तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतः गहुँ निर्यात रोकिँदा विश्वबजारमा कस्तो असर पर्छ
- Author, श्रुति मेनन
- Role, बीबीसी रीयालिटी चेक
भारतले गहुँ निर्यात रोक्ने आफ्नो निर्णयको प्रतिरक्षा गरेको छ।
युक्रेन युद्धको पृष्ठभूमिमा दिल्लीको उक्त निर्णयले विश्वव्यापी खाद्य आपूर्ति अवस्थालाई बिगार्न सक्ने भन्दै आलोचना भएको थियो।
"यदि सबैले निर्यात प्रतिबन्ध लगाउन थाले भने त्यसले सङ्कटलाई अझ नराम्रो पारिदिन्छ," जर्मनीका खाद्य तथा कृषिमन्त्री जेम ओज्देमेरले मे महिनामा त्यस्तो प्रतिबन्ध लगाइएपछि भने।
तर भारतका वाणिज्यमन्त्री पीयूष गोयलले आफ्नो देश गहुँको मुख्य निर्यातकर्ता नभएकाले प्रतिबन्धले असर नपार्ने बताए।
त्यसो भए भारतको कदमले पार्ने असर कस्तो हुन्छ?
विश्वभरि गहुँको मूल्यमा वृद्धि
भारतले मे १३ मा प्रतिबन्ध घोषणा गरेको हो। अस्वाभाविक रूपमा बढेको गर्मीले यसपालि गहुँबालीमा असर पारेपछि स्थानीय रूपमा मूल्य निकै बढेको थियो।
भारत गहुँको मुख्य निर्यातकर्ता नभए पनि उक्त कदमले अस्थिर रहेको विश्वबजारमा शिकागो बेन्चमार्क वीट इन्डेक्सअनुसार ६ प्रतिशत बढेको थियो।
केही मुख्य प्रकारका गहुँको मूल्य कैयौँ दिनसम्म बढेर मे १७ देखि १८ सम्म उच्चबिन्दुमा पुगेको थियो।
रुसले युक्रेन अतिक्रमण गरेपछि अन्य खाद्यवस्तुझैँ गहुँको मूल्य मार्च र एप्रिल महिनाभरि बढेको थियो।
युद्धले पुर्याएको क्षतिको अर्थ दशौँ लाख टन गहुँ युक्रेनबाट बाहिर जान नपाउनु हो।
युक्रेन विश्वकै ठूलो गहुँ निर्यातकर्तामध्ये एक हो।
कृषि तथ्याङ्कसम्बन्धी अनुसन्धान गर्ने समूह जीओ इन्टेलिजन्सको व्याख्याअनुसार भारतको प्रतिबन्धले थप मूल्यवृद्धि बढाएको छ।
त्यसको कारण 'ब्ल्याक सी क्षेत्रबाट निर्यात खस्किएपछि विश्वव्यापी क्रेताहरू भारतबाट हुने निर्यातमा भर परेको' ठानिएको छ।
भारतको प्रतिबन्धबाट को प्रभावित बनेको छ?
भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो, तर विश्वको गहुँ बजारमा उसको हिस्सा एक प्रतिशत मात्र छ।
उत्पादनको धेरैजसो मात्रा आफैँले राखेर उसले गरिबहरूलाई खाद्यान्न अनुदानमा दिन्छ।
तर प्रतिबन्ध घोषणा गर्नुभन्दा केहीअघि भारतले अहिलेसम्मकै उच्च एक करोड टन गहुँ निर्यात गर्ने लक्ष्य राखेको थियो।
यद्यपि गत वर्ष उसले २० लाख टन मात्र निर्यात गरेको थियो। उसले एशिया र अफ्रिकाका नयाँ बजारहरूमा निर्यात बढाउने प्रस्ताव गरेको थियो।
कैयौँ देशले भारतबाट गहुँ पाउने क्रम जारी राख्न उसँग संवाद भइरहेको बताएका छन्।
भारतले केही देशमा अझै गहुँ निर्यात हुने र उसले "छिमेकीहरूलाई आवश्यकता परेको बेला सघाउने" भनेको छ।
उसको देशबाहिरका मुख्य बजार बाङ्ग्लादेश, नेपाल, श्रीलङ्का एवं संयुक्त अरब एमिरेट्स (यूएई) हुन्।
सन् २०१९-२० मा श्रीलङ्का र यूएईले आफ्नो आधाभन्दा धेरै गहुँ भारतबाट आयात गरेको अब्जर्भेटरी अफ इकोनमिक कम्प्लेक्सिटी (ओईसी) ले जनाएको छ।
नेपालले आफ्नो ९० प्रतिशतभन्दा धेरै गहुँ आयात भारतबाट गर्छ।
वर्तमान सम्झौताअनुसार यी देशहरूले आपूर्ति पाउँछन् वा भविष्यमा नयाँ सम्झौता हुनुपर्छ भन्ने अझै स्पष्ट छैन।
यद्यपि विश्वमै धेरै गहुँ आयात गर्नेमध्येको देश इजिप्टले भारतबाट आयात गर्ने काम जारी रहने जनाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतलाई प्रतिबन्धबारे पुनर्विचार गर्न भनेको छ।
खराब मौसम र मलको भाउ
युक्रेन युद्धबाहेक मौसमका कारणले पनि मुख्य गहुँ निर्यातकर्ता देशलाई मारमा पारिराखेको छ।
जीओ इन्टेलिजन्सकी केली गोउगरी भन्छिन्, "खडेरी, बाडी र उष्णलहरले मुख्य उत्पादकहरू (अमेरिका, क्यानडा र फ्रान्स) लाई मारमा पारेको छ।"
सन् २०२२-२३ का लागि विश्वव्यापी गहुँ उत्पादन चार वर्षयताकै कम हुने छ।
अमेरिकी सरकारको एक प्रतिवेदनअनुसार गहुँको विश्वव्यापी हिस्सा छ वर्षयताकै कम हुने प्रक्षेपण गरिएको छ।
जीओ इन्टेलिजन्सले समेत विश्वभरि मलको भाउ एक वर्षमा तीन गुना बढेको भन्दै उत्पादनमा 'उल्लेख्य' कमी आउने बताएको छ।
अन्य पक्षहरूसहित गहुँको विश्वव्यापी अंश सन् २००८ को आर्थिक मन्दीयताकै कमजोर बिन्दुमा पुग्ने आकलन गरिएको छ।
चीन आफ्नो विशाल जनसङ्ख्याका लागि विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक हो।
उसले मार्च महिनामा यो हिउँदेबाली सन् २०२१ को ठूलो वर्षाले गर्दा 'इतिहासकै खराब' हुने जनाएको छ।
चीनमा साँच्चिकै त्यसरी प्रभाव पर्ने हो वा होइन वा उत्पादन कति हुने हो भन्ने अझै स्पष्ट छैन।
तर यदि चीनले विश्वबजारबाट गहुँ किन्न चाह्यो भने विश्वको आपूर्ति अझ कडा हुने छ र त्यसले मूल्य बढाइरहने छ।