इन्डोनेशिया: कसरी एउटा विशाल अजिङ्गरले खेतमा काम गर्न गएकी महिलालाई निल्यो

इन्डोनेशियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ। सर्पले कसरी मान्छे खान सक्छ होला?

रबर सङ्कलनको काम गर्ने जाराहको उमेर ५० जति थियो र उनी गत आइतवार रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन्। तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो।

एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए। सर्पको पेटमा महिलाको शव फेला पर्‍यो।

"सर्पको पेटभित्र पीडित महिला थिइन्," बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्।

उनका अनुसार ती महिलाको लगभग सग्लो शव सर्पभित्र पाइएको थियो। उक्त सर्प कम्तीमा पाँच मिटर लामो भएको स्थानीय बासिन्दाले बताएका छन्।

हुन त यो घटना दुर्लभ हो। तर इन्डोनेशियामा अजिङ्गरले मानिसलाई मारेको र खाएको यो पहिलो घटना चाहिँ होइन।

यस्तै प्रकृतिका दुईवटा घटना सन् २०१७ र सन् २०१८ मा प्रकाशमा आएका थिए।

अजिङ्गरले कसरी आक्रमण गर्छ

इन्डोनेशियामा विगत पाँच वर्षमा मानिसहरूको ज्यान लिएको अजिङ्गर दक्षिण र दक्षिणपूर्वी एशियामा पाइने ठूलो प्रजातिको अजिङ्गर भएको बताइन्छ।

उक्त प्रजातिको अजिङ्गर १० मिटर अर्थात् ३२ फिटभन्दा लामा हुन सक्छ। उक्त सर्पलाई ज्यादै शक्तिशाली मानिन्छ।

तिनीहरूले पासो थापेर आक्रमण गर्ने अनि आफ्नो सिकारलाई बेर्ने अनि निचोर्ने र त्यसले सास फेर्न खोज्दा अझ जोडले च्याप्ने गर्छन्।

त्यही भएर केही मिनेटभित्रै निसासिएर वा हृदयाघात भएर मानिसको मृत्यु हुन्छ।

अजिङ्गरले आफ्नो आहारालाई सिङ्गै निल्ने गर्छ।

अजिङ्गरका बङ्गाराहरू लचकदार लिगामेन्टसँग जोडिएका हुन्छन्। त्यही भएर तिनले ठूलो शरीर भएका सिकारलाई पनि आफ्नो नियन्त्रणमा पार्छन्।

वाइल्डलाइफ रिजर्भ्स सिङ्गापुरकी संरक्षण तथा अनुसन्धान अधिकारी मेरी रुथ लोका अनुसार मानिसलाई खाँदा काँधको हाडले अवरोध गर्छ किनकि त्यो भाँचिइहाल्ने खालको हुँदैन।

उनी दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियामा पाइने अजिङ्गरसम्बन्धी विज्ञ पनि हुन्।

के अजिङ्गरले अरू ठूला जनावरलाई पनि खान्छ?

"अजिङ्गरहरू मुख्यतया स्तनधारी जीवहरू खान्छन्," लो भन्छिन्। उनका अनुसार तिनीहरूले कहिलेकाहीँ गोहीजस्ता घस्रिने जीवहरू पनि खान्छन्।

अजिङ्गरले मुख्यगरी मुसा र अरू जनावरहरू खान्छन्।

"तर जब तिनीहरू एउटा निश्चित आकारमा पुग्छन् तिनले मुसातिर ध्यान दिँदैनन्। किनकि त्यसबाट पाउने ऊर्जा तिनका लागि पर्याप्त हुँदैन।"

"चुरो कुरा के हो भने तिनीहरूको सिकार जति ठूलो हुन्छ तिनीहरू पनि त्यति नै ठूला हुन सक्छन्," लोले थपिन्।

