पाँच सय किर्नाले सताएको अजिङ्गरलाई रक्त अल्पताको उपचार

अस्ट्रेलियामा ५०० भन्दा बढी किर्नाले शरीर ढाकेको अवस्थामा उद्धार गरिएको अजिङ्गरलाई रक्त अल्पता भएको र ऊ कमजोर अवस्थामा रहेको पशुचिकित्सकहरूले बताएका छन्।

गत हप्ता सो अजिङ्गर क्वीन्स्ल्यान्डको गोल्ड कोस्टमा एउटा घरपछाडि रहेको पौडी पोखरीमा भेटिएको थियो।

नाइक नाम दिइएको सो सर्पलाई पशुचिकित्सकहरूले 'नराम्रो सङ्क्रमण'बाट जोगाउन उपचार गरेका थिए।

"किर्नाहरूका कारण अजिङ्गर हिँड्न नसक्ने अवस्थामा थियो र तिनले त्यसको लाभ उठाए," नाइकको उपचार भइरहेको पशुचिकित्सालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

पशुचिकित्सकले सो सर्पमा टाँसिएका ५११ किर्ना झिकेका थिए।

निको भएपछि केही महिनाभित्रै सो अजिङ्गरलाई जङ्गलमा छोडिने बताइएको छ। अहिले उसलाई अनुभवी व्यक्तिको स्याहारमा राखिएको छ।

"नाइक बाहिर ज‌ङ्गलमा छैन तर ऊ रूपमा पूर्ण निको हुने कुरामा हामी विश्वस्त छौँ," चिकित्सालयले भनेको छ।

किर्नाले रगत चुस्ने हुनाले किर्ना परेका जनावरमा रगतको कमी हुन सक्छ।

सो अजिङ्गर पोखरीबाट झिक्दा 'सरिरहेको गुच्चाको झोला हातमा बोकेको' जस्तो अनुभव भएको एक उद्धारकर्ताले बताएका थिए।

किर्नाको आक्रमणमा कोआला

सो पशुचिकित्सालयले हालै सयभन्दा बढी किर्ना परेको कोआलाको उपचार गरेको जनाएको छ।

कोआलाबाट किर्ना हटाउन पशुचिकित्सकहरूलाई दुई घण्टाभन्दा बढी समय लागेको थियो।

सो कोआलालाई बिरामी वा घाइते भएर जमिनमा बसिरहेको अवस्थामा आमाबाट छुट्ट्याएर उद्धार गरिएको थियो।

विशेषज्ञहरू जनावरहरूमा केही किर्ना पर्नु वा अरू परजीवी हुनु स्वाभाविक भएको बताउँछन्।

जनावर बिरामी वा कमजोर भएको अवस्थामा किर्नाको सङ्ख्या ह्वात्तै बढ्ने र जनावरको रोगप्रतिरोधी क्षमता गुम्ने हुन्छ।

यो पनि हेर्नुहोस्