रारा ताल: मानवीय गतिविधिबाहेक पनि कसरी प्रदूषणको जोखिममा छ ताल?

    • Author, ‏प्रकाश पन्त
    • Role, मुगु

पशुचौपाया चर्ने क्रममा रारा तालको वरपर पुग्दा त्यसले क्रमश: ताललाई प्रदूषित गरिरहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

विशेषगरी चैतदेखि असोज महिनासम्म झण्डै ३० हजार गाई गोरु, भैँसी, भेडाबाख्रा र घोडा चरनको लागि रारा ताल क्षेत्रमा छाडिने गरेको निकुञ्जले जनाएको हो।

झ्यारी, मुर्मा, तुमा, ताल्चा गाउँका पशुचौपाया रारा ताल वरिपरि पर्ने मिलीचौर, ओखरबोट, हुटु, चुचेमारा, मुर्माटप, भुचिलेक, सिक्कीचौर, बाग्रेलेकमा चरिचरनको लागि जान्छन्।

यी ठाउँहरूमा बर्सेनि छाडिने पशुचौपायाको मलमूत्र पानीले बगाएर सिधै रारा तालमा मिसाउने र खुरले खोस्रेको माटोसमेत वर्षाको पानीसँगै तालमै मिसिने गर्दा प्रदूषण बढ्दै गएको बताइन्छ।

तालभित्र अस्वाभाविक मात्रामा वनस्पति

पशुचौपायाको मलमूत्रले गर्दा रारा तालको पानी धमिलो हुन थालेको, तालभित्र अस्वाभाविक रूपमा वनस्पति र लेई बढिरहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको हो।

मान्छेले गर्ने फोहोरलाई सजिलै व्यवस्थापन गर्न सकिए पनि पशु चौपायाबाट हुने फोहोर नियन्त्रण गर्न भने निकै चुनौतीपूर्ण देखिएको छ।

प्रमुख संरक्षण अधिकृत बद्रीविनोद दाहाल भन्छन्, "पशुचौपाया रारा ताल क्षेत्रमा ल्याएर खुला रूपमा छोड्ने चलन छ। छाडा पशुलाई कान्जीहाउस (पशुशाला)मा थुनेर राख्दा पनि लीन कोही आउँदैनन्।"

पशुशालामा थुनेर राखिएका पशु चौपाया मर्ने समस्या भएकोले खुला छाड्नुको विकल्प नभएको उनी बताउँछन्।

ताल र तालभित्रका जीवलाई प्रत्यक्ष असर

पशुचौपायाको मलमूत्र र वर्षामा बगेर आउने माटोले रारा ताल र तालभित्रका जीवलाई प्रत्यक्ष रूपमा असर पुर्‍याउने भन्दै वातावरणविद्ले चिन्ता व्यक्त गरेका छन्।

रारा तालमा असलालगायत ७ जातका माछा र विभिन्न प्रकारका जलचर छन्।

पशुचौपायाको मलमूत्रले पानीमा तैरिने वनस्पति बढाउन, लेई बाक्लो जम्न र ताल खुम्चिनसक्ने वातावरणविद् प्राध्यापक डाक्टर भरतबाबु श्रेष्ठ बताउँछन्।

तालभित्र बाक्लिँदै गएको वनस्पतिले अक्सिजन घटाउने र घाम पनि छेक्ने भएकोले त्यसको प्रत्यक्ष असर तालभित्रका माछा र अन्य जलचरलाई पर्ने उनले बताएका हुन्।

उनी भन्छन्, "सबैले रारा तालको पानी सफा अपेक्षा गर्छन् तर पशुको मलमूत्र र माटोले पानीको धमिलोपन बढाउँछ र लेई जमेर तालको सुन्दरतामा कमी ल्याउँछ।"

गाईवस्तु बाँधेर पाल्न सकिन्न

रारा ताल क्षेत्रका किसानहरूले कम्तीमा पनि ८-१० वटा गाईभैँसी पालेका छन् र उनीहरूको आफ्नै समस्या छ।

गाईभैँसीलाई घाँस पाइने जङ्गल धेरै टाढा भएका कारणले बाह्रैमास घरमै गाईवस्तु बाँधेर पाल्न नसकिने उनीहरू बताउँछन्।

त्यस्तै एकजना किसान ओइरा नेपाली भन्छिन्, "खेतीलाई मल चाहिन्छ। घरमा घाँस हुँदैन। टाढाबाट बाोकेर ल्याउनु पर्ने भएकोले बाँधेर पाल्न पनि सकिँदैन।"

समाधान के हुन सक्ला?

रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष बलराम साहनी सङ्ख्यामा धेरै वस्तु पाल्नुभन्दा उन्नत जातका पाल्न सके अहिलेको समस्या समाधान हुने ठान्छन्।

"उन्नत जातका गाईभैँसीलाई जङ्गल छाड्नु पर्दैन। थोरै घाँस र दाना पानीले पुग्छ। अनि रारा ताल पनि प्रदूषणबाट जोगिन्छ," उनले भने।

बहुमूल्य जडीबुटीलाई कस्तो असर?

चरनको लागि छाडा छोडिएका पशु चौपायाले जङ्गली जनावर, फूलहरू र बहुमूल्य जडीबुटीलाई पनि उत्तिकै हानी गरिरहेको निकुञ्जले जनाएको छ।

निकुञ्जको सुरक्षाको लागि खटिएका सेनाका मेजर झलक लामा भन्छन्, "हजारौँको सङ्ख्यामा रहेका पशु चौपायाले जङ्गली जनावर र उनीहरूको वासस्थानमा धेरै असर पुर्‍याएको देखिन्छ।"

यदि खुला चरिचरनलाई समयमै व्यवस्थित गर्न सकिएन भने रारा तालको सौन्दर्य जोगाई राख्न कठिन हुने उनी बताउँछन्।

बर्खायाममा फूलैफूलले ढाक्ने रारा ताल वरपर २५ प्रकारका फूलहरू पाइने बताइन्छ।

रारा उपत्यकामा मौसम अनुसार भदुरी, चमौली, बुकी डोइली, म्याकुरो, कटुकी, अत्तिसजस्ता फूलहरू फुल्छ।

तर खुला चरी चरनले गर्दा बर्सेनि पशु चौपायाले फूल खाने र बोट पनि कुल्चिने गर्दा रारा क्षेत्रमा फूलहरू पनि नासिँदै गएको बताइन्छ।

हवाई र यातायातको सुविधासँगै रारा ताल हेर्न जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

पशु चौपायाको मलमूत्रका साथै ताल हेर्न आउनेहरूले जथाभाबी रूपमा प्लास्टिकलगायतका फोहोर फाल्दा त्यसले पनि प्रदूषण बढाएको छ।

फोहर फाल्न ताल वरिपरि खनिएका खाडल र राखिएका फोहोरदानी पनि खासै प्रयोगमा आएको देखिँदैन।

नियमित सरसफाइ

रारा ताललाई अति चरिचरन र मानवीय क्रियाकलापबाट हुने प्रदूषणबाट बचाउन समयमै कदमहरू चाल्नुपर्ने वातावरणविद् बताउँछन्।

समुद्री सतहबाट २९९० मिटरको उचाइमा रहेको मुगु जिल्लामा पर्ने रारा तालको सुन्दरताको बयान त्यहाँ पुग्ने जो कोहीले गर्छन्।

त्यो सुन्दरता बचाइराख्न पशु र मानव दुवैले गर्ने प्रदूषणबाट जोगाउन आवश्यक रहेको विज्ञहरूले बताएका हुन्।