तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लकडाउन खुलेसँगै रारामा पर्यटकको सङ्ख्यामा वृद्धि
- Author, कृष्णमाया उपाध्याय
- Role, जुम्ला
महामारीका कारण रारा ताल पुग्ने कैयौँको चाहनामा रोक लागे पनि पछिल्लो समय त्यहाँ जाने पर्यटकको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएका छन्।
दशैँतिहार चाडमा उपलब्ध हुने बिदाले पनि कतिलाई रारा भ्रमण गर्न प्रेरित गर्ने गरेको छ।
अघिपछि भन्दा दशैँतिहारमा छुट्टी पाइने र साथीभाइसँग रमाइलो पनि गर्न पाइने भएपछि राराको आनन्द लिन आफूहरू घुम्न आएको कैलाली धनगढीका हेमराज भट्ट बताउँछन्।
उनले भने, "यो समय न चिसो र न तातो, ठिक्कको मौसम भएकाले हामी घुम्न आएका हौँ। बाटोमा नेपालका विभिन्न जिल्लाबाट रारामा घुम्न आएका मानिसहरूसँग भेट हुँदा झन् रमाइलो भयो।"
रारा ताल सुन्दर भए पनि त्यहाँ जाने पर्यटकहरूको लागि खान बस्न र स्वास्थ्य उपचार जस्ता कुरामा राम्रो व्यवस्था नभएको उनको ठम्याइ छ।
"सरकारले पर्यटकलाई बस्न, खान र घुम्न निश्चित मापदण्ड बनाउन आवश्यक छ," उनी भन्छन्।
सुर्खेतकी सिर्जना आचार्यले पनि व्यवहारिक समस्याका पाटा औँल्याइन्।
"बाटोमा जाँदै गर्दा शौचालय, प्राथमिक उपचार तथा अन्य कपडा फेर्नको लागि समेत व्यवस्था भइदिएको भए झन् राम्रो हुने थियो," उनले भनिन्।
बाहिरबाट हेर्दा त्यो ठाउँमा तालको कल्पना गर्न नसकिए पनि त्यहाँ पुगिसकेपछि ताल देख्दा बेग्लै किसिमको आनन्दको अनुभूति हुने गरेको र थकाइ सारा मेटिएको उनले सुनाइन्।
लकडाउनपछि सङ्ख्या बढ्दै
समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइमा अवस्थित नेपालको सबै भन्दा ठूलो रारा तालमा कोभिड १९ का कारण गत वर्ष पर्यटकहरूको सङ्ख्या केही घटे पनि यस वर्ष भने लकडाउन खुलेसँगै रारा आउने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको अधिकारीहरूले बताएका छन्।
कोभिड १९ का कारण पछाडि परेको पर्यटन व्यवसाय फेरि अगाडि बढ्न थालेको मुगुका स्थानीय बासिन्दाले बताएका छन्।
पर्यटकहरू घुम्न आउन थालेपछि आफूहरूको आयआर्जन बढ्नुका साथै नयाँ नयाँ कुरा समेत सिक्न पाइने भएको त्यहाँका स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए।
घोडाको व्यवस्था कस्तो छ?
रारामा घुम्न आउने मानिसहरूलाई सल्लेरी भन्ने ठाउँबाट रारा ताल सम्म पुग्न, तालको वरिपरि घुम्न र मुर्माटपमा पुगेर राराको दृश्य अवलोकन गर्नको लागि घोडा चढाएर लाने र ल्याउने व्यवस्था गरिएको उनले बताए।
घोडा व्यवस्थापन समितिका सचिवसमेत रहेका उनले भने, "घोडा चढाएर सल्लेरीदेखि रारा पुग्नको लागि ६ सय, तालको वरिपरि घुम्न १२ सय र मुर्माटप पुगेर फर्कन ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।"
अहिले पर्यटकहरूलाई घुमाउन ८२ वटा घोडाको व्यवस्था गरिएको छ।
घोडा व्यवस्थापन समितिले तोकेको भन्दा बढी शुल्क लिएको भनेर समितिमा गुनासो आएमा बढी भएको शुल्क सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने व्यवस्था गरिएको वीरबहादुर रावलले बताए।
यो शुल्क गत वर्षको वैशाख २ गतेबाट निर्धारण गरिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।
पर्यटकहरूलाई घोडा चढाएर लिन र ल्याउनको लागि १६ वर्ष भन्दा माथिका मानिसहरूले मात्र लिन पाउने व्यवस्था गरिएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए।
उनले भने, "रारा घुम्न आउने पर्यटकहरूको लागि ताल नजिकै एउटा होटेल र त्यहाँ व्यवस्था हुन नसकेमा २ सय जना जतिलाई बास बस्नको लागि होम स्टेको व्यवस्था भएपछि पर्यटकहरू पनि बढ्दै गएका छन्।"
कति आउँछन् घुम्न?
रारा तालमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको २ वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा १२ हजार र आर्थिक वर्ष २०७७/०७८ मा १० हजार ५ सय जना पर्यटक रारा भित्रिएका छन्।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
रारा घुम्न आउने पर्यटकहरूको लागि हवाई तथा पैदल मार्गको व्यवस्था गरेको भए पनि त्यसलाई सोचे अनुसार अगाडि बढाउन केही कठिनाइ भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्रिबिनोद दाहालले बताए।
उनले भने, "अहिले देखिएको समस्या समाधान गर्न छायानाथ रारा नगरपालिका र प्रदेश सरकार सङ्घ सरकारसँग जानकारी गराइएको हुनाले त्यही अनुसारको काम अगाडि बढिरहेको उनले बताए ।