तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन: मुस्ताङको स्याउ खेती - तल्लो भेगमा मासिँदै उपल्लो भेगमा थपिँदै
- Author, नारायण कार्की
- Role, पोखरा
बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप - २६ भइरहँदा नेपालको हिमाली क्षेत्रका कृषकहरूले 'जलवायु परिवर्तनको असर भोगिरहेको' अनुभव व्यक्त गरेका छन्।
जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव हिन्दु कुश हिमाली क्षेत्रमा देखिन थालेको भनी यस क्षेत्रका विज्ञहरूले सचेत गराउँदै आएका छन्।
मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका कृषकहरू त्यस क्षेत्रमा पानी पर्ने प्रकृतीमा पछिल्लो समय फरक आएको र त्यसले स्याउको गुणस्तरमा पनि परिवर्तन ल्याएको बताउँछन्।
मुस्ताङमा स्याउ खेती शुरू गरिएको आधा शताब्दी नाघिसकेको छ।
त्यहाँ स्याउको खेती गर्ने छेत्रफल पनि बढ्दैछ तर उत्पादन र उत्पादकत्व त्यही अनुपातमा नबढेको र पहिले गुणस्तरीय उत्पादन हुने क्षेत्रमा स्याउ हुन छाडेको कृषकहरू बताउँछन्।
स्याउ मासेर वैकल्पिक खेती
पहिले हेर्दै आकर्षक र स्वादिलो स्याउ फल्ने लेते, ताक्लुङ, धम्पू , कोवाङ लगायतका छेत्रमा स्याउको बगैँचा मासेर वैकल्पिक खेती गर्न थालेको थासाङ गाउँपालिका २ कोवाङका कृषक जीवन थकालीले सुनाए।
यस पछाडिको कारण जलवायु परिवर्तन हो भन्ने उनले ठानेका छन्।
तर जलवायु परिवर्तनकै कारण यो क्षेत्रमा पानी धेरै पर्न थालेको भनेर वैज्ञानिक अध्ययन र पुष्टि भइसकेको छैन।
घरपझोङ गाउँपालिका मार्फाकी कृषक कमला अधिकारी लालचनले विगतमा पुस लागेदेखि नै हिउँ पर्न शुरू भएर फागुन चैतसम्म पर्ने गरेको सम्झन्छिन्।
तर केही वर्षयता हिउँ समयमा नपर्ने, परे पनि कम पर्ने, कुनै वर्ष पर्दै नपर्ने र वृष्टि छायाँमा पर्ने गरेको मुस्ताङमा अहिले अधिक वर्षा हुने गरेका कारण स्याउ खेती गर्न समस्या बढ्दै गएको अनुभव सँगालेकी छन्।
थासाङ गाउॅपालिका टुकुचेका नीरज तुलाचन पनि स्याउमा रोग किराको प्रकोप बढ्दै गएका कारण स्याउ खेती गर्न झन्झन् कठिन हुँदै गएको बताउँछन्।
तल मासिँदै माथिल्लो भेगमा फस्टाउँदै
पहिले बढी हिउँ परेर स्याउका लागि अनुपयुक्त माथिल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुन्ड र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको माथिल्लो भेकमा स्याउ खेती हुन थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
मुस्ताङमा जलवायु परिवर्तनको असर सम्बन्धमा अध्ययन अनुसन्धान गर्न ढिलाइ गर्न नहुने उनको सुझाव छ।
जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा पर्वतीय छेत्रमा बढ्दो तापमानका कारण देखिएको बहु आयामिक प्रभावलाई प्राथमिकता दिएर उठाइयोस् भन्ने स्याउ कृषकहरूको माग छ।
जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिको असर हिमाली क्षेत्रमा तुलनात्मक रूपमा बढी परेको भनी विज्ञहरूले औँल्याउँदै आएका छन्।