तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्लभ दुईटाउके सर्प 'डबल डेभ' अमेरिकामा फेला पर्यो
दुइटा टाउको भएको एउटा दुर्लभ सर्प अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा फेला परेको छ।
टिम्बर र्याटलस्नेक जातको सो बच्चा सर्पलाई 'डलब डेभ' नाम दिइएको छ। सो जातको सर्प विषालु हुन्छ।
एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो।
यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन्। तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन्। ती अङ्ग क्रियाशील छन्।
तर शरीर भने टाउकोमुनि एउटै छ।
प्राकृतिक वासस्थानमा उसलाई बाँच्न गाह्रो हुने पर्यावरणविद् डेभ श्नाइडर बताउँछन्।
उनी भन्छन्: भाग्न खोज्दा उसको शरीर साह्रो हुन्छ र त्यसो हुँदा ऊ सजिलै अरू जीवको सिकार बन्न सक्छ।
सङ्कटापन्न र जोखिमा परेका सरिसृपहरूबारे अध्ययन गर्ने हर्पेटोलोजिकल असोशिअट्स नामक संस्थासँग आबद्ध श्नाइडरका अनुसार उनी र उनका एक सहकर्मीले अगस्ट २५ मा पाइन ब्यारन्सको जङ्गलमा डबल डेभलाई फेला पारेका थिए।
र्याटलस्नेकले बच्चा जन्माएको हेर्दैगर्दा उनीहरूले दुईटाउके सर्प फेला पारेका थिए।
शरीर जोडिएका जुम्ल्याहाको जन्म भएको जस्तै एउटै भ्रूणबाट दुईटाउके सर्पको पनि उत्पत्ति हुन्छ।
श्नाइडर र उनका सहकर्मी दुवै जनाको नाम डेभिड भएकाले उनीहरूले सो सर्पलाई डबल डेभ नामकरण गरे।
श्नाइडरले सो दुर्लभ सर्प आफूले राख्न र अध्ययन गर्न राज्यका सम्बन्धित निकायबाट विशेष अनुमति लिएको बीबीसीलाई बताए।