तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जुम्ला: कर्मयोगी स्याउ किसान कर्मकला योगी
- Author, कृष्णमाया उपाध्याय
- Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली
जुम्लाको छिना गाउँकी कर्मकला योगी बिहानैदेखि स्याउबारीमा खटिन्छिन्। भिरालो पाखोमा उनले दुई सयवटा स्याउको बोट लगाएकी छन्।
बालबच्चालाई भन्दा बढी स्याहारेका स्याउका बोटको कर्मकलालाई धेरै माया लाग्छ। नलागोस् पनि किन?
तिनै बोटको उत्पादनबाट उनको परिवारको जीविकोपार्जन हुन्छ। घरको लागि खाने नुनदेखि लगाउने सुनसम्म तिनै स्याउका बोटले जुराइदिन्छन्।
परिवारको बिँडो
हुन त कर्मकलाका श्रीमान् पनि उनको काममा सघाउँछन्, तर आधा वर्षमात्रै।
हिउँदमा खेतबारीको काम खासै नहुने भएकाले व्यापार गर्न उनी कहिले पूर्वी नेपाल, कहिले काठमाण्डू त कहिले भारत पुग्छन्।
"के व्यापार गर्ने भन्ने थाहा हुन्न। जे भेटियो त्यही। यसपालि चैं कपडाको व्यापार गरेका छन्," कर्मकलाले भनिन्।
कर्मकलाको परिवारमा उनकी सासू र दुई सन्तान पनि छन्।
उनी अरूका श्रीमान्जस्तै आफ्ना श्रीमान् पनि दशैँ मनाउन घर फर्किन्छिन् कि भनेर बाटो हेरर बसेकी छन्।
गुनासो
परिवारका सद उनीहरूको खानपिन औषधोपचार र हेरचाहको सम्पूर्ण जिम्मेवारी प्राय:जसो उनकै काँधमा पर्छ।
"आराम गर्न त फुर्सदै हुन्न," उनी भन्छिन्, "घरखेतको काम मात्र होइन बारीमा फलेको फल टिपेर बजारमा बेच्ने काम पनि मेरै हो। भ्याइनभ्याइ हुन्छ।"
उनी २५ वर्षकी भइन्, तर उमेरभन्दा पाकी देखिन्छिन्।
चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ छिना गाउँको पाखो बारीमा लगाइएका दुई सयमध्ये ४० स्याउका बोटमा यसपालि लटरम्मै फल लागेका छन्।
तर स्याउ किन्न आएका व्यापारीले राम्रो मूल्य नदिएको गुनासो कर्मकलाको छ।
बजारमा एक किलोको १३० रुपैयाँदेखि २५० रुपैयाँमा बिक्री भइरहेको स्याउको व्यापारीले प्रतिकिलो ५० रुपैयाँभन्दा पनि थौरै दिँदा खटिएअनुसार स्याउको मूल्य नपाएकोमा उनी दु:खी छिन्।
"बजारमा आउनेबित्तिकै बिक्री हुने र ६० रुपैयाँसम्म बिक्री भएको भए ठिकै फाइदा हुन्थ्यो। हैन भने दु:ख गरेअनुसारको फाइदा पाएका छैनौँ।"
यस्तो गुनासो उनको मात्रै होइन। अन्य किसानहरूले पनि 'उचित मूल्य' पाएका छैनन्।
मेहनत गरेअनुसार राम्रो उत्पादन भए पनि स्याउ सस्तोमा बेच्नुपर्दा उनीहरू सन्तुष्ट छैनन्।
जुम्लामा धेरैका घरबारीमा स्याउका बगैँचा छन्।
खेर जाने चिन्ता
बीसदेखि २२ सय बोटसम्म भएको बगैँचामा किसानले गर्ने मेहनतको उचित मूल्याङ्कन भएको छैन।
कुल क्षेत्रफलमध्ये ९५० हेक्टर क्षेत्रफलमा स्याउको खेती गरिएको छ। तर जुम्लामा स्याउ भण्डारणको राम्रो व्यवस्था छैन।
भइदिएको भए कर्मकलाले आफ्नो बारीमा फलेको स्याउ कुहिएला र खेर जाला भन्ने चिन्ता गर्नु पर्दैनथ्यो। कम मूल्यका लागि व्यापारीसँग सम्झौता गर्नुपर्दैनथ्यो।
भनेजति मूल्य खोजे बोटबाट टिपेको ताजा स्याउ कुहाएर फाल्नुपर्ला भन्ने पीरले कति किसानहरू थोरै फाइदा वा फाइदा नै नहेरी पनि व्यापारीलाई बेच्न बाध्य हुन्छन्।
उचित मूल्य
कर्मकला आफ्नो मेहनतको राम्रै मोल पाइन्छ कि भनेर बजारसम्म स्याउ ल्याउँछिन्। उनी प्रत्येक दिन दुई घण्टा परबाट एक डोको स्याउ बोकेर बजार पुग्छिन्।
आफैँ बिक्री गर्छिन्। अर्को दिन फेरि बारीको स्याउ टिप्छिन् र त्यसै गरी दुई घण्टा हिँडेर बजारमा स्याउ बेच्न पुग्छिन्।
"स्याउको बगैँचाबाट दुई घण्टाको बाटो हिँडेर बजार ल्याए पनि किलोको ४० देखि ४५ रुपैयाँमात्रै पाइयो। यसले खासै फाइदा छैन।"
स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक मीनबहादुर डाँगी स्याउबाट राम्रो मूल्य पाउनको लागि राम्रोसँग पाकेको, हेर्दा पनि रातो देखिने र खाँदा पनि मीठो स्वाद भएको स्याउ मात्र बजारमा पठाउन पर्ने किसानहरूलाई सुझाउँछन्।
गुणस्तरीय स्याउ उत्पादन गर्नसके किसानहरूले राम्रो मूल्य पाउने उनी बताउँछन्।
गाउँगाउँसम्मै गाडी गुड्ने बाटो पुगेपछि किसानका बगैँचामा नै पुगेर व्यापारीहरू स्याउ लिन आउँछन्।
"किसानहरूले अब कसरी राम्रो स्याउ फलाउने भनेर सोच्नु आवश्यक देखिएको छ," डाँगीले भने।