नेपालमा लम्पी स्किन रोगको महामारी: मान्छेमा सर्छ कि सर्दैन

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालका ३५ जिल्लामा हजारौँ सङ्ख्यामा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन्।

पशु सेवा विभागको तथ्याङ्कले उक्त रोगबाट हालसम्म १५,००० भन्दा बढी गाईभैँसी प्रभावित भएको देखाएको छ। यद्यपि सङ्क्रमित चौपायाको सङ्ख्या अझ बढी हुन सक्ने अधिकारीहरू बताउँछन्।

विभागस्थित एक वरिष्ठ अधिकारीका अनुसार यो रोगले अहिले महामारीको स्वरूप लिइसकेको छ।

“प्रभावित ठाउँहरूमा ठ्याक्कै कति सङ्ख्यामा गाईभैँसी मरेका छन् भन्नेबारे रिपोर्ट आउन बाँकी छ,” वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बीबीसीसँग भने।

"तर यो रोग अहिले महामारी बनेर सातै प्रदेशमा पुगिसकेको छ।"

लम्पी स्किन कहाँकहाँ फैलिएको छ?

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो।

केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।

राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।

पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो।

आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो।

त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको ढकाल बताउँछन्।

“सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो भने अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन्छ,” उनले थपे।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुनुमा जलवायु परिवर्तनसँग सम्बन्ध हुन सक्ने ढकालले बताए।

लम्पी स्किन कस्तो रोग हो?

गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

डा. ढकालका अनुसार सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।

“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्।”

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।

त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

मान्छेमा सर्छ कि सर्दैन?

पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन।

एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो।

“यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन,” डा. ढकालले भने।

यसको उपचार के हो?

यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।

“यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,” ढकालले भने।

भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ।

“एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्‍याएर गाईभैँसीलाई फेरि लाग्दैन,” उनले थपे।

सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ?

हालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला त्यसबाट सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएको थियो।

तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका थिए।

पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन।

“शरीरभरि घाउ नै घाउ भएको गाईभैँसीको दूध दुहेर खान मन नलाग्नु स्वाभाविक नै हो,” उनले थपे।

“तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन। मज्जाले उमालेर खान सकिन्छ।”

नियन्त्रणका लागि के गरिँदै छ?

लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी अगाडि बढिरहेको अधिकारीहरू बताउँछन्।

“नमुना सङ्कलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तह मिलेर गरिरहेका छौँ,” ढकाल भन्छन्।

“घाउ निको पार्न एन्टिबायोटिक औषधि दिने लगायतका 'जेनरल लाइन अफ ट्रीटमन्ट'को प्रोटोकल बनाएर काम गर्न लगाइएको छ।”

उनका अनुसार नेपालमा गाईबस्तुलाई खोप दिने कार्यक्रममा जोर्डनमा निर्मित खोप प्रयोग हुँदै आएको छ।