उनीहरूले सुँगुर र गाईजत्रा ठूला जनावर पनि निल्न सक्छन्। तर कहिलेकाहीँ आहारालाई लिएर तिनमा भ्रम पनि हुन सक्छ।

सन् २००५ मा बर्मेली अजिङ्गरले फ्लोरिडामा एउटा गोहीलाई निल्न खोजेको थियो। तर त्यसक्रममा अजिङ्गरको भुँडी फुट्न पुग्यो र दुवैको मृत्यु भयो। तिनको शव पछि रेन्जरहरूले फेला पारेका थिए।

मौका ढुकेर सिकार गर्ने अजिङ्गरहरू आश्चर्यजनक पनि हुन्छन्। यदि तिनीहरूले उपयुक्त सिकार पाएनन् भने आवश्यक ठूलो जीव नभेट्टाएसम्म एकदमै कम चिज खाएर पनि बस्न सक्छन्।

के अजिङ्गरले पहिलो पटक मानव खाएको हो?

होइन। विगत पाँच वर्षमा इन्डोनेशियामा यस्ता दुईवटा घटना भएका छन्।

सन् २०१८ मा एक महिला आफ्नो तरकारीबारीबाट बेपत्ता भएकी थिइन्।

उनको चप्पल र औजार एक दिनपछि फेला परेको थियो र ठूलो पेट भएको विशाल अजिङ्गर ३० मिटर पर फेला परेको थियो।

"स्थानीय बासिन्दाहरूलाई सर्पले पीडितलाई निलेको शङ्का लाग्यो। उनीहरूले त्यसलाई मारिदिए र बोकेर बारीसम्म लगे। सर्पको पेट चिर्दा पीडितको शव त्यहाँभित्र फेला पर्‍यो," स्थानीय प्रहरी प्रमुख हम्काले एएफपी समाचार संस्थासँग भने।

सन् २००२ मा एक दशवर्षे बालकलाई अजिङ्गरले दक्षिण अफ्रिकामा निलेको थियो।

अनि सन् २०१७ को मार्चमा एक कृषकलाई सात मिटर लामो अजिङ्गरले इन्डोनेशियामा निलेको थियो।

त्यही वर्ष इन्डोनेशियाको सुमात्रा प्रान्तका एक पुरुष ७.८ मिटर लामो अजिङ्गरसँग लड्न सफल भएका थिए। पाम तेलका लागि खेती भइरहेको स्थानमा अजिङ्गरको आक्रमणमा परेका उनलाई गम्भीर चोट लागेको थियो।

त्यसअघिका दाबी केही वर्षअघि भएका र दुर्गम क्षेत्र अनि विश्वसनीय प्रत्यक्षदर्शीको अभाव रहेकाले प्रमाणित गर्न गाह्रो छ।

फिलिपिन्सका सिकारीहरूको एउटा समूह आग्टाको अध्ययनमा दशकौँ बिताएका मानवशास्त्री टमस हेडल्यान्डले उक्त आदिवासी समूहका एकचौथाइभन्दा धेरै व्यक्तिलाई कुनै बिन्दुमा अजिङ्गरले आक्रमण गरेको बताएका छन्।

उनका अनुसार लगभग धेरैले ती हमलाहरूलाई धारिलो हतियारले असफल बनाउने गरेको भए पनि वयस्क आग्टा जो होचा हुन्छन् तिनीहरूलाई बेलाबेलामा सर्पले शिकार गर्ने गरेको उनको अनुसन्धानले देखाएको छ।

इन्डोनेशियाको बार्बिजया विश्वविद्यालयस्थित सर्पसम्बन्धी विज्ञ निआ कुर्नीआवानले यसअघि अजिङ्गरहरू कम्पन, बत्तीको प्रकाशप्रति संवेदनशील रहने भएकाले उनीहरूले साधारणतया मानवबस्तीमा प्रवेश नगर्ने बीबीसी इन्डोनेशियालाई बताएकी थिइन्।

यो पनि हेर्नुहोस्