाट समाचार पस्कन सकिरहेका छैनन्।

इरान सरकारले गत बिहीवारबाट देशमा इन्टरनेट बन्द गराउँदा सूचना लिन र तिनको पुष्टि गर्न कठिन भएको छ।

इरानका राष्ट्रपति मसूद पेजेश्किआनले आफ्नो देशमा उत्पन्न तनावका लागि अमेरिका र इजरेलमाथि आरोप लगाएका छन्।

"उनीहरूले केही व्यक्तिहरूलाई देशभित्रै र बाहिर प्रशिक्षित गरेका छन्, बाहिरबाट आतङ्कवादीहरू भित्र्याएका छन्, मस्जिदहरूमा आगो लगाएका छन् र बजारमा आगजनी गरी राश्तमा बजार तथा संस्थाहरूमाथि हमला गरेका छन्," कुनै प्रमाण नदिई उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।