तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कृषि उत्पादन उकालो लाग्दा कसरी हरितगृह ग्यास उत्सर्जन बढ्यो
- Author, माधुरी महतो
- Role, वीरगन्ज
प्राविधिकको सल्लाह लिएर रोपाइँ गर्न थालेदेखि वीरगन्ज–३१ का कृषक नजिम मियाँले नियमित रूपमा धानको उत्पादन वृद्धि गर्दै आएका छन्।
“मेरो दुई बिगाहा धान खेतमा कृषि प्राविधिकले दिने बीउ मात्रै रोप्दै आएको छु। समयसँग सुहाउँदो बीउ पाइने भएकाले यसले बढी उत्पादन दिने गर्छ,” उनले भने।
धानको राम्रो उत्पादनका लागि खेतमा पर्याप्त मात्रामा पानी जम्मा गरेर राख्नुपर्छ।
सिचाइको व्यवस्था नभएका ठाउँमा पानीलाई समेत खेतमा सञ्चित गरेर राख्नुपर्ने हुन्छ।
कतिले मोटर मार्फत पानीको जोहो गर्छन्। बीउ जोगाउनका लागि कतिपयले किरा मार्ने औषधिको पनि प्रयोग गर्छन्।
कतिले आधुनिक मेसिनको प्रयोग गर्छन्। यसले स्रोत साधनको प्रयोग र खपत बढाउनेसँगै फसल उत्पादनमा बढोत्तरी गर्छ सँगै हरित गृह ग्यास उत्पादन पनि बढाउँछ।
विगत १० वर्षदेखि रैथाने बीउ प्रयोग गर्दै आएका नजिम परम्परागत कृषि प्रणालीमा विश्वास गर्छन्। उनको अनुभवमा बाली सप्रनका लागि ठिक समयमा सिचाइको उचित व्यवस्थापन हुनुपर्छ।
मधेश प्रदेश खेतीपातीका लागि उर्वर भूमि हो । धान, तरकारी, फलफूल, उखु उत्पादनमा मधेश अग्रणी स्थानमा छ।
सबैभन्दा धेरै कृषि आम्दानी गर्ने प्रदेश
नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशमा खाद्य तथा अन्य बाली २९ लाख ५९ हजार ६५० मेट्रिक टन उत्पादन भएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष मुलुकभर ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन हुँदा मधेश प्रदेशमा मात्रै १३ लाख ८६ हजार ३ सय २८ टन उत्पादन भएको थियो ।
प्रदेशका आठ वटै जिल्लामा गरी कूल ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा रहेको छ। मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ। यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो ।
मधेश प्रदेश अन्तर्गत पनि सबै भन्दा धेरै धान उत्पादन हुने तथा खेती हुने जिल्लामा पर्सा जिल्ला पर्ने कृषि मन्त्रालयको तथ्याङ्कमा छ।
जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार विगत केही वर्षहरूमा जिल्लामा धान उत्पादन थप बढेको छ। गत २० वर्षयता जिल्लामा धान खेती गर्ने ठाउँ ४६ हजार हेक्टर बढेर ४७ हजार पुगेको छ । यो बीचमा उत्पादन पनि २ लाख २३ हजार मेट्रिक टनबाट बढेर २ लाख ३३ हजार मेट्रिक टन पुगेको देखिन्छ।
वर्षको तीन पटकसम्म धान उत्पादन
पर्सालाई धान उत्पादनको पकेट क्षेत्र मानिन्छ।
सिचाइको सुविधा हुँदा यहाँ तीन पटकसम्म धान उत्पादन हुन्छ। जिल्लामा चैते, भदै र अगहनी गरेर तीन पटकसम्म रोपाई हुने गर्छ।
विगतका वर्षहरूमा ८५ प्रतिशत मात्रै धान रोपाइँ हुँदै आएकोमा यो वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरेश कुशवाहाले बताए।
जिल्लाको ५४ हजार हेक्टर कृषियोग्य जमिनमध्ये ५० हजार हेक्टरमा खेती हुने गर्छ।
तीमध्ये ४७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको उनले बताए। जिल्लाको कूल क्षेत्रफल १ लाख ३५ हजार हेक्टर छ।
जिल्ला सिचाई कार्यालय पर्साका अनुसार २९ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिचाई हुँदै आएको छ।
विगतमा धान, मकै, कोदो, जौ, उखु, सुर्तीलगायत आँप, केरा, अदुवा, बेसारको खेती हुन्थ्यो। अहिले त्यो हट्दै गएर “धान, गहुँ, आलु र केही तरकारीहरू मात्रै उत्पादन हुन्छ,” कुशवाहा भन्छन्।
जिल्लाका ८० प्रतिशतभन्दा बढी कृषक मौसमी धान रोपाइँमा निर्भर छन्।
अनियमित वर्षाको बढोत्तरी, आरिघोप्टे वर्षा, प्राकृतिक प्रकोपलगायत मनसुनी गतिविधिमा आइरहने फेरबदलले कृषि उत्पादनमा ह्रास ल्याइरहेको जानकारहरू बताउँछन्।
हरितगृह ग्यास उत्सर्जन बढ्यो
रोपाइँ र धान काट्ने नियमित समय नै परिवर्तन हुँदै आएको कृषकहरू बताउँछन्। यसले खेती प्रणालीलाई मात्रै नभई हरित गृह ग्यास उत्सर्जनमा समेत प्रत्यक्ष प्रभाव परेको छ, तर कसरी ?
