कुखुरामा जीन सम्पादन गरेर पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने प्रविधि

    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता

इजरेली अन्वेषकहरूले आफूहरूले जीन सम्पादन गर्ने प्रविधि प्रयोग गरेर पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने कुखुरीको विकास गरेको बताएका छन्।

यस्तो अभूतपूर्व कामले प्रत्येक वर्ष अण्डा नपार्ने भएकै कारण अर्बौँ भाले चल्ला मारिने क्रम रोकिन सक्छ।

पोथी चल्ला र वयस्क भएपछि तिनले पार्ने अण्डामा मूल आनुवंशिक परिवर्तनको कुनै प्रमाण फेला परेको छैन।

पशुकल्याण समूह 'कम्प्याशन इन वर्ल्ड फार्मिङ'ले यो अनुसन्धानलाई समर्थन जनाएको छ।

तेलअभिभनजिकै रहेको भोल्क्यानी इन्स्टिट्यूटका डा. युवल सिनामोन यस परियोजनाका प्रमुख वैज्ञानिक हुन्। उनले बीबीसी न्यूजलाई "गोल्डा कुखुरा" भनिने यस विकासले पोल्ट्री उद्योगको पशुकल्याणमा ठूलो प्रभाव पार्ने बताए।

"म धेरै खुसी छु - हामीले एउटा यस्तो प्रणाली विकास गरेका छौँ जसले उद्योगमा साँच्चै क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ भन्ने मलाई लाग्छ। सबैभन्दा पहिले कुखुराको फाइदाको लागि र हामी सबैको लागि यो महत्त्वपूर्ण छ किनकि यो पृथ्वीका हरेक मानिससँग जोडिएको विषय हो," उनले भने।

वैज्ञानिकहरूले गोल्डा कुखुराको डीएनएमा जीन सम्पादन गरेर अण्डामा भाले भ्रूणको विकास रोक्न सक्ने बनाएका हुन्। अण्डा केही घण्टा नीलो प्रकाशमा पर्दा उक्त डीएनए सक्रिय हुन्छ।

पोथी भ्रूणमा नीलो प्रकाशको असर पर्दैन र त्यो सामान्य रूपमा विकास हुन्छ। डा. सिनामोनका अनुसार विकसित चल्लाहरूमा अतिरिक्त आनुवंशिक सामग्री हुँदैन।

"किसानहरूले अहिले जस्तै चल्लाहरू पाउनेछन् र उपभोक्ताहरूले पनि आज पाइनेजस्तै अण्डा पाउनेछन्," उनले भने।

"यसको उत्पादन प्रक्रियामा मात्र केही फरक हो। यस प्रक्रियाअन्तर्गत अण्डाहरूमा नीलो प्रकाशको प्रभाव हुन्छ।"

सिनामोनको टोलीले आफ्नो शोध प्रकाशित गरिसकेको छैन।

उसले आफ्नो मातहतको हुमिन पोल्ट्रीमार्फत् यस प्रविधिलाई अनुमतिपत्र उपलब्ध गराउने बनाएको छ। त्यसैले अरू वैज्ञानिकहरूले उक्त अनुसन्धानबारे गरिएका दाबीको स्वतन्त्र मूल्याङ्कन गर्न पाएका छैनन्।

इजरेली टोलीले यूकेस्थित पशुकल्याणकारी संस्था कम्प्याशन इन वर्ल्ड फार्मिङ (सीआईडब्ल्यूएफ) सँगको समन्वयनमा काम गरेका हुन्। त्यहाँका कर्मचारीहरूले तीन वर्षदेखि फार्ममा गएर अनुसन्धानबारे जानकारी लिएका छन्।

संस्थाको नैतिक सिद्धान्त मानिलाका सल्लाहकार पिटर स्टेफन्सनका अनुसार यो उपलब्धि पशुकल्याणको पक्षमा "वास्तवमै महत्त्वपूर्ण विकास" हुनसक्छ।

"सामान्यतया म फार्मका जनावरहरूको जीन सम्पादनसम्बन्धी प्रयोगमा निकै सतर्क हुन्छु। तर यो एउटा असाधारण अवस्था हो र मसँगै सीआईडब्ल्यूएफका सहकर्मीहरूले यसलाई समर्थन गरेका छौँ," उनले भने।

"अर्को महत्त्वपूर्ण चरणमा यस प्रक्रियाबाट उत्पादित कुखुरा र चल्लाले उपभोक्ताका लागि अण्डा पार्नेछन्। अप्रत्याशित समस्या ननिम्तिनेगरी त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिन्छ कि सकिँदैन भनेर हेरिनेछ।"

यूकेको संसद्‌बाट इङ्ग्ल्यान्डमा व्यावसायिक खेतीका लागि सीमित जीन सम्पादन गर्न अनुमति दिनेगरी कानुन पारित हुँदैछ।

नयाँ वर्षको सुरुतिर उक्त विधेयक पारित भएपछि नियमहरू बिस्तारै सहज बन्नेछन् जसले प्रविधिलाई बोटबिरुवाको हकमा प्रयोग गर्न अनुमति दिनेछ।

जीन सम्पादन (जीई) लाई सरकारले आनुवंशिक परिमार्जनको परम्परागत विधि (जीएम) भन्दा सार्वजनिक रूपमा बढी स्वीकार्य मानेको छ। जीईले सामान्यतया डीएनए हटाएर जीनहरू नियन्त्रण गर्छ। जीएमले भने कहिलेकाहीँ अर्को प्रजातिबाट डीएनए थप्छ।

अण्डा उत्पादन गर्ने उद्योगहरूले प्रत्येक वर्ष लगभग सात अर्ब भाले चल्ला कोरलिएको केही समयपछि मार्ने गरेको सीआईडब्ल्यूएफको आकलन छ। भाले चल्लाको व्यावसायिक मूल्य छैन।

अण्डा कोरलेको केही समयपछि भाले हो कि पोथी भनेर छुट्टाउने प्रक्रिया फार्महरूका लागि बढी समय लाग्ने खालको हुन्छ।

जर्मन सरकारले यसै वर्षको सुरुमा भाले चल्लालाई सामूहिक रूपमा मार्ने प्रक्रियामा प्रतिबन्ध लगाएको थियो। त्यस्तै आउँदो वर्ष फ्रान्समा पनि त्यस्तै प्रस्ताव अघि सारिन लागेको छ।

ईयूका अन्य राष्ट्रहरूले उक्त अभ्यासको बारेमा चिन्ता व्यक्त गरेका छन् र धेरैले यससम्बन्धी ईयूव्यापी कानुनको आह्वान गरेका छन्। यूके सरकारले भने यस्तो कार्यबारे आफ्नो धारणा अघि सारेको छैन।

अनुसन्धानको नेतृत्व गर्ने डा. एन्बल बेन-तल कोहेनका अनुसार यो प्रणालीको विकासक्रम उन्नत चरणमा छ र यसमा थप परिष्कार गर्ने काम भइरहेको छ।

"थुप्रै वर्षको अनुसन्धानका क्रममा कठिन चुनौतीहरू आए। त्यसलाई हामीले सफलतापूर्वक पार गर्‍यौँ र अन्ततः हामीसँग समाधानको व्यावहारिक उपाय छ। मलाई आशा छ कि उद्योगले यसलाई छिट्टै अपनाउनेछ," उनले भने।