तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: निर्दोष अफ्रिकीहरू मारमा परेको रुसी राष्ट्रपतिसँग अफ्रिकी यूनियन प्रमुखको गुनासो
अफ्रिकन यूनियनका प्रमुखले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन-रुस युद्धका कारण अफ्रिकी देशहरू मारमा परेको गुनासो गरेका छन्।
रुसमा भएको भेटवार्तामा उनले निर्दोष अफ्रिकी देशहरू युद्धबाट पीडित भएको गुनासो गर्दै सङ्कट अन्त्य गर्न सहजीकरण गर्न आग्रह गरेका थिए।
रुसको सोचीमा भएको भेटमा रुसी नेताले अन्न र मलको निर्यात सहज बनाउने वाचा गरे पनि त्यसबारे विस्तृत जानकारी नदिएको भेटपछि पछि मकी सलले जानकारी दिए।
मस्कोले युक्रेनी बन्दरगाहबाट अन्नको निर्यातमा रोक लगाएको कुरा पुटिनले अस्वीकार गरेका थिए।
अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ।
तर युद्ध सुरु भएयता ब्ल्याक सी क्षेत्रमा रहेका युक्रेनी बन्दरगाहबाट हुने अधिकांश निर्यात ठप्प छ। किएभ र उसका साझेदारहरूले बन्दरगाहमा मस्कोले रोक लगाएको आरोप लगाएका छन्।
"यी बन्दरगाहहरू खुला गर्न सकिएन भने अनिकाल निम्तिन सक्छ," संयुक्त राष्ट्रसङ्घका सङ्कट संयोजक अमिन अवादले जिनिभामा भने।
अन्नको अभावका कारण एक अर्ब ४० करोड मानिसहरूलाई प्रभावित हुन सक्ने भन्दै उनले यसले ठूलो सङ्ख्यामा बसाइँसराइ निम्त्याउने बताए।
अफ्रिकामा खाद्यान्न अभाव
राम्रो उत्पादन नहुँदा तथा असुरक्षाका कारण अफ्रिकामा खाद्यान्न अभाव विद्यमान छ। युद्धले त्यहाँको अवस्थालाई अझ बिगारिदिएको छ।
रुसले १०० दिनअघि युक्रेनमा युद्ध सुरु गरेयता अफ्रिकी महादेशमा खाद्यान्नको मूल्य अकासिएको छ। त्यहाँ धेरै मानिस भोकमरीबाट पीडित छन्।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका प्रमुख माइक डन्फर्डले गत वर्ष खानेकुराको अभाव झेलिरहेका मानिसहरूको सङ्ख्या पाँच करोड रहेकोमा यो वर्ष आठ करोड बढी मानिसहरू भोकमरीको समस्यामा रहेको बताए।
मध्य अफ्रिकी मुलुक चाडले खाद्य सङ्कटकाल घोषणा गरेको छ। सो देशको एकतिहाई जनसङ्ख्यालाई खाद्य सहायता चाहिएको भन्दै राष्ट्रसङ्घ र यहाँको सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अपिल गरेका छन्।
सेनेगलका राष्ट्रपति समेत रहेका सलले पुटिनलाई "धेरै टाढा रहे पनि हाम्रा देशहरू आर्थिक सङ्कटका कारण पीडित भएको बारे जानकार रहन" भने।
उनले आफूले एशिया, मध्यपूर्व र ल्याटिन अमेरिकी देशहरूको तर्फबाट समेत अनुरोध गरेको बताएका छन्।
रुसको भनाइ के छ
रुसी राष्ट्रपति पुटिनले आफ्नो नियन्त्रणमा रहेका आजोभ र ब्ल्याक सी क्षेत्रका बन्दरगाहहरूबाट युक्रेनमा उत्पादित अन्नको सुरक्षित निर्यातको सुनिश्चितता गर्न रुस तयार रहेको बताएका छन्।
उनले रुसको साझेदार बेलारुसमाथिको प्रतिबन्ध हटाउने उपाय सबैभन्दा उत्तम हुने भन्दै बेलारुसको बाटो हुँदै निर्यात गर्न सकिने बताएका छन्।
कतिपय विश्लेषकहरूले बढ्दो खाद्यसङ्कटका कारण मध्यपूर्व र अफ्रिकाबाट युरोपमा शरणार्थीहरूको चाप बढ्ने भएका कारण पश्चिमा देशहरूमाथि राजनीतिक दबाव पर्न सक्ने आशा रुसले राखेको हुनसक्ने बताएका छन्।
शुक्रवारको भेटमा पुटिनले आफू अफ्रिकी देशहरूको पक्षमा रहेको बताए पनि खाद्यसङ्कटबारे स्पष्ट रूपमा केही उल्लेख गरेनन्।
मूल्यवृद्धिबारे दोषारोपण
धेरै अफ्रिकी देशजस्तै सेनेगलले पनि युद्धमा कुनै देशको पक्ष लिएको छैन। त्यहाँको नेतृत्वले पश्चिमा प्रतिबन्धका कारण खाद्यान्न आपूर्ति प्रभावित हुनु नहुने धारणा राख्ने गरेको छ।
सलले यसै साताको सुरुमा युरोपियन काउन्सिलमा समेत आफूले यही कुरा राखेको बताए।
गत साता अमेरिकी राष्ट्रपति जो बाइडनले पश्चिमा देशहरूका कारण विश्वव्यापी मूल्यवृद्धि भएको आरोपको खण्डन गरेका थिए। पुटिनका कारण मूल्यवृद्धि भएको उनको दाबी थियो।
"पुटिनको युद्धले खानेकुराको मूल्य बढाइदिएको छ किनभने गहुँ र मकैका लागि युक्रेन र रुस दुई ठूला अन्नभण्डार हुन्," उनले भने।
विश्वभरि उपभोग गरिने धेरै प्रकारका खानेकुरा बनाउन गहुँ र मकै चाहिने भएकाले अहिलेको युद्धका कारण मूल्य बढेको उनको तर्क थियो।
यो पनि हेर्नुहोस्