सन् २००८ मा नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको एउटा अनुसन्धानमा कार्बन डाइअक्साइडको मात्रासँगै तापक्रम बढ्दा धानको फसल १७.०७ प्रतिशतले बढेको देखायो।
एउटा बन्द अवस्थामा ६.२ डिग्रीको तापक्रम बढाउँदा धानको उत्पादन वृद्धिदर त देखायो तर १.६ डिग्रीले तापक्रम बढेको उक्त अनुसन्धानमा पाइयो। धानमा नाइट्रोजनको मात्रा १६.३ प्रतिशतले बढेको पाइयो।
नार्ककै अर्को एक अनुसन्धानमा आधारित प्रतिवेदनले नेपालमा हरेक मौसममा धान खेतबाट मात्रै मिथेन उत्सर्जन २८ केजी प्रति हेक्टर हुने गरेको देखायो। यसमा अधिकतम उत्सर्जन ४९ केजी थियो। यी खेतमा नाइट्रोजन ५० प्रतिशत मात्रै हालिएको थियो। नियन्त्रित खेतमा गरिएको अनुसन्धानमा भने मिथेन उत्सर्जन ७.७ प्रतिशत देखियो।
कारण के हो?
मिथेन हरितगृह प्रभाव बढाउने ग्यास हो। पृथ्वीको तापक्रम बढाउनका लागि हरितगृह ग्यासको भूमिका हुन्छ। यस्तो हुँदा पृथ्वीमा हुने चक्रीय प्रणालीलाई असर गर्ने विज्ञहरू बताउँछन्।
नेपालका कृषि वैज्ञानिकहरूका अनुसार यस्तो उत्सर्जन भारत र थाइल्यान्डको तुलनामा भने कम हो। धान खेतबाट थाइल्यान्डमा ४९ र भारतमा ४५ केजी प्रति हेक्टर मिथेन उत्सर्जन हुने गरेको उनीहरूको भनाई छ।
कोरियामा भने यस्तो उत्सर्जन ३६७ केजी प्रति हेक्टर रहेको दाबी गरिएको छ। पर्याप्त मात्रामा सिचाई सुविधा पुगेको ठाउँमा र अत्यधिक कृषि मल प्रयोग गरेको ठाउँमा उत्सर्जन धेरै हुने गरेको उक्त अध्ययनको निष्कर्ष छ।
खेती प्रणालीमा चाहिनेभन्दा बढी पानी जम्मा गरेर राख्ने प्रचलन नेपालमा छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले पठाएको विवरण अनुसार कूल हरितगृह ग्यास उत्सर्जनको आधा हिस्सा कृषि क्षेत्रबाट हुने गरेको देखाइएको छ।
कृषि क्षेत्रमा पनि सबैभन्दा बढी कुहिएर मल बन्ने प्रक्रिया धेरै हुँदा उत्सर्जन धेरै रहेको पाइएको थियो। यस्तै, २४ प्रतिशत उत्सर्जन चाहिँ धान खेतबाट हुने गरेको पाइएको छ।
कृषि क्षेत्रबाट हुने उत्सर्जनको कारण विज्ञहरूले अनियमित वर्षा, जलवायु परिवर्तनको असर, सिचाइको अभाव लगायत देखाउने गरेका छन्। खेतहरूमा रासायनिक मलको अत्यधिक प्रयोग, अनावश्यक रूपमा खेतमा पानी जमाउने गतिविधिले हरितगृह ग्याँस उत्सर्जनमा वृद्धि गरेको कृषि विज्ञ डा पशुपति चौधरी बताउँछन्।
तापक्रम वृद्धिले निम्त्याएका समस्या
बालीनालीमा किराको प्रकोपमा वृद्धिका साथै, परम्परागत (रैथाने) बीउ तथा बाली लोप हुनु जस्ता समस्याहरू तापक्रम वृद्धिकै कारण देखिने गरेको चौधरीले बताए।
जलवायु परिवर्तनकै कारण बाली मौसम अनुसारको नहुने, विगतमा धेरै उत्पादन हुने बाली अहिले थोरै हुने, पहाडमा उत्पादन हुने बाली तराईमा हुने, तराईमा उत्पादन हुने बाली पहाडमा हुने जस्ता अनियमित सङ्केतहरू देखा पर्न थालेका छन्।
उनका अनुसार धान उत्पादनमा पर्याप्त मात्रामा नतिजा नआउनुको कारण पनि जलवायु परिवर्तनको असर हुनसक्छ।
वन तथा वातावरण मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी कार्यनीति बनाए पनि कृषि तथा पशुपन्छी मन्त्रालय यसका लागि चाहिने नीतिमा प्रस्ट छैन।
