तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाईलाई सडकमा छाडा छोडेका कारण जेल सजाय
भारतको पश्चिमी राज्य गुजरातको एउटा अदालतले गाईलाई सडकमा छाडा छाडेकोमा एकजना पुरुषलाई ६ महिना जेल सजाय दिएको छ।
गाईवस्तुलाई छाडा छाडिदिएर अन्य मानिसको ज्यान जोखिममा पारेकोमा प्रकाश जयराम देसाई दोषी पाइएका छन्।
सडक तथा गल्लीमा छाडा गाईवस्तुका कारण बढ्दो समस्या बेहोर्ने कैयन् भारतीय राज्यमध्ये गुजरात एक हो।
अदालतले यस्ता प्रकृतिका कसुर बढ्दै गएकाले न्याय दिलाउन उक्त सजाय तोकिएको हो।
भारतको बहुमत हिन्दू समुदायमाझ गाई पवित्र जनावर मानिन्छ। गुजरात सहित १८ वटा भारतीय राज्यहरूमा तिनको हत्या गर्नु अवैध छ।
सन् २०१७ मा गुजरातले गाई रक्षासम्बन्धी कानुन कडा बनाउँदै गोबध गर्नेलाई आजीवन कारावास हुनसक्ने बनाएको थियो।
त्यसको अनपेक्षित परिणामस्वरूप सडकहरूमा ठूलो सङ्ख्यामा छाडा गाईवस्तु देखिन्छ भने त्यसैका कारण ट्राफिक जाम हुने तथा मानिसहरूमाथि आक्रमण हुने गरेका घटना बढेका छन्।
द टाइम्स अफ इण्डियाका अनुसार अदालतले उसको आदेशमा मालिकहरूले गाईवस्तु सडकमा छाडा छाडिदिँदा मानिसहरूको ज्यान गएका छन् तथा गम्भीर घाइते भएका छन्।
यो वर्षको सुरुमा गुजरातलगायत भारतीय राज्यहरूमा पशुमा छालाको रोग फैलिएर ठूलो नोक्सानी भएको थियो।
गुजरात राज्यमा १७०,००० पशुलाई उक्त रोग लागेको थियो भने ५८ सयको ज्यान गएको थियो।
सेप्टेम्बरमा सरकारले बाचाअनुरूप सहयोग नदिएको भन्दै गुजरातमा पशु आश्रय केन्द्र चलाइरहेका परोपकारी संस्थाहरूले हजारौँ गाईलाई छाडा छाडिदिएका थिए।
सरकारी कार्यालय भवनमा समेत गाई हिँडिरहेका भिडिओ भाइरल भएपछि अधिकारीहरूले कदम चाल्ने वाचा गर्नुपरेको थियो।