के रोग पुग्यो हुम्लामा गोठ नै रित्याउने गरी

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

हुम्लाको अदानचुली गाउँपालिका-६, का मान्ते लोहारका १४ वटा गाईभैँसी मरेका छन्।

चरनको लागि लगिएका चौपाया मरेर गोठ नै रित्तिएपछि बचेका तीन वटालाई पाटनमै छाडेर उनकी श्रीमती घर फर्किएकी छन्।

चौपाया मर्नुको कारण भने पत्तो लागेको छैन। रोगले गोठ नै रित्तिएका लोहार एक्ला किसान भने होइनन्।

कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका विभिन्न ठाउँमा फैलिएको रोगले अरू किसानको पनि गोठ रित्याएको छ।

"नेपालगन्जबाट उपचार गरेर घर पुगेकै दिन खबर थाहा पाउँदा खपी नसक्नुको पीडा भएको छ," उनले भने।

"उपचार गर्दा डेढ लाख रुपैयाँ ऋण लागेको छ। गाईभैँसी बेचेर ऋण तिर्ने सोचमा थिए, अब के बेचेर ऋण तिर्ने?"

औषधि नहुँदा जडीबुटीबाट उपचार

चरनको लागि स्यानताङ, भेडा खोर, डाब, ठानदेउ, खडाडी, खैलाम, थाप्रासीजस्ता पाटनमा लगिएका गाईगोरु, भैँसी, भेडाबाख्रा र घोडा दिनदिनै मरिरहेको अदानचुलीबासी बताउँछन्।

गाउँपालिकामा औषधि नहुँदा जडीबुटीबाट बिरामी पशु चौपायाको उपचार गरिरहेको किसानले बताए।

पशुपालकहरूका अनुभवमा घरेलु उपचारले भर्खरै बिरामी परेका चौपाया ठिक भए पनि सिकिस्त भएका भने बचाउन सकिएको छैन।

"हाम्रा चौपाया मरेर सकिन लागे तर हाम्रो पालिकामा औषधि पनि छैन," किसान लोहार भन्छन्।

"उवा पकाएको भुम्ला (जाँड) खुवाएर उपचार गरे पनि बिरामी पशुलाई बचाउन सकिएको छैन।"

रोगबाट अत्यधिक प्रभावित अदानचुली गाउँपालिकामा मात्रै हप्ता दिनमा एक सयभन्दा बढी पशु मरेका र थुप्रै बिरामी अवस्थामा रहेको वडा नम्बर ६ का वडाध्यक्ष बिर्खबहादुर बुढाले बताए।

"स्थानीय साधनस्रोतले भ्याउने देखिँदैन। रोग नियन्त्रणको लागि प्रदेशबाटै औषधि र जनशक्ति ल्याउनु पर्ने देखिन्छ," उनी भन्छन्, "तत्काल रोग नियन्त्रण नगरे किसानका गोठ रित्ता हुनेछन्।"

चरचरे रोगको आशङ्का

महामारीकै रूपमा फैलिएको रोगले सिमिकोट, खार्पुनाथ, ताजाकोटलगायतका गाउँपालिकामा समेत चौपाया मरेका छन्।

सुरुमा शरीर सुनिने, पेट ढाडिने, थरथर काम्ने र अन्त्यमा मुखबाट फिँज फालेर पशु मर्ने गरेको पशुपालकहरू बताउँछन्।

अन्य गाउँपालिकामा देखिएको चरचरे रोग नियन्त्रणमा आइसकेको र अदानचुलीमा पनि चरचरे रोग फैलिएको हुन सक्ने पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको आशङ्का छ।

"समयमै जानकारी आएको भए रोग नियन्त्रण भइसक्थ्यो," उनले भने।

"बिरामी परेका चौपायालाई उपचार गर्न र नभएकालाई चरचरे रोग विरुद्धको खोप लगाउन औषधीसहितको पशु स्वास्थ्यकर्मीको टोली आजै पठाउँछु।"

अरू ठाउँमा देखिएको रोग चाँडै नियन्त्रणमा आएकोले थोरै पशु मरेको तर अदानचुलीमा धेरै मरेको उनले बताए।

हुम्लाका किसानले पशु चौपायालाई हरेक वर्ष चरनको लागि असारमा पाटन लग्ने र असोजमा गाउँघरमा ल्याउने गर्छन्।

गाउँबाट गाईबस्तु भएको पाटन जान कम्तीमा पनि ४-५ घण्टा हिँड्नुपर्ने भएकोले लगातार पानी परेका कारण समस्या उत्पन्न भएको छ।

पाटनका धेरै ठाउँमा फोन नलागेकाले मरेका पशु चौपायाको यकिन विवरण पनि आएको छैन।

धेरै मरेपछि बाँकीलाई पाटनमै छाडेर कतिपय किसान घर फर्किएको अदानचुलीका किसान गोविन्द बुढाले बताए।

उनले रोग नियन्त्रणको लागि धेरै ठाउँमा हारगुहार गरे पनि सुनुवाइ नभएको गुनासो पनि गरे।

पशु बिमाबारे बेखबर किसान

सरकारले पालिकामा पर्याप्त औषधिको व्यवस्था नगर्दा समयमै उपचार हुन नसकेकाले मरेका पशुको क्षतिपूर्ति पाउनु पर्ने दाबी किसानको छ।

सरकारले पशु बिमाको व्यवस्था गरे पनि यहाँका किसानहरू त्यसबारे जानकार नभएको बताउँछन्।

यदि पशु बिमा गर्ने हो भने बीमित चौपाया मर्दा त्यसको ९० प्रतिशत रकम बिमाबापत किसानले पाउँछन्।

पशु सेवा कार्यालय हुम्लाले भने पशु चौपायालाई खोप लगाउन बारम्बार आग्रह गरे पनि किसानले बेवास्ता गर्दा अहिलेको समस्या आएको बताएको छ।

किसानहरू भने सम्बन्धित निकायले रोग नियन्त्रणको लागि समयमै ध्यान नदिँदा आफ्ना पशु चौपाया मरेको गुनासो गर्छन्।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रोगबाट क्षति पुगेका किसानलाई थोरै भए पनि केही राहत दिन सकिने जानकारी दिए।

"गत वर्ष पनि यस्ता केही किसानलाई दिएका थियौ," उनले भने, "यसपालि पनि केही बजेट राखिएको छ। आकस्मिक रूपमा परि आएको खण्डमा केही रकम दिन सकिने कार्यविधि नै छ।"