प्यारिस २०२४ः प्यारालिम्पिक खेलबारे जान्नैपर्ने केही कुरा

तस्बिर स्रोत, Getty Images
प्यारिस २०२४ प्यारालिम्पिक गेम्स सुरु भएको छ। बुधवार राति आयोजित उद्घाटन समारोहमा खेलाडीहरूले शाँज-एलीजेदेखि प्लास ड ला कङ्कोर्डसम्म परेड गरेका थिए।
प्यारिस ओलिम्पिक्स २०२४ मा जस्तै यसपालि प्यारालिम्पिक्सको उद्घाटन समारोह पहिलो पटक रङ्गशालाबाहिर आयोजना भएको थियो। फ्रान्सले पहिलो पटक ग्रीष्मकालीन प्यारालिम्पिक गेम्स आयोजना गर्न लागेको हो।
यो प्रतियोगितामा विभिन्न १६८ टोलीका ४,४०० खेलाडीहरूले विभिन्न २२ विधामा ५४९ वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्दै छन्।
प्यारालिम्पिक्स खेल कहिले सुरु भयो?
सन् १९४८ मा नाजी जर्मनीबाट भागेका एक यहुदी चिकित्सक डा लुड्भिग गुट्मानले दोस्रो विश्वयुद्ध सुरुभन्दा अगाडि आयोजना भएको लन्डन ओलिम्पिक्सको उद्घाटन समारोहका दिन ह्वीलचेअर खेलाडीहरूका लागि प्रतियोगिता आयोजना गरे।
सेनामा काम गर्दा घाइते भएका कुल १६ महिला र पुरुषले त्यतिबेला आर्चरीमा भाग लिएका थिए।
सुरुमा गुट्मानले उक्त प्रतियोगिताको नाम आफूले खोलेको मेरुदण्डको उपचार गर्ने अस्पतालको नामबाट 'स्टोक म्यान्डेभिल गेम्स' राखेका थिए।
पछि त्यसलाई प्यारालिम्पिक्स भन्न थालियो र सन् १९६० मा रोममा पहिलो प्यारालिम्पिक्स खेल आयोजना गरियो। पहिलो पटक आयोजना भएको यस्तो खेलमा २३ देशका ४०० खेलाडीले भाग लिएका थिए।
मुख्य विधा कुनकुन हुन्?
ओलिम्पिक्समा जस्तै प्यारालिम्पिक्स पनि 'ट्र्याक एन्ड फील्ड' विधाका खेलप्रति धेरैको आकर्षण हुन्छ। सेप्टेम्बर ७ मा दुई सत्रमा गरी २२ वटा खेलका फाइनल खेलहरू हुने छन्।
अन्य दुई विधाका फाइनल भने त्यसअघि नै हुन्छन्। सेप्टेम्बर १ मा प्यारा-रोइङ प्रतियोगिताको फाइनल र सेप्टेम्बर २ मा ह्वीलचेअर रग्बीको फाइनल आयोजना हुने छन्।

तस्बिर स्रोत, Getty Images
प्यारालिम्पिक्स मान्यता पाएका खेल कुनकुन हुन्?
अन्तर्राष्ट्रिय प्यारालिम्पिक्स कमिटीले अहिले प्यारालिम्पिक्सका लागि २२ वटा ग्रीष्मकालीन खेललाई मान्यता दिएको छ।
ती खेलमा दृष्टिविहीनहरूले खेल्ने फुटबल, प्यारा-भारोत्तोलन, ह्वीलचेअर टेनिस र प्यारा-आर्चरी पर्छन्।
ब्याडमिन्टन र तेक्वान्दोलाई पनि प्यारालिम्पिक्समा मान्यता दिन लागिएको छ।
के प्यारालिम्पिक्समा मात्रै खेलाइने कुनै खेल छ?

