तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेनमा उच्च गतिका रेलहरू दुर्घटनाग्रस्तः कम्तीमा २१ को मृत्यु, ३०जना भन्दा बढी गम्भीर घाइते
दक्षिणी स्पेनमा तीव्र गतिको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा २१ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या अझै बढ्न सक्छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ३० जनाभन्दा बढी व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेले बताए।
रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार उक्त दुर्घटना एडामुस नगर नजिकैको स्थानमा भएको छ जहाँ मालागाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको एउटा रेल आफ्नाो लीकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो।
त्यसरी उछिट्टिएको सो रेल मड्रिडबाट वेल्भातर्फ गइरहेको अर्को रेलसँग ठोक्किन पुगेको थियो।
'एकदमै अनौठो'
दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएका एन्डालुसियाका आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।
एउटा सीधा लीकमा गुडिरहेको रेल एकाएक त्यहाँबाट उछिट्टिएको घटना "एकदमै अनौठो" प्रकृतिको देखिएको मन्त्री प्वेन्टेले बताएका छन्।
उनका अनुसार गत वर्षको मे महिनामा मात्र उक्त लीकको मर्मतसम्भार गरिएको थियो।
दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। कम्तीमा एक महिनाभन्दा पहिले अनुसन्धानको नतिजा आउने अपेक्षा गरिएको छैन।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मुलुक "गहिरो पीडाको रात" बाट गुज्रिनु पर्ने प्रतिक्रिया दिएका छन्।
मालागाबाट रेल सञ्चालन गरेको निजी कम्पनी इर्योका अनुसार लीकबाट उछिट्टिएको रेलमा करिब तीन सयजना यात्रु थिए भने रेन्फे कम्पनीले चलाएको अर्को रेलमा करिब सयजना यात्रु सवार थिए।
दुर्घटनास्थलमा शुरूमै पुग्ने व्यक्तिहरूमध्ये एक एडामुसका मेअर राफाएल मोरेनले त्यसलाई "एउटा दुःस्वप्न"को सङ्ज्ञा दिएका छन्।
आपत्कालीन सेवा कार्यदलका अधिकारीहरूका अनुसार रेलको बाङ्गोटिङ्गो भग्नावशेषहरूका कारण त्यहाँबाट जीवित यात्रीहरूको उद्धारमा कठिनाइ भएको थियो।
दश मिनेटमै दुर्घटना
कोर्डोबाका अग्निनियन्त्रण प्रमुख फ्रान्सिस्को कारमोनाले स्पेनको सार्वजनिक प्रसारक आरटीभीईसँग भनेः "जीवित व्यक्तिसम्म पुग्नलाई हामीले अर्को एउटा शव हटाउनुपरेको थियो। त्यो एकदमै कठिन र पेचिलो काम रह्यो।"
अडिफका अनुसार मालागाबाट ६ बजेर ४० मिनेटमा गुडेको रेल त्यसको १० मिनेटमै दुर्घटनामा परेको थियो।
रेल सञ्चालक कम्पनीले पीडित परिवारका लागि विभिन्न चारवटा स्टेशनमा अस्थायी रूपमा बस्ने ठाउँको प्रबन्ध गर्न लागेको जनाएको छ।
दुर्घटनापछि मड्रिड र एन्डालुसिआबीच सञ्चालन हुने सबै रेल सेवा स्थगित गरिएको र सोमवार बन्द रहने अधिकारीहरूले बतएका छन्।
प्रभावित यात्रुहरूका निम्ति भने टर्मिनलहरू रातभरि खुला राखिने कम्पनीले जनाएको छ।
दुर्घटनामा परेको रेल फ्रेचा १००० वर्गको हो, जुन प्रतिघण्टा ४०० किलोमिटरको गतिमा गुड्न सक्ने इटालिअन रेल निर्माण कम्पनीका एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई बताए।
स्पेनी रेडक्रसले घटनास्थलमा आपत्कालिन सहायता सेवा सञ्चालन गरेको छ भने नजिकै पीडित परिवारलाई परामर्श सेवा पनि दिइँदै छ।
रेडक्रसका मिगेल आङ्खेल रोड्रिगेजले आरएनई रेडिओसँग भनेः "पीडित परिवारहरू सूचना अभावका कारण ठूलो अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्। एकदमै तनावपूर्ण क्षणहरू रहेका छन्।"
स्पेनका राजा फेलीपे छैटौँ र महारानी लेटिथीआले "गहिरो चिन्ता साथ" दुर्घटनाको समाचारलाई नियालीरहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।