२.४ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने
राष्ट्रिय जोखिम र जोखिम मूल्याङ्कन प्रतिवेदन २०२१ मा जलवायु परिवर्तनले सन् २०३० सम्म जलवायु परिवर्तनले कुल ग्रार्हस्थ्य उत्पादनमा २ देखि ४ प्रतिशतसम्म ह्रास आउने देखाएको छ।
यसको अनुकूलनका लागि २.४ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था आउन सक्ने औँल्याइएको छ।
नार्कका पूर्व वरिष्ठ कृषिविद् माधव जोशी पनि वायुमण्डलीय कार्बन डाइअक्साइड एकाग्रतामा भएको वृद्धिले बालीहरूको उत्पादकत्वलाई बढवा दिए पनि भूमि प्रयोग परिवर्तन, सिचाइका लागि पानीको उपलब्धता, माटोको जैविक रूपान्तरणको तथा कृषियोग्य क्षेत्रको ह्रास जस्ता कारण उत्पादनलाई खतरामा पार्ने सम्भावना यावत हुने बताउँछन्।
सामान्यतया धानको हिलो माटोमा जम्मा भएको मिथेन धानको बोट मार्फत वायुमण्डलमा निस्किने गर्छ।
जति धेरै पानी र हिलो जम्मा हुन्छ उति नै धेरै कुहिने दर बढ्छ र मिथेन उत्सर्जन हुन्छ। कम सिचाइमा पनि धान उत्पादन हुने प्रजातिका धानका बीउ उपलब्ध भए यो उत्सर्जन कम हुन्छ। यस्ता बीउहरू पाइए पनि कृषकहरूको रोजाइमा ती नपरेको प्राविधिक सुरेश कुशवाहाले बताए।
धेरै सिचाई हुने धानको बीउ प्रयोग गर्दा उत्सर्जन पनि बढ्ने उनले बताए।
सिचाइको असुविधा र अनियमित वर्षा तथा बीउ पाउन हुने ढिलाइका कारण रोपाइँ ढिलो हुने गरेको छ।
धान रोप्ने धेरै खेतहरूमा पानी जम्ने गरेको कृषि प्राविधिक कुशवाहाको भनाइ छ ।
कम पानी खपत हुने बीउको खोजी
कम पानी खपत हुने बीउहरूले जलवायु परिवर्तन नियन्त्रणमा समेत सकारात्मक भूमिका खेल्ने राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक एवं सुख्खा धान बीउ उत्पादन विज्ञ डा. रामवरण यादवको सुझाव छ।
समयमा पनि नपर्ने सुख्खा बढी हुने जस्तो अवस्थामा वैकल्पिक उपाय अपनाउनुपर्ने उनको भनाइ छ।
“एक किलो धान उत्पादन गर्नका लागि २५ सय लिटर पानीको आवश्यकता पर्छ। पानी अभाव घरदेखि कृषिसम्म छ। वैकल्पिक खेतीबारे अब सोच्ने बेला आएको छ,” उनले भने।
नेपाल कृषि अनुसन्धान परिषद्ले पनि ‘अल्टरनेटिभ ड्राइङ सिस्टम’ प्रविधिको विकास गरेको छ। जसले कम सिचाई हुने खेतमा उत्पादन राम्रो दिने र बिजुली खपत पनि कम गराउन मद्दत पुग्ने यादवको भनाइ छ।
कम पानी प्रयोग गरेर उत्पादन गर्न सक्ने सुख्खा धानका ९ प्रजातिका बीउ नार्कले विकास गरेको छ। जसबाट ३० प्रतिशत सिचाई बचत गर्ने र उत्पादन बढाउनुका साथै हरितगृह ग्यास उत्सर्जन समेत कम गराउने दाबी गरिएको छ।
मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन एवं जलवायु विज्ञ डा.सुदीप ठकुरी जलवायु परिवर्तनका कारण धान उत्पादनमा देखिएको असरलाई न्यूनीकरण गर्न अनुकूलनतर्फ पनि ध्यान दिन आवश्यक पर्ने बताउँछन्।
त्यसका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा बालीलाई वातावरणमैत्री बनाउन सकिनेबारे सरोकारवालालाई ध्यानाकर्षण गराउनुपर्ने उनको मत छ।
वर्तमान खाद्य सुरक्षा र जलवायु परिवर्तनका चुनौतीहरूको सफलतापूर्वक सामना गर्न कृषि क्षेत्र जलवायु–स्मार्ट हुनुपर्ने तथा मिथेन ग्यासको बारेमा धान उत्पादकहरूमा सचेतना गराउन सक्नुपर्ने उनले बताए।