तस्बिर स्रोत, Getty Images
प्यारालिम्पिक्समा मात्र खेलाइने दुईवटा खेललाई ओलिम्पिक्समा मान्यता दिइएको छैन। ती दुई खेल गोलबल र बोचा हुन्।
दृष्टिविहीन खेलाडीहरूले मात्रै खेल्ने गोलबल दुई समूहको बीचमा खेलिन्छ। भलिबल खेल्ने जत्रै मैदानमा खेलिने यो खेलमा प्रत्येक टोलीमा तीन-तीन जना खेलाडीहरू हुन्छन्।
खेलाडीहरूले आँखामा कालो पट्टी बाँध्छन् र आफ्नो जीउको सहाराले विपक्षीले गर्ने प्रहार रोक्छन्। यसमा अङ्क पाउन खेलाडीहरूले बल नेटसम्म पुर्याउन सक्नुपर्छ।
अधिकांश अन्य प्यारालिम्पिक्स खेलहरूमा भन्दा भिन्न यसमा दर्शकहरूले बोल्न वा होहल्ला गर्न पाउँदैनन्। दर्शकहरू मौन रहँदा खेलाडीहरूलाई घण्टीजडित बलको आवाज सुन्न सजिलो हुन्छ।
अर्कोतर्फ बोचा चहिँ ह्वीलचेअर खेलाडीहरूका लागि तयार गरिएको खेल हो।
यो निश्चित निसानामा हत्केला आकारको बल पुर्याउने खेल 'बउल' जस्तै हुन्छ। यो ब्याडमिन्टन खेल्ने जत्रै मैदानमा खेलाइन्छ। यसमा 'कर्लिङ' खेलको जस्तै नियम हुन्छ।
‘वर्गीकरण’ के हो?
प्यारालिम्पिक्समा सहभागी हुने खेलाडीहरूलाई उनीहरूको अपाङ्गताको जटिलताका आधारमा निश्चित प्रतियोगिताहरूका लागि छनोट गरिन्छ।
प्रतिस्पर्धा निष्पक्ष बनाउने सुनिश्चितताका लागि सबै खेलाडीहरू वर्गीकरण प्रक्रियामा सहभागी हुनुपर्छ।
उनीहरूलाई विज्ञ चिकित्सक र प्राविधिकहरूले मूल्याङ्कन गर्छन् र उपयुक्त वर्गमा छुट्ट्याउँछन्।
त्यसैले विशेष गरी ट्र्याक एन्ड फील्डमा विभिन्न वर्गका लागि फरकफरक पदकहरू हुन्छन्।
प्यारालिम्पिक्समा के शरणार्थीहरूको समूह पनि छ?
विश्वभरि विस्थापित भएका १२ करोडभन्दा धेरै मानिसहरूलाई प्रतिनधित्व गर्दै प्यारिस २०२४ मा अहिलेसम्मकै सबैभन्दा ठूलो प्यारालिम्पिक्स टोली सहभागी हुँदै छ। यो प्यारालिम्पिक्समा शरणार्थीहरूलाई प्रतिनिधित्व गर्दै आठ खेलाडी र दुई गाइड धावकहरूले प्रतिनिधित्व गर्दै छन्।
शरणार्थीहरूको टोलीले सन् २०१६ मा ब्रजिलमा भएको खेलमा पहिलो पटक सहभागी भएको थियो। उक।उक्त टोलीमा दुई शरणार्थी खेलाडी थिए।
तीव्र गतिका दृष्टिविहीन धावक गुइलाउम जुनिअर अटाङ्गनाले यो पटक शरणार्थी टोलीका तर्फबाट उद्घाटन समारोहमा झण्डा बोकेका थिए।

तस्बिर स्रोत, Getty Images
सन् २०२० मा टोकियो ओलिम्पिक्सअघि अफगानिस्तानबाट भागेका युरोपेली प्यारा-तेक्वान्दो च्याम्पिअन पनि उनको दलमा सहभागी छन्।
टोलीका प्रमुख न्याशा महाराकुर्वा शरणार्थीहरूको टोलीले विश्वभरि आशाको सन्देश फैलाउन सहयोग पुग्ने बताए।
“सामान्यतया प्यारा-खेलकुदका लागि राम्रो लगानी जुट्दैन। अनि तपाईँ शरणार्थी हुनुहुन्छ र आफ्नो देशभन्दा बाहिर हुनुहुन्छ भने तपाइँले स्थानीय सहयोग पाउन कठिन हुन्छ,” उनले बीबीसीसँग भने।
“यसमा अन्तर्राष्ट्रिय प्यारालिम्पिक्स कमिटीको ठूलो हात छ। हामीले थोरै मात्र प्रयास गर्न सक्छौँ तर प्यारालिम्पिक्स कमिटीले योग्य खेलाडीहरूलाई सहयोग गर्ने कुरा वास्तवमै सकारात्मक छ।"
"हामीलाई यो अवसरले उनीहरूलाई आफ्नो प्रतिभा देखाउने ठाउँ प्राप्त हुने छ भन्ने आशा छ।”
यो पटक एरिट्रिया, किरिबास र कोसोभो पहिलो पटक एक-एक जना खेलाडीसहित प्यारालिम्पिक्समा सहभागी हुन लागेका छन्।
नेपालले कुल तीन नेपाली खेलाडी - तेक्वान्दोमा पलेसा गोवर्धन र भरतसिंह महता तथा पौडीमा भीमबहादुर कुमाललाई पठाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








