तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तकियाको खोलभित्र भेटिएका २९ सर्पको रहस्यको खोजी
गत फेब्रुअरी महिनामा इङ्ल्यान्डमा तकियाको खोलभित्र २९ वटा सर्प राखेर फोहर फालिने भाँडोमा छाडिएको घटनाको अनुसन्धान जारी छ।
त्यो घटना धेरैका निम्ति रहस्यमय बन्न पुगेको छ।
बीबीसी संवाददाता क्रिस स्टोकल-वाकर लेख्छन्:
भ्यालेन्टाइन्स डेको अघिल्लो साँझ इङ्ल्यान्डको सन्डरल्यान्डका उद्धारकर्ताहरूलाई एउटा अनौठो गतिविधिबारे अध्ययन गर्ने जिम्मेवारी दिइयो।
उद्धारकर्ताकै भवनको पछाडि एउटा फोहर फाल्ने भाँडो थियो जसमा तकियाको खोलभित्र दुईदेखि चार फिट लामा १३ वटा रोयल पाइथन नामक सर्पहरू थिए।
उद्धारकर्ताहरूले रोयल सोसाइटी फर दी फ्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स् आरएसपीसीएलाई डाके। त्यहाँ पुगेका अधिकारीले निस्क्रिय ती सर्पलाई लिएर गए।
भोलिपल्ट एकजना स्थानीय पशु चिकित्सकले एउटा बाहेक सबैको अवस्था राम्रो रहेको ठम्याए। त्यो एउटा सर्प पछि मरेको थियो।
आरएसपीसीएका निरीक्षक ट्रेभर वाकर लाई बोलाइयो। न्यूक्यासलमा काम गर्ने उनी योर्कशरका बासिन्दा हुन्।
त्यस दिन उनलाई आफ्नो परिवार भेट्न जानु थियो। योर्कशरस्थित आरएसपीसीएको विशेषज्ञ केन्द्रमा ती सर्पलाई सार्नुपर्ने थियो। आफ्नो गाडीको पछाडि राखेर लग्न उनी तयार भए।
"सर्प राखिएका १२ वटा झोला गाडीको सामान राख्ने ठाउँमा राख्यौँ," उनले सुनाए।
"आधा बाटो नकाट्दासम्म त्यसबारे पत्नीलाई जानकारी दिइन। यदि उनले त्यो थाहा पाएको भए राम्रो मान्थिन जस्तो लाग्दैन।"
ती सर्प केन्द्रमा बुझाएपछि उनी घरायसी काममा लागे।
अर्को दिन जब उनले आफ्नो आईप्याड हेर्दै थिए, उनले ताजा जानकारी पाए, उही ठाउँमा त्यसैगरी सर्पहरू छाडिएका छन्।
एउटा अजिङ्गर र अमेरिकाको दक्षिणपूर्वी र मध्य भागमा पाइने कोर्न सर्प १५ वटा दुईवटा गुलाबी रङ्गका तकियाको खोलभित्र थिए।
नर्थ इस्ट रेप्टाइल रेस्क्यु नामको संस्थाका एलेक वुड भन्छन्, "सामान्य मान्छेका निम्ति यो आतङ्क र अचम्मको घटना हो। यो क्रुर काम हो।"
वाकरका बुझाइमा यति धेरै सङ्ख्यामा सर्प भेटिनु सामान्य होइन।
उनी भन्छन्, "यो कुनै प्रकारको व्यापारको निम्ति हुनुपर्छ, कुनै किसिमको पशु पसलको निम्ति पनि हुनसक्छ।"
आरएसपीसीएले त्यसको अनुसन्धान गरिरहेको छ। तर त्यस इलाकामा सीसीटीभी फुटेज नहुँदा अनुसन्धानमा अप्ठेरो परेको छ।
पशु अधिकारमा कार्यरत समूह पेटाले सर्प छाड्ने मानिसलाई गिरफ्तार र सजाय दिलाउनका निम्ति सूचना दिनेलाई २,५०० पाउन्ड पुरस्कार दिने घोषणा गरेको छ।
ब्रिटेनमा घरपालुवा जनावरको रूपमा चार लाख सर्पहरू रहेको अनुमान छ। तर अजिङ्गर र कर्न सर्प पाल्नु सस्तो छैन।
आरएसपीसीएले हरेक सर्पलाई अलग्गै खोरमा राख्न सिफारिस गरेको छ। जसले गर्दा जनावरहरूले शरीर तन्काउन सकून्।
त्यस्तै खोरको एकतिरको भाग अर्कोभन्दा उज्ज्यालो र न्यानो हुनुपर्छ।
वुडका अनुमानमा सम्भवत: आकस्मिक पारिवारिक बिखण्डन, अप्रत्याशित गम्भीर बिरामी वा मृत्युसम्बन्धी कुनै स्थितिले गर्दा उनीहरूका आफन्त वा साथीले ती सर्पलाई के गर्ने भन्ने थाहा नभएर पनि फालेका हुन सक्छन्।
उनले भने, "यदि परिस्थिति अचानक बदलियो भने तपाईँसँग वैधानिक प्रक्रियाबाट त्यस्तो ठूलो सङ्कलनबाट मुक्त हुने समय नहुन सक्छ।"
न्याश्नल सेन्टर फर रेप्टाइल वेलफेयर एनसीआरडब्ल्यूका क्रिस न्यूम्यान पनि सर्पहरू त्यसरी फालिनुलाई असामान्य नै मान्छन्।
"सौखिनहरू आफ्नो समुदायमा निकै जोडिएका हुन्छन्," उनी भन्छन्, "त्यसैले ती सर्पहरू कसको हुन् भन्नेबारे तीमध्ये कसैलाई पक्कै थाहा हुनुपर्छ।"