तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घरपालुवा हात्ती: नेपालबाट ‘विक्री गरी’ भारत पठाइएका हात्ती नेपाल भित्र्याउन कति सम्भव
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा मुख्यत: पर्यटक सफारीमा प्रयोग गरिएका तर हाल गैरकानुनी रूपमा भारत पुगेका हात्तीहरू फर्काउन कठिन रहेको अधिकारी तथा व्यवसायीहरूले बताएका छन्।
कोरोनाभाइरसको महामारीले पर्यटन क्षेत्र ठप्प भएपछि चितवनको पर्यटकीय क्षेत्रका व्यवसायीहरूले आफूले पालिरहेको हात्ती विक्री गरेका खबरहरू आएका थिए।
सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका एकजना अधिकारीले हात्तीको विक्री अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध भएकाले त्यसलाई रोक्न स्थानीय निकायलाई पत्राचार गरिएको जानकारी दिएका छन्।
तर हात्ती पालिरहेका पर्यटन व्यवसायीहरूले सरकारले आफूहरू लक्षित अलग्गै कार्यक्रम नबनाए उक्त दुर्लभ स्तनधारी जनावर मुलुकबाट विस्थापित भइरहने चेतावनी दिएका छन्।
हात्ती विक्री गर्नुपर्ने कारण के पर्यो?
चितवनमा पर्यटकलाई जङ्गल सफारी गराउन हात्ती पालिरहेका व्यवसायीहरू हात्तीको विक्रीलाई ‘विस्थापन’ भन्न रुचाउँछन्।
कोरोनाभाइरसको महामारीसँगै अघिल्लो सालबाट पर्यटन व्यवसाय ठप्प भएपछि हात्ती विस्थापित भएर भारत पुग्ने क्रम बढेको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी बताउँछन्।
उनले भने, “केही साथीहरूले होटल सञ्चालन गर्न लिएको ऋणको ब्याज पनि तिर्न सक्नुभएन। एउटै हात्तीको माहुते र खानेकुरा प्रबन्धका लागि महिनाको एक लाख रुपैयाँसम्म खर्च हुने अवस्था भयो। त्यही भएर हात्ती विस्थापित भएको सत्य कुरा हो।”
उनले थपे, “हाम्रो सहकारीसँग ६५ वटा हात्ती थियो अहिले ४५ वटा मात्रै छ। पश्चिम चितवनका होटलहरूबाट पनि हात्ती विस्थापित भएको छ।”
उनले हात्तीका लागि खानेकुरा वा चरनक्षेत्र सरकारले उपलब्ध गराइदिए विस्थापनको क्रम रोकिने बताए।
सौराहाका एकजना व्यवसायी ज्ञानेन्द्र विष्टले हात्तीहरू नेपालबाट भारत गएको आफूले पनि थाहा पाएको बताए।
उनले भने “हात्तीको हेरचाहमा कमी भयो। खानपिनमा पनि कमी आयो। धेरै भाडाको हात्ती फर्किएको छ। बुढो र विरामी भएको अवस्थाको हात्ती सीमातिर पठाएको मैले थाहा पाएको छु।”
तर नाम नखुलाउने सर्तमा चितवनका अर्का होटल व्यवासायीले पाल्न गाह्रो भएकाले आफूले हात्ती विक्री गरेको बताएका छन्।
उनले भने “राज्यलाई हामीले कर तिर्छौँ। तर पर्यटन क्षेत्र ठप्प हुँदा राज्यबाट केही पनि सहुलियत नपाएका कारण हात्ती विक्री गर्नुपरेको हो। मैले तीन वर्ष पहिले ९० लाख रुपैयाँमा हात्ती किनेको थिएँ। अहिले ८० लाखमा विक्री गरेँ।”
हात्ती विक्री गर्नु वा दर्ता नगरी पाल्नु अवैध
सङ्कटापन्न जङ्गली जैविक विविधताका विभिन्न प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सन्धि साइटिसले नेपालसहित यो क्षेत्रमा पाइने एशियाली हात्तीहरूलाई 'जोखिममा परेको र लोपोन्मुख' जनावरसम्बन्धी आफ्नो अनुसूचीमा राखेको छ।
यसको अर्थ हात्तीलाई व्यावसायिक प्रयोजनका लागि निर्यात गर्न मिल्दैन। त्यस्तो गतिविधिले हात्तीको जीवनलाई थप खतरामा पार्ने साइटिस सचिवालयको वेबसाइटमा उल्लेख गरिएको छ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले हात्ती विक्री भइरहेका विवरण आएपछि त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि आफूहरूले सम्बन्धित निकायलाई पत्राचार गरेको बताउँछन्।
उनले भने, "हामीले निकुञ्ज र विभाग अन्तर्गतका कार्यालयहरूलाई यस्ता गतिविधि नियन्त्रण गर्नका लागि पत्राचार गरेका छौँ। कतिपय संघसस्थाहरूले यस्तो गतिविधि रोकिपाऊँ भनेर प्रधानमन्त्री कार्यालय समेतलाई बोधार्थ दिएर पत्राचार गरेका थिए। त्यसमा विभागले अरू पत्राचार गरेको छ। अहिले त्यस्तो गतिविधि भएको छैन।"
उनले कुनै पनि बाहिरको जीवजन्तुहरूलाई निकुञ्जभित्र चरनको लागि प्रवेश गर्न दिने कानुनी व्यवस्था नरहेकाले हात्ती पालिरहेका व्यवसायीको माग पूरा गर्न नसकिने पनि बताए। "निकुञ्जभित्र बाहिरका जनावरहरू चराउन मिल्ने कानुनी व्यवस्था गर्यो भने त्यो त निकुञ्ज नै भएन।"
विक्रम संवत् २०७६ साल मङ्सिरमा बनाइएको साइटिस सम्बन्धी नियमावलीले उक्त नियम लागु भएको एक वर्षभित्र कुनै व्यक्ति वा संस्थाले साइटिसमा सूचीकृत वन्यजन्तुहरू पालेको भए दर्ताका लागि एक वर्षभित्र निवेदन दिनुपर्ने व्यवस्था छ।
तर कोभिड-१९ को महामारी लगायत विभिन्न कारणले उक्त व्यवस्था कार्यान्वयन हुन नसकेको अधिकारीहरू बताउँछन्।
नेपालमा पालिएका घरेलु हात्तीलाई व्यवस्थित गर्न जरूरी
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराल निजीस्तरमा पालिएका हात्तीहरूबारे राज्यले एउटा निकास दिनुपर्ने बताउँछन्।
उनले भने, “नेपालमा निजी क्षेत्रमा पालिएका सबै हात्ती भारतबाटै आएका हुन्। कति हात्ती किनेर ल्याइएको र कतिपय चाहिँ भाडामा ल्याइएको हो भनेर व्यापारीहरूले भनिरहनुहुन्छ। यसलाई कानुनी रूपमा नै नियमन गर्न आवश्यक छ।”
उनले थपे, “दर्ता गर्नुपर्ने भन्ने कानुनी व्यवस्था अहिले नै छ। त्यसबारे कति जनालाई राम्रोसँग जानकारी नभएको हुनसक्छ। म्याद थपेर सरकारले उहाँहरूलाई दर्ताको अनुमति दिनुपर्छ।”
घरपालुवा हात्ती जस्ता जनावरहरूलाई आयात निर्यात गर्न सम्बन्धित पक्ष राष्ट्रहरूको वैज्ञानिक निकायहरूको सहमतिमा अनुमति दिन सकिने व्यवस्था पनि साइटिसमा उल्लेख भएको बताउँदै बरालले नेपालसँग निर्यातबारे कानुन नरहेको बताए।
उनले भने, "हामीले हात्ती भित्र्याइमात्रै रहेका छौँ किनभने हामीले निजी क्षेत्रलाई हात्ती उत्पादन गर्न अनुमति दिने अवस्था छैन। हात्ती ल्याउने कुरालाई नेपाल सरकारले पनि सहजीकरण गर्नुपर्छ जस्तो लाग्छ। किनभने यो हजारौँ मानिसको आय आर्जन हुने गरी यहाँको पर्यटनसँग जोडिएको छ। वन्यजन्तुमा आधारित पर्यटनमा हात्ती सफारी पनि जोडिएको हुनाले कानुनी हिसाबले पनि व्यवस्थापन र नियमन गर्दै व्यवसायीलाई पनि राज्यले सहयोग गरिदिनुपर्छ।"
नेपालमा लगभग २ सय ३० को हाराहारीमा जङ्गली हात्ती रहेको बताइन्छ। निजी रूपमा पालिएका हात्तीको यकिन सङ्ख्या नभए पनि त्यो लगभग १०० को हाराहारीमा भएको ठानिएको छ।
अझ ठूलो विस्थापनको जोखिम
चितवनस्थित युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष तिवारीका अनुसार राज्यबाट सहयोग नपाए अझ ठूलो सङ्ख्यामा निजी हात्तीहरू विस्थापित हुने जोखिम छ।
उनले भने, "हामीले सरकारका मन्त्रीदेखि देशका ठूला नेताहरूलाई सौराहालाई जोगाउने हो भने हात्तीलाई बचाउनुपर्छ भनेर बारम्बार भनेका छौँ। हामीले कानुनी मान्यता दिन, बिमा लगायतका लागि पहल गरिदिनुस् र किनबेच रोक्नुस् भनेर ध्यानाकर्षण गराएका छौँ।"
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनहरू आकर्षित हुने भएकाले अहिले जुनसुकै कारणले भारत पुगेका चितवनमा पालिएका हात्तीहरू नेपाल फर्कने सम्भावना नदेखेको पनि उल्लेख गरे।
भरतका कतिपय बजारहरूमा बर्सेनि जनावरहरूको मेला लाग्ने र आफूहरूले त्यस्तै मेलामा हात्ती भाडामा लिएर वा खरिद गरेर नेपालमा ल्याएको कैयौँ व्यवसायीहरू बताउँछन्।
दुई दशकदेखि हात्ती पालिरहेका तिवारी पटना नजिकै पर्ने सोनपुरमा लाग्ने पशु मेलाबाट आपसी समझदारीमा नेपाली व्यवसायीहरूले हात्ती ल्याएको आफूलाई जानकारी भएको